13th April | 2021 | Tuesday | 6:54:11 PM

शंकास्पद मृत्यु प्रकरण : प्रहरीको मिसिलमा अर्कै फोटो भेटेपछि चर्कियो आन्दोलन

रमेश गाम्नागे   POSTED ON : फाल्गुन १३, २०७७ (९:५८ AM)

शंकास्पद मृत्यु प्रकरण : प्रहरीको मिसिलमा अर्कै फोटो भेटेपछि चर्कियो आन्दोलन

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरण थप पेचिलो बनेको छ । निष्पक्ष छानविनको माग गर्दै आफन्त र स्थानीयबासी विगत चार दिनदेखि आन्दोलित छन् । आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र स्थानीयले मंगलबार र बुधबार विराटनगरमा जिल्ला सरकारी वकिलको कार्यालय र प्रशासन कार्यालयमा दबाब दिए । 

प्रहरीले हत्यारामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तहरूको आरोप छ । आफन्तले बास्तोलाको भवितव्य मृत्यू नभई हत्या भएको दाबी गर्दै आएको छ । प्रवीणका दाजु सन्तोष बास्तोलाले भाइको हत्या नै भएको दाबी गर्नुभयो । तर, प्रहरीले फितलो अनुसन्धान गरेर घटनालाई कमजोर रूपमा प्रस्तुत गरेका कारण दोषीहरू छुटेपछि न्याय माग्दै विराटनगरसम्म आउनु परेको जानकारी उहाँले दिनुभयो । 

आफन्त र परिवारका सदस्यले घटनामा मुद्दा नचल्नुको कारण बारे जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुगेर बुझेका छन् । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आरोप आफन्तको छ । प्रहरीका अनुसार पुस ५ गते राति साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा प्रवीण सुत्न जानुभएको थियो । आफन्त र परिवारका सदस्यले अस्पतालमा उहाँको शव पाएका थिए । सुतेकै ठाउँमा बेहोस भएको भन्दै उपचारका लागि गोदावरी अस्पताल पु¥याएपछि उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ ।

तर, परिवारका सदस्यले भने हत्या गरिसकेपछि उपचारको बहानामा अस्पताल लगिएको दाबी गरिरहेका छन् । प्रहरीले यसको अनुसन्धान मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले तत्काल मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै घटनाका बारेमा थप प्रमाण संकलन गरेर मुद्दालाई मजवुत बनाउन प्रहरीलाई निर्देशन दिएको थियो । त्यसपछि घटनामा प्रतिवादी बनाइएका उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माघ २ गते हाजिरजमानी छाडिए । घटनाको अनुसन्धान बाँकी नै रहेको बताउँदै जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले पक्राउ परेकाहरूलाई कानुनअनुसार नै २५ दिन हिरासतमा राखेर छाडिएको जानकारी दिनुभयो । ‘अनुसन्धानको मिसिलमा मृतकको ठाउँमा अर्कै व्यक्तिको फोटो राखिएको भनेर आफन्त र परिवारका सदस्य आन्दोलित बनेको पाइयो,’ उहाँले भन्नुभयो, ‘अहिले हामीसँग आएका मिसिलमा रहेका दुईवटा फोटो मृतककै छ ।’ अहिलेसम्म अनुसन्धानबाट खुलेका विषयलाई समेटेर अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अदालतमा दर्ता गरेर मुद्दाको रुपमा घटनालाई अघि बढाउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

प्रहरीले भने अदालतमा दिएर आफूले राखेको एक कपी मिसिलमा अर्को मिसिलको फोटो च्यापिएको र त्यसलाई देखेर मृतकका परिवार आन्दोलित बनेको प्रतिक्रिया दिएको छ । आचार्यले प्रहरी कार्यालयमा रहेको भन्दा पनि वकिल कार्यालय र अदालतमा रहेको मिसिललाई आधिकारिक मान्नु पर्ने प्रतिक्रिया दिनुभयो । घटनाको छानबिन गर्नका लागि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा समिति बनेको छ । त्यसले अनुसन्धान गरिरहेको छ । राईले घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको पुष्टि भएर कारबाही अघि बढाइने जानकारी दिनुभयो ।

मृतकका आफन्तसँगको भेटमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यस विषयमा छानबिन सुरु भइसकेका कारण घटनामा लापरबाही देखिए प्रहरीमाथि कारबाही हुने बताउनुभयो । ‘सरकारी वकिल कार्यालयलगायत सम्बन्धित निकायमा मिसिल बुझाइसकिएका कारण प्रहरी कार्यालयमा हुने मिसिल आधिकारिक हुँदैन,’ उहाँले भन्नुभयो, ‘धेरै मिसिल एकै ठाउँमा राख्ने क्रममा अर्कै घटनाको फोटो च्यापिएर मृतक युवाको मिसिलमा बसेको पाइयो ।’

प्रहरीको कमजोरी धेरै छ : सदीक्षा बास्तोला (मृतककी बहिनी)

मेरो दाइको मृत्यु हुँदा म अमेरिकामा थिएँ । दाइको मृत्यु हुनुभन्दा दुई घण्टा अघिसम्म मेरो आमासँग भिडियो कलमा कुराकानी भइरहेको थियो । अचानक अमेरिकाको समय १२÷१ बजे गाउँकै एकजना दाइले प्रवीणलाई त कसले विष खुवायो रे म्यासेज गर्नुभएको थियो । त्यो सुन्नासाथ मैले ठूलोबुबाको छोरालाई फोन गरेँ । त्यसपछि दाइको मृत्यु भयो भन्ने सुनेँ । म सुत्न सकिनँ । रातारात म टिकट गरेर आएँ । 

आइतबार विहान ११ बजे दाइको शव लगेर हस्पिटलमा राखिएको रहेछ । दाइलाई नभेटेको वषौँ भएको थियो । म मेरो दाइको अनुहार हेर्छु, म नआउन्जेल शव नजलाउनु है भनेँ । शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसमा राखिएको रहेछ । पछि आएर बुझ्दा उर्लाबारी सिनेमाहलसँगै टाँसिएको रमेश गिरीको घर छ, ऊ भूपू प्रहरी हो । उसकोमा दाइको मृत्यु भएको रहेछ । मृत्यु भएको ठाउँ र गोदावरी अस्पतालको दुई÷तीन मिनेटको छ एम्बुलेन्समा लैजाँदा । तर, दाइ कसरी मर्नुभयो अचम्म लाग्छ । 

मेरो आमा बुबालाई तेस्रो व्यक्तिहरूले तेरो छोरा मारेर खोलामा फालेको छ भन्ने कसैले मारेर अस्पतालमा फालेको छ भनिएछ । आमा रुँदै रुँदै अस्पताल चहार्दा गादाबारी अस्पतालमा दाइको शव भेट्नुभएको रे । प्रहरीले आफन्तलाई खबर नै नगरी शव उठाएर र मुचुल्का गरेर अस्पताल पु-याएछ । यसमा पनि प्रहरीमाथि आशंका छ । यहाँ कसैको मिलेमतो होला । दाइको मोबाइलबाट दाइको मृत्यु भएको समयमा वा निधाएको समयमा २० रुपैयाँ नचिनेको नम्बरमा ब्यालेन्स ट्रान्सफर भएको छ । किन यस्तो भयोभन्दा प्रहरीले फेसबुक चलाउन ट्रान्सफर भएको भन्ने उत्तर दिन्छ । रातिको १ः१५ मा त्यस्तो भएको थियो । 

दाइको हत्या भएको होला अनुसन्धान राम्रो होस, उजुरी र जाहेरी दिन्छौँ भन्दा प्ररहीले हामीलाई धम्कि दिने काम ग¥यो । पोष्टमाटमको रिपोर्ट ल्याउन १२ दिन लगाईयो । हामीले किटानी जाहेरी दिँदा सरकारी वकिल कार्यालयबाट फकाईयो रे त्यो केस । मनोज आचार्य सरकारी वकिल हुनुहुन्थ्यो उहाँले प्रहरीले केही प्रमाण ल्याएन भने मैले केही गर्न सक्दिन भन्नुभयो । प्रहरीले प्रमाण राम्ररी जुटाएन । 

दाइको मृत्यु हुँदा घाँटीमा नील डाम थियो भनेर छिमेकि दाईले भन्नुभएको थियो । मैले प्रहरीले खिचेको फोटो हेर्दा एउटा मात्रै देखाए । त्यो पनि अर्कै व्यक्तिको फोटो राखिएको थियो । दाइको फोटो थिएन, फोटोसँगै अन्य मिसिल पनि झुट छ । वास्तविक फोटो प्रहरीले लुकायो । मैले मेरो दाइको फोटो यो होइन भन्दा फाइल बन्द गरेर इनिस्पेक्टर उदव पोखरेल हिँड्नुभयो । त्यसको एक घण्टामा फेरि प्रहरीले अर्को नयाँ फाइल तयार पा¥यो । सबै फोटो र मिसिल परिवर्तन गरेको छ । यहाँ पनि प्रहरीमाथि शंका छ । जसको घरमा दाइको मृत्यु भएको भनिएको छ उनी रमेश गिरी हुन् । उनको घरमा अरू मान्छेसमेत जान डराउँछन् रे । रमेशको पनि गल्ती छ, हाम्रो परिवारलाई जानकारी नै नगराइ किन उठाउन दिए ? अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो माग हो । दाइले रक्सी धेरै खाएर मरेको भनेर हल्ला फैलाइयो । रिपोर्टमा त्यो देखिँदैन त्यसैले घटना शंकास्पद छ । जोडिएका सबैलाई अनुसन्धानमा ल्याउनुपर्छ । 


Views: 57