13th April | 2021 | Tuesday | 8:00:23 PM

नेकपा एकीकृत नभए सत्ता समीकरणका लागि कांग्रेसको साथ अनिवार्य

केशव सावद   POSTED ON : फाल्गुन १३, २०७७ (९:५५ AM)

नेकपा एकीकृत नभए सत्ता समीकरणका लागि कांग्रेसको साथ अनिवार्य

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै नेपालको अबको राजनीतिले कस्तो मोड लिन्छ भन्ने विषय चौतर्फी चासोको विषय बनेको छ । सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम सच्याउँदै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएपछि अबको राजनीतिले कस्तो माड लिन्छ भन्ने चासो सबैमा देखिएको हो । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन भइनसकेको र प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने छाँटकाँट नदेखिएपछि सत्ता बाहिर रहेका दलहरू पनि आगामी बाटो के हुने भन्नेमा प्रष्ट भइसकेका छैनन् ।

प्रतिनिधिसभा विघटनसँगै अनौपचारिक रुपमा विभाजन भएको नेकपा औपचारिक रुपमै विभाजन भए अबका राजनीति नेपाली कांग्रेसको हातमा रहने विश्लेषण पनि भइरहेको छ । नेकपा औपचारिक रुपमा विभाजन भएपछि विभाजित नेकपाका दुवै समूहलाई सत्ता समिकरणका लागि कांग्रेसको साथ अनिवार्य देखिएपछि अबको राजनीति कांग्रेसको हातमा रहने विश्लेषण भइरहेको छ ।

तर, कांग्रेस पनि संसद् पुनःस्थापनापछि संसद्मा खेल्नुपर्ने भूमिकाका विषयमा अझै प्रष्ट भने भइसकेको छैन । कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकमा छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

महेन्द्र नारायण निधिको ९९ औ जन्मजयन्तीका अवसरमा बुधबार बत्तिसपुतलीमा आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भमा’ विषयक अन्तरक्रियामा उहाँले संसदीय दलको बैठकमा छलफल गरेर अगाडि जाने बताउनुभएको छ । सभापति देउवाले सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित हुनुका साथै संसदीय व्यवस्थालाई सुदृढीकरण गरेको पनि बताउनुभयो ।

‘प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढिकरण गरेको छ,’ उहाँले भन्नुभयो, ‘अब कसरी जाने, के गर्ने भन्ने बारेमा हामी छलफलमै छौं । सबैभन्दा ठूलो खुशीको कुरा संसद् बाँचेको छ । नेपाली कांग्रेसले के गर्छ भन्ने कुराभन्दा पनि नेपाली कांग्रेसलाई सबैले सहयोग गर्नुपर्छ । हामी संसदीय दलको बेठक बोलाएर छलफल गरेर अगाडि जानेछौं ।’ 

उपसभापति विमलेन्द्र निधिले पनि पार्टीले आगामी दिनमा चाल्ने कदमका बारेमा आफूहरूका बीचमा छलफल नभएको बताउनुभयो । उहाँले सर्वोच्चको फैसलापछि नेपालको राजनीति संसद्को मैदानमा फर्किएको भन्दै कांग्रेसले संसद्मा जिम्मेवार भूमिका निर्वाह गर्ने बताउनुभयो । 

‘हिजोको मितिदेखि नेपालको सम्पूर्ण राजनीति संसद्को मैदानमा फर्किएको छ । संसद्को मैदामा जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, शासन प्रणाली, संविधानको रक्षा गर्छौं,’ उपसभापति निधिले भन्नुभयो । 

संसद्मा रहेका अन्य दलहरूले पनि आ–आफ्नो भूमिका निर्धारण गर्नुपर्नेमा जोड दिँदै उहाँले संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिकामा देशवासीको समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । 

‘अन्य दलहरूले आप्mनो भूमिका निर्धारण गर्नुपर्दछ । हामीले यसैको लागि तयारी गर्नुपर्दछ । हामी सबै यसका लागि तयार हुनुपर्दछ,’ उपसभापति निधिले भन्नुभयो, ‘मलाई विश्वास छ नेपाली कांग्रेसले अख्तियार गर्ने संसद्भित्रको जिम्मेवार भूमिकाका प्रति सारा देशवासीले समर्थन गर्नुहुनेछ ।’

यसैबीच, कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले जुनसुकै अवस्थामा पनि कांग्रेसले सरकारमा दाबी गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । हिमालय टाइम्ससँगको कुराकानीमा उहाँले अब कांग्रेसले प्रधानमन्त्रीविरुद्ध आफैं अविश्वासको प्रस्ताव संसद्मा दर्ता गरेर सरकारमा दाबी गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफैँ नैतिकताका आधारमा राजीनामा दिएको अवस्थामा पनि कांग्रेसले सरकार गठनको दाबी गर्नुपर्ने सांसद् राजभण्डारीको भनाइ छ । ‘अब कांग्रेस आफैँले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर सरकारको क्लेम गर्नुपर्छ । नेपाली कांग्रेस मेन अपोजिसन पार्टी भएकाले वेटिङ गभरमेन्ट पनि हो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजीखुशी राजीनामा दिनुभयो भने पनि दाबी गर्नैपर्छ ।’

सांसद् राजभण्डारीले पार्टीले संसदीय दलको बैठक तत्काल बोलाएर भावी कार्यक्रमहरू तय गर्नुपर्नेमा पनि जोड दिनुभयो । ‘प्रमुख सचेतकले यथाशीघ्र संसदीय दलको बैठक बोलाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘विगतका कमीकमजोरीहरू सच्याएर बैठकबाट दलको विधि, विधान र पद्धतिअनुसार भावी कार्यक्रमहरू छलफल गरेर निर्णय गर्नुपर्छ ।’ 

कांग्रेसले संसद् पुनःस्थापनापछि पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्न बिहीबार पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ३ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको छ ।

मिलेर जान प्रस्ताव 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले नेपाली कांग्रेससँग मिलेर जान प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले मिलेर जान प्रस्ताव गर्नुभएको हो ।

अध्यक्षद्वय प्रचण्ड र नेपालले सँगै मिलेर जाने प्रस्ताव गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ । ‘समसामयिक राजनीतिका बारेमा छलफल भयो । उहाँहरूले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘अब सहकार्य गरेर अगाडि जाऔं भन्ने उहाँहरूको आशय थियो ।’

जवाफमा सभापति देउवाले प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर जवाफ दिने बताउनुभएको छ । ‘सभापतिज्यूले उहाँहरूलाई सहकार्यको प्रस्तावका बारेमा पार्टीमा छलफल गर्छु । पछि फेरि बसेर कुरा गरौंला भन्नुभयो,’ स्वकीय सचिव देउवाले भन्नुभयो । उहाँले बिहीबार पदाधिकारी बैठक बसेर नेकपाले गरेको प्रस्तावका बारेमा छलफल हुने पनि बताउनुभयो ।

‘बिहीबार पदाधिकारी बैठक बसेर यो बारेमा छलफल हुन्छ,’ देउवाले भन्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रचण्ड र नेपाल बुधबार दिउँसो बूढानीलकण्ठ पुग्नुभएको थियो । बूढानीलकण्ठमा उहाँहरूका बीचमा झण्डै आधा घण्टा छलफल भएको थियो ।

कस्तो छ अंकगणित ?

प्रतिनिधिसभा पुनःस्थापनासँगै अब सत्तासमीकरणको खेल शुरु भएको छ । नेकपा विभाजनले कानुनी मान्यता पाइनसके पनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ ।

नेकपाभित्रको विवादको क्रममा ओलीविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ९० जना सांसदले अविश्वासको प्रस्ताव हस्ताक्षर गरेका थिए । यद्यपि, तीमध्ये तीन जना भने अझै कुनै समूहमा खुलेका छैनन् । नेकपाको कुल १७४ सांसदमध्ये ओलीसँग ८४ जना मात्रै देखिएका छन् । 

पछिल्ला दिनमा केही सांसदहरूको समूह परिवर्तन गर्ने क्रम पनि चलिरहेको छ । यसले के देखाउँछ भने सांसद तानातानको खेल अझै पनि चल्नेछ । संसद् पुनःस्थापनापछि आफ्नो पक्षमा करिब एक सयभन्दा बढी सांसद हुने प्रचण्ड–माधव समूहले दाबी गरिरहेका छन् । यो पक्षलाई ३४ जना सांसद भएको जसपालाई लिएर सरकार निर्माण गर्न संख्या नपुग्ने देखिन्छ । त्यसको लागि ६३ जना सांसद रहेको कांग्रेससँग सहकार्य अनिवार्य छ । यसैगरी, ८४ सांसद रहेको नेकपा ओली समूह पनि जोड घटाउमा लागेको छ । यो समूहले कांग्रेससँग सहकार्य गरेमा सरकार बनाउन सक्ने देखिन्छ । नेकपाका दुवै समूह कांग्रेसलाई आफ्नो पक्षमा लिने दाउमा छन् । 


Views: 56