5th March | 2021 | Friday | 8:22:35 AM

प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिंडनुपर्छ –प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ११, २०७७ (६:२१ PM)

प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिंडनुपर्छ –प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्थापना भए देशमा अस्थिरता आउने कुरा अदालतलाई स्पष्टसँग थाहा भएको बताउनुभएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्थापना भएमा मुलुकमा अस्थिरता आउने दाबी गर्नुभएको हो । संसद पुनस्थापना भएमा प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिंडनुपर्ने अवस्था आउने बताउनुभयो । दक्षिण र उत्तर तिर प्रधानमन्त्री नपाएपछि अन्तिममा आफैसँग प्रधानमन्त्री खोज्न आइपुग्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘पुनस्थापना भयो भने के हुन्छ ? अदालतलाई थाहा छैन ? पुनस्थापना भयो भने यहाँ प्रचण्डजी विचरा, कथमकदाचित मानौं एकैछिन पुनस्थापना भयो के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंडनुहुन्छ । कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस है त्यति मान्दिनुस न भन्नुहुन्छ । उहाँहरुको चान्स छ ? एक प्रतिशत मात्रै होइन की एक भन्दा तल तल तल कति हुन्छ त्यति पनि छैन । उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिंडनुपर्ने हो । खोज्दै हिंडेर अन्तिममा मै कहा आइपुग्न बेर छैन ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले बहुमतको पार्टी फुटाएर आफ्नो प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री ओज्दै हिंडने खेमा लागेको आरोप लगाउनुभयो । यस्तो अस्थिरता तर्फ अदालतले जान दिन्छ भनेर आफूलाई विश्वास नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘के को लडाई लडदै हुनुहुन्छ उहाँहरु । बहुमतको पार्टी फुटाउने, आफ्नो प्रधानमन्त्री हटाउने अनि प्रधानमन्त्री खोज्न हिंडने त्यही होइन उहाँहरुको प्रयास । त्यस्तो अस्थिरतातर्फ अदालतले जान दिन्छ होला भनेर म कसरी विश्वास गर्छु ।’

संसदीय व्यवस्था भएका कुनैपनि मुलुकमा बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नसकेमा संसद विघटन गर्नुको विकल्प नहुने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘बहुमतको प्रधानमन्त्रीले चलाउने वातावरण रहेन भने संसद विघटन गर्छ । अर्को विकल्प छैन । किनभने ६४ प्रतिशतको प्रतिनिधित्व मैले गर्छु । ६४ प्रतिशतले सरकार चलाउन्न भनेपछि ३६ प्रतिशतले बहुमत पु¥याउँछ त कहिल्यै ।’

प्रधानमन्त्री ओलीले समयमा चुनाव हुने भन्दै अन्य भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।


Views: 67