13th April | 2021 | Tuesday | 6:41:54 PM

नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १३, २०७७ (७:०० PM)

नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलमा सभापति देउवाले नेकपा दुबै पक्षबाट सहकार्यको प्रस्तवा आएको जानकारी दिँदै राय माग्नु भएको थियो । 

उक्त विषयमा कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो । नेकपा कानुनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको नेताहरुको राय छ ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले बल अहिले पनि नेकपाकै कोर्टमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘कुनै पनि समूहले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले भएको छैन । कम्युनिष्ट पार्टी एकै छ । संसदीय दलको नेता ओली नै हुनुहुन्छ । उहाँको पार्टी एकै रहन्छ वा अर्कै परिस्थिति आउँछ त्यसपछि मात्र कांग्रेसले धारणा बनाउँछ ।

 प्रतिनिधिसभा बैठक शुरु भएपछि जसरी राजनीतिक घटनाक्रम विकसित हुन्छ सोही अनुरुप निर्णय गर्ने कांग्रेसको निर्णय छ । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेड दिएकोले नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका थिए ।

उहाँले भन्नुभयो,‘ संसद बैठक शुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गर्छ । अहिले यो समूह वा अर्को समूहलाई समर्थन गर्छु भन्ने बेला भएको छैन ।’

संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।


Views: 96