13th April | 2021 | Tuesday | 6:28:37 PM

चम्पादेवी गाउँपालिकाले गर्यो पहिलो सार्वजनिक सुनुवाई

जीवन शर्मा   POSTED ON : फाल्गुन १२, २०७७ (४:१९ PM)

चम्पादेवी गाउँपालिकाले गर्यो पहिलो सार्वजनिक सुनुवाई

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले स्थानीय सरकार सञ्चाल पछि जिल्लामै पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाले सार्वजनिक विकास निर्माण, सेवा प्रवाह र आर्थिक प्रशासनिक गतिविधिका बारेमा नागरिकलाई जानकारी गराउने ध्ययका साथ सार्वजनिक सुनुवाइ गरेको हो । 

गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहका विषयमा जनता र जनप्रतिनिधि विच एकै ठाउमा बसेर छलफल गरेको स्थानीय तहमध्यकै यो पहिलो अभ्यास हो । जनताको सबै भन्दा नजिकको सरकारका रुपमा स्थापीत स्थानीय तहको शुशासनको पाटो कमजोर भैरहेको गुनासाहरु आइरहेको अवस्थामा  चम्पादेवी गापाले सार्वजनिक सुनुवाई गरेर सुशासनको पक्षलाई मजबुद बनाउन थालेको सरोकारवालाहरुको भनाइ छ । 

जिल्लाकै सबैभन्दा उत्कृष्ठ काम गरेको दावी गर्दै आएकोउक्त गाउपालिकाले स्थापनाकालदेखि गरेको कामको समिक्षा संगैं आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न बार्षिक योजना बजेट र सेवा प्रवाहको बारेमा जनतामाझ प्रतिवेदन पेश गरेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरिएका योजना बजेट तथा सेवा प्रवाह, सञ्चालन खर्च लगायतका विषयमाथि गरिएको हाक्का हाक्की बहसको सहजीकरण सञ्चार विकास प्रतिष्ठानओखलढुंगाले गरेको गाउपालिकाले जनाएको छ ।उक्त छलफल बाट आएका सुझाव तथा गुनासाहरुले गाउपालिकालाई आगामी बर्षको योजना निर्माणमा सहयोग पुग्ने बताइएको छ । 

स्थानीय सरकारको सुशासनमा बृद्धि गर्दै विकास र समृद्धिका लागि नागरिकस्तरबाट गुनासा तथा सुझावहरु आउन भन्ने उद्देश्यका साथसार्वजनिक सुनुवाई गरिएको चम्पादेवी गाउपालिका प्रमुख नवराज केसीले बताउनुभयो । गाउपालिकाको समृद्धि र नागरिकको उन्नतिकालागि काम गर्न नछोड्ने भन्दै प्रमुख केसीले काम गर्ने क्रममा हुन सक्ने कमीकमजोरीलाई सच्याउदै आगामी बाटो तय गर्ने बताउनुभयो । गाउपालिकाले सुरु गरेका जनमैत्री कामका विरुद्धमा विपक्षिहरुले विभिन्न मुद्धा मामला गर्दै हिड्नुको सट्टा संगै बसेर छलफलको माध्यामबाट पालिकाको समृद्धि र नागरिकको मुहारमा खुसी ल्याउन तिर लाग्न आग्रह समेत गर्नुभयो । सार्वजनिक सुनुवाइमा राजनीतिक दलहरुलाई समेतसल्लाहा सुझाव, गुनासा वा प्रश्नहरु लिएर आउन आग्रह गरेपनि नेकपाका स्थानीय नेताहरुको उपस्थिति नरहेको प्रति प्रतिपक्षको जिम्मेवारी पुरा नभएको बताउनुभयो । 

सुशासन मापन गर्ने औजारका रुपमा रहेको सार्वजनिक सुनुवाई ओखलढुंगाका अन्य स्थानीय तहले विधिवतरुपमा गर्न सकेका छैनन् । बार्षिक रुपमा अनिवार्य गर्नुपर्ने सार्वजनिक सुनुवाई कतिपय स्थानीय तहहरुले प्रकृया पुर्याउनका लागि कागजीरुपमा गरेर पेश गर्ने गरेका छन् । जुन नागरिकतहमा थाहा हुनेगरेको छैन् । अन्य स्थानीय तहले जे गरेपनि चम्पादेवी गाउपालिकाले प्रत्येक वडाको सार्वजनिक सुनुवाइ प्रकृयागतरुपमा सकेर फल्गुण ९ गते गाउपालिकाको प्रङगनमा अधिक जनताकाविच भव्यरुपमा सार्वजनिक सुनुवाइ गरिएको चम्पादेवी गाउकार्यपालिकाका प्रबक्ता एवं वडा नम्बर ८ का अध्यक्ष अजय लुइटेलले जानकारी दिनुभयो । चम्पादेवी गाउँपालिका तथा केही वडाहरुले सार्वजनिक सुनुवाईको सहजीकरणका लागि तेस्रो पक्षका रुपमा सञ्चार विकास प्रतिष्ठानलाई जिम्मेवारी दिइएको थियो । स्थानीय सरकार सञ्चालनको चार बर्ष वित्न लाग्दा समेत ओखलढुंगाका अन्य सात वटा स्थानीय तहले आम जनतालाई बोलाएर प्रश्नोत्तर गर्नेगरी सार्वजनिक सुनुवाइ गर्न सकेका छैनन् । 


Views: 48