13th April | 2021 | Tuesday | 7:19:55 PM

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ, राष्ट्रपति त मैले दयनीय देखें : शम्भु थापा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १२, २०७७ (४:०५ PM)

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ, राष्ट्रपति त मैले दयनीय देखें : शम्भु थापा

काठमाडौं । बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ । 

 संसद पूनःस्थापना गर्ने अदालतको फैसलाले संवैधानिक निकास आएको भन्दै अब राजनैतिक निकास पनि मुलुकले पाउने उहाँको भनाई छ । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै थापाले यस्तो बताउनु भएको हो ।

 सर्वोच्च अदालतले संसद र संविधान मार्न सक्दैनौं है भनेर भनेको पनि उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो,‘असिमित अधिकार त संविधानवादमा मात्रै छ । कार्यकारिणी कार्यपालिकाको अधिकार शासन गर्ने यहीँ छ । तपाईँले संसदलाई मार्न सक्नुहुन्न । खान सक्नुहुन्न भनेर सर्वोच्च अदालतले प्रष्ट रुपमा भनेको छ । हामीले संवैधानिक सोचअनुसार बहस गरेका हौं । जे संविधान देखें त्यसमा हामीले तर्क÷वितर्क गर्यौं । अदालतको फैसला आएको छ, त्यो फैसलालाई राजनीतिक वातावरण हल भैसकेको छ । अबको जवाफदेहिता सांसदहरुमाथि जान्छ। उहाँहरुको परिपक्वतामाथि जान्छ । नेताहरुको परिपक्वतामाथि जान्छ ।’ 

थापाले अब मुलुकमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो । थापाले भन्नुभयो,‘नागरिक समाजले आवाज उठाईराखेको छ, अब त्यो आवाजलाई सम्बोधन गर्छ कि गर्दैन् ? सम्बोधन गरिएन भने नागरिक समाज चुप लागेर बस्दैन् । नेपाली जनतालाई सुशासन दिनुपर्छ । सुशासनको प्रत्याभुति दिने मानिसहरु लिएर जानुपर्छ ।’

उहाँले अहिलेको गत्यारोध संवैधानिक रुपले निकास भएको सुनाउनुभयो । उहाँले भन्नुभयो–‘मुलुकले अब राजनैतिक निकास पनि पाउँछ । जस्तो आज संसदीय दलको बैठक बस्दैछ । नयाँ परिवेशमा संसदीय दलले आफ्नो नेता छनौट गर्छ । छनौट गरेर संसदमा पठाउँछ । संसदीय दलसँग ह्विप लगाउने अधिकार छ । वर्तमान प्रधानमन्त्रीले पार्टी फुटाएर लैजानु भयो भने अर्को अवस्था आउँदछ । यदि दल फुटेन भने नेकपा नेकपानै हुन्छ । नेकपाभित्रैबाट सरकार बन्ने अवस्था मैले देखेको छु । फूट्यो भने दुई वा दुईभन्दा बढि दल, राष्ट्रिय अनुकुलको दुई वर्ष सरकार चलाउनुपर्छ भन्नुभएको छ। उहाँहरुमाथि ठूलो जवाफदेही छ । अदालतले के भन्यो भने संविधानको त मैले व्याख्या गरिदिएँ । अब स्थायित्व दिनुपर्छ ।’

थापाले अघि भन्नुभयो–‘अब नेकपा फुट्छ कि फुट्दैन ? फुटेर अर्को पार्टी दर्ता हुन्छ कि हुँदैन ? दर्ता भएन भने त संसदीय दलको नेताले ह्विप लगाउँछ । त्यो ह्विप नै जारी हुन्छ । मैले यो प्रधानमन्त्री हुनुहुन्छ । कांग्रेसको हुनुहुन्छ । जसपाको हुनुहुन्छ भन्ने छैन । उहाँहरुमाथि सद्बुद्धि आओस् । हामीले लड्नुपर्ने सुशासनको लागि हो । मैले त संविधान जे देखें त्यसैमा बहस गरेको हुँ ।’

अदालतले १३ दिनभित्र संसद बैठक बोलाउ भन्न सक्छ ? त भनेर सोधिएको प्रश्नमा उहाँले भन्नुभयो,‘संसद ६ महिनाभित्र बस्नुपर्छ । ६ महिनाको ग्याप हुनुहुँदैन । संसद नबसेको ६ महिना नाघेको कारणले अदालतले ६ महिनाको नजिक लगेको हो । संसदकै पक्षमा यो भनेको हो । मनमोहन अधिकारीजीको मुद्दामा पनि १५ दिनभित्र संसद बैठक बस्न भनिएको थियो । यो संसारभरिकै प्राक्टिस हो ।’

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको ओझ नराखेको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो,‘मैले मनको कुरा गर्दाखेरि उहाँ (राष्ट्रपति) ले संविधानको ओझ राख्न सक्नुभएन। प्रधानमन्त्रीले सिफारिश गर्नेबित्तिकै उहाँले संविधानमा छ कि छैन ? भनेर उहाँले छलफलको लागि पनि बोलाउनुभएन । राजाले त गिरिजाले विघटनको सिफारिश गर्दा ४–५ दिन त छलफलमा बोलाएका थिए । संविधान र संसद भनेको राष्ट्रको सम्पत्ति हो । यत्रा मान्छेले किन सहादत प्राप्त गरे ? संविधानअनुसार कानून बन्दाखेरि । मलाई दुःख छैन यो भन्न राष्ट्रपतिले संविधानको ओझ, सम्मान राख्नुसक्नुभएन । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दा निर्वाचन गर भन्ने होईन । आफ्नो भित्र नै हैसियत छैन भने, राष्ट्रपतिको अति दयनीय देखियो । नेपाली जनताको राष्ट्रपति हो । तर, मैले दयनीय देखें । कर्तव्यपरायणीमा उहाँ दयनीय हो । उहाँ आँफैले मूल्यांकन गर्नुहोस न ।’

थापाले प्रधानमन्त्री ओलीले अब संकटकाल लगाउनै नसक्ने जिकिर गरे । उनले भने,‘अब उनले संकटकाल लगाउन सक्दैनन् । वैद्यता नै छैन् । कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन् । संविधानअनुसारको अधिकार प्रयोग गर्ने हैसियत छैन । अरु सांसद नभएकाले पनि मन्त्रीबाट राजीनामा दिनुपर्छ । अब मन्त्री हुने के हैसियत ? हिजै उहाँहरुले झोली तुम्बा बोकेर निस्किहाल्नुपर्दथ्यो । उहाँहरुले पनि अब प्रधानमन्त्रीलाई तपाईसँग अब सँगै हिँड्न सकिँदैन भन्नुपर्छ ।’

थापाले संवैधानिक नियुक्तीहरु पनि स्वतः खारेज हुने टिप्पणी गरे । उनले भनेका छन्,‘संसदलाई छलन पाउँदैन है भन्यो । कानून किन बनाएको हो भने, तपाई हामी सबै जनताले बुझ्नु हो । संसद हिजोको बेलामा मारेको । संसद बसेर संसदले हेर्नुपर्छ । पुष ५ गतेपछिका नियुक्तीहरु सिधा खारेज हुनुपर्छ । संसदीय सुनुवाई नभएका सबै नियुक्तीहरु बदर हुनुपर्छ । यो मेरो मान्यता हो ।’

उनले अदालतमा राजनीतिक हस्तक्षेप हिजो पनि नभएको र आजपनि नभएको जिकिर गरे । उनले भने,‘राजनीतिक हस्तक्षेपबाट न्यायाधीश गएका छन् भने लिन्छन् । तर, उहाँहरु योग्यताबाटै जानुभएको छ ।’ सर्वोच्च अदातलको आदेशबाट नै संसद आव्हान भैसकेकोले तोकिएकै मितिमा संसद बैठक बस्ने पनि उनले तर्क गरे । उनले भने,‘यसमा रिसाउनुपर्ने कुरा नै छैन् । प्रधानमन्त्री र राष्ट्रपति यही संविधानअनुसारको हो ।’ थापाले संसद पूनःस्थापनाको पक्षमा आफूले कडा र कठोर मेहनत गरेको सुनाए । उनले चुनावले पनि तानाशाह जन्माउँछ है भन्ने कुरा ओलीको पछिल्लो कदमले पुष्टि गरेको सुनाए । 


Views: 69