13th April | 2021 | Tuesday | 7:59:41 PM

नेपालको राजनीतिको अबको बाटो

  POSTED ON : फाल्गुन १४, २०७७ (७:४८ AM)

नेपालको राजनीतिको अबको बाटो

नेपालको राजनीति अब कुन बाटोबाट अगाडि बढ्ला भन्ने एक प्रकारको कौतुहल सबैमा छ । राजनीतिमा चासो राख्नेहरूका लागि त यो अझै बढी कौतुहलको विषय बनेको छ । सर्वोच्च अदालतबाट प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक मानेर विघटनविरुद्धमा फैसला भएपछि फैसला भएको मितिले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक आहृवान गर्नसमेत निर्देशन गरेको छ । आफ्नो कदमलाई सर्वोच्चले मान्यता नदिएको हुनाले नैतिकताका आधारमा प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुहोला भन्ने धेरैको अनुमान गलत सावित हुनपुगेको छ । उहाँले राजीनामा नदिने, आइपरेको अवस्थाको सामना गर्दैजाने बताउनुभएको हुँदा संसदको बैठक अदालतको निर्देशनबमोजिम नै आहृवान गरेर त्यहाँ पेश गरिने अविश्वासको प्रस्तावको सामना गरी विश्वासको मत लिने प्रयासमा लाग्नुहुने देखिएको छ । 

वास्तवमा उहाँले लिने यस प्रकारको कानुनी र संवैधानिक बाटो सबैका लागि र सधैंका लागि स्वागतयोग्य हुनेछ । त्यहाँ पार्टीमा विद्रोह गरेर सडक आन्दोलनमा पुगेको नेपाल–दाहाल पक्ष संसदमा आफ्नो बहुमत पु¥याउन सकेसम्म प्रयासमा रहनेछ । नेकपाका दुवैपक्ष मिल्ने सम्भावना छैन । यदि त्यसो भएको भए हालको अवस्था आउने थिएन । नेकपा दुई समूहमा विभाजित हुँदा आधा÷आधा सांसद उहाँहरूले लिनसक्दा दुवैको बहुमत नपुगेपछि उहाँहरूले अर्को कुनै पार्टीलाई आफ्नो पक्षमा लिनुपर्ने हुन्छ । त्यो नेपाली कांग्रेस नै हो । कांग्रेसले जुन पक्षलाई समर्थन गर्छ उसैको बहुमत हुन्छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले निकै सोचेरमात्र दुईमध्ये एकलाई समर्थन गर्नुपर्ने हुन्छ । २०५२ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदमा जस्तो भूमिका देखिएको थियो अबको संसदमा नेपाली कांग्रेसको त्यस्तै अवस्था देखिएको छ । 

स्वार्थले प्रेरित तत्वहरू जुनसुकै पार्टीमा पनि देखिन्छन् । त्यसमा अहिलेको जस्तो तरल राजनीतिक अवस्थामा खेल खेल्ने स्वदेशी तथा विदेशी तत्वहरू बढी सक्रिय हुनसक्छन् । यस्ता मानिसहरू सबैभन्दा बढी त नेकपामै छन् । कहिले प्रचण्ड–माधव समूहमा लाग्ने र फेरि ओली समूहमा फर्किनेहरू त्यहाँ देखिएका छन् । पक्ष फेरबदल गरिरहने यस्ता व्यक्तिहरू यथार्थमा आफ्नो अडान नभएकाहरू नै हुन् । भोलि तिनीहरूको भूमिका र अडान रहने छैन । वारपार गरिरहने छन् । यस्ता सांसदहरूको क्रयविक्रय नहोला भन्ने कुनै प्रत्याभूति कसैले गर्नसक्ने अवस्था छैन । कोही तटस्थ बसेको जस्तो गरेर मौकाको ताकमा रहेका छन् । 

यसो हुनाले २४ गतेपछि नेकपाका यी दुई पक्षमध्ये जसले बढी सांसदलाई प्रभावमा पारी आफ्नो बनाउन सक्छ उसको बहुमत पुग्नसक्ने अवस्थालाई नकार्न सकिँदैन । यसो भएको खण्डमा नेपाली कांग्रेस साँचो (ताला) बन्नुपर्ने अवस्था रहँदैन । उसको संसदमा यथास्थान रहन सक्छ । पार्टी एकीकरणको नाममा पर्ख र हेरको अवस्थामा नेकपाको एउटा पक्ष रहेको पाइएको छ । त्यसैले उसको दुई पक्षमा विभाजित भएकामध्ये कुनै बएक पक्षलाई बहुमत पु¥याइदिन महŒवपूर्ण भूमिका रहनसक्छ । कांग्रेस २०७४ सालको आमनिर्वाचनबाट संसदमा दोस्रो ठूलो पार्टी बनेको छ । नेकपाका माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछि उक्त पार्टी संसदमा पहिलो पार्टी बन्न पुगेको थियो । नेपाली कांग्रेस दोस्रो पार्टी बनेको हुँनाले उसले प्रतिपक्षको भूमिकामा रही रचनात्मक सहयोग गर्नु उसको दायित्व हो । पाँच वर्षसम्म सत्ताको चाहना नगरी रहेर जनताको मन जित्नसके आगामी निर्वाचनमा उसको बहुमत आउन सक्छ । 

नेकपाको हालको अवस्थाबाट यसको आकलन गर्न सकिन्छ । सत्तामा जान हतार गर्नाले उसको सुधारिँँदै गएको राजनीतिक धरातल पुनः खस्किन जाने हो कि भन्नेतर्फ पार्टीले सोच्नुपर्ने हुन्छ । तर, अदालतले संसद विघटनविरुद्ध फैसला गरे वर्तमान संविधान र राज्यप्रणालीको रक्षा गर्ने काम गरेको हुँदा त्यही आशयको अभियानमा आफ्नो समर्थन प्रकट गरी राज्यको धमिलिँदै गएको राजनीतिक परिस्थितिलाई संल्याउनुपर्ने जिम्मेवारी लिनुपरेको खण्डमा भने पछि हट्नु हुँदैन । आफ्नो राजनीतिक धरातल बलियो बन्नेगरी पाइला चाल्नु अब कांग्रेसको प्रथम दायित्व हुनआउँछ ।


Views: 64