13th April | 2021 | Tuesday | 6:32:28 PM

लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्ने प्रचण्ड–माधव समूहको निर्णय

चिन्तन क्षेत्री   POSTED ON : फाल्गुन १३, २०७७ (९:५१ AM)

लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्ने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहको स्थायी कमिटी बैठकले लोकतान्त्रिक शक्तिसँग मिलेर अगाडि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले प्रतिगामी कदमहरू हुन नदिन लोकतान्त्रिक शक्तिहरूसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । लोकतन्त्रको कार्यान्वयनका लागि लोकतान्त्रिक शक्तिहरूसँगको हातेमालो आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।’

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमी कदम तत्काल असफल पारिए पनि अब भविष्यमा त्यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहँदै लोकतान्त्रिक शक्तिसँग हातेमाले गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

तत्काल ओलीसँग एकता सम्भव छैन

अनौपचारिक रूपमा बसेको सो समूहको स्थायी कमिटी बैठकले ओली समूहसँग तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष पनि निकालेको छ । आफूहरू सधैँ एकताको पक्षमा रहे पनि ओलीले आत्मलोचनासहित नआएसम्म एकता सम्भव नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

पार्टी एकता जोगाउँदै संविधान र लोकतन्त्रको पक्षमा अगाडि बढ्ने बहस पार्टीभित्र जारी रहेकाले ओलीले संविधानको नै हत्या गर्न खोजेको उल्लेख गर्दै उहाँले ओलीको गुटगत र पार्टी फुटाउने प्रयत्नको सधैं पार्टीभित्र विरोध हुने गरेको स्मरण पनि गर्नुभयो । ओलीको यो प्रवृति नसच्चिएसम्म एकताको आधार तय नहुने श्रेष्ठको भनाइ छ । ‘पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृतिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेण्डा खाली कुराका कुरा हुनसक्छ’, उहाँले भन्नुभयो ।

यस्तै, बैठकले सबै नेताहरूलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान पनि गरेको छ । भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लाग्नुभएका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीका जति कमरेडहरू भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको छ ती सबै साथीहरूलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि आहृवान गर्ने निर्णय गरेका छौं ।’

नैतिकताका आधारमा राजीनामा दिन ओलीलाई आग्रह

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिनपनि आग्रह गरेको छ । असंवैधानिक ढंगबाट विघटन भएको संसद् सर्वोच्च अदालतले पुनःस्थापना गरे पनि ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने सो समूहको निष्कर्ष छ । ओलीले स्वविवेकले राजीनामा नदिए संविधानअनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

‘पार्टीले ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन भने पनि अहिलेसम्म उहाँले दिनुभएको छैन । संसद् बस्नुअगाडिसम्म उहाँले राजीनामा दिनुभएन भने प्रतिनिधिसभबाट नै संविधानअनुसार प्रक्रिया अगाडि बढ्छ’, उहाँले भन्नुभयो । बैठकले अदालतको फैसला ऐतिहासिक भएको ठहरसमेत गरेको छ । अदालतको निर्णयले प्रतिनिधिसभा पुनःस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षासमेत गरेको ठहर बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

देशभरि खुसियालीमा जुलुस

संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि आन्दोलनको घोषित कार्यक्रम स्थगित गरेको प्रचण्ड–माधव समूहले राजधानीलगायत देशभरि नै खुसियाली जुलुस निकालेको छ । राजधानीमा शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको भन्दै जुलस निकालेको हो । 

शान्तिवाटिकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगरपरिक्रमा गरेका थिए । जुलुसमा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल र जनार्दन शर्मा, गणेश साह, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो । 

जुलुसपछि आयोजित सभामा बोल्दै नेतृ पम्फा भुसालले देश अब संविधानबाट चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब मुलुक संविधानबाट चल्छ, सर्वोच्चबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाँची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’

उहाँले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।


Views: 56