11th April | 2021 | Sunday | 6:22:05 PM

भूगोल र समुदायबीचको एकताका सेतु निधिको काठमाडौंमा प्रतिमा अनावरण

  POSTED ON : फाल्गुन १४, २०७७ (१०:०६ AM)

भूगोल र समुदायबीचको एकताका सेतु निधिको काठमाडौंमा प्रतिमा अनावरण

काठमाडौं । भूगोल र समुदायगत विविधतालाई भावनात्मक एकतामा गाँस्ने सेतुका रूपमा परिचित नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ ।  काठमाडौंको बसुन्धारास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालभित्र निधिको प्रतिमा स्थापना गरिएको हो । उहाँका सुपुत्र तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गर्नुभएको छ । सो अवसरमा उप–सभापति निधिले अस्पतालको नवनिर्मित भवन समेत उद्घाटन गर्नुभएको थियो । नेपालमा पहाडी भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरूको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भए पनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा पुगेका व्यक्तिहरूको पहाडी भेगमा खासै प्रतिमा स्थापना नगरिएको विगत रहेको छ । तराई मधेशबाट स्थापित नेताहरूमध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो । 

नयाँ पुस्ताले निधिको जीवनी अवलम्बन गर्नुपर्ने : प्रथम राष्ट्रपति डा. रामवरण यादव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले राजनीतिका नयाँ पुस्ताले महेन्द्रनारायण निधिको जिवनी अवलम्बन गर्न सुझाव दिनुभयो । नेपाली राजनीतिका शिखर पुरुष एवं गान्धीवादी नेता महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा प्रथम राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुद बनाउनका लागि विधिविधान अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । जसरी निधिले एउटै विचारलाई समातेर जीवनपर्यन्त लडिरहनुभयो त्यस्तै अगाडि बढिरहे भने पक्कै पनि नेपालको लोकतन्त्र समृद्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा बिहीबार आयोजना गरेको निधिको ९९ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै डा. यादवले पछिल्लो सय वर्षयता सैनिक सासन, साम्यवाद, लोकतन्त्रको क्रममा हुकुमी शासनमा जेल परे पनि एउटै विचारको राजनीति गर्ने गान्धीवादी नेता महेन्द्रनारायण निधिको कार्यकर्ता र डाक्टर भएर काम गरेको सम्झान सुनाउँदै राजनीतिका नयाँ पुस्ताले निधिको जिवनी अवलम्बन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, प्रदेश २ को प्रमुख प्रतिपक्ष नेकपा संसदीय दलका नेता शत्रुधन महतो, कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायतले महेन्द्रनारायण निधिको स्वभाव र विचारबारे चर्चा गर्नुभएको थियो ।

विसं. १९७८ फागुन १३ गतेका दिन धनुषाको नगराइनमा जन्मिनुभएका महेन्द्रनारायण निधिले मुलुकमा प्रजातन्त्र स्थापनार्थ अविष्मरणीय योगदान पु¥याउनुभएको थियो । युवा अवस्थादेखि नै राजनीतिमा लाग्नुभएका निधि जीवनको अन्तिम घडीसम्म पनि राजनीति, मुलुक र समाजप्रति निष्ठावान् रहिरहनुभयो ।  पञ्चायती शासन व्यवस्थाको विरोध गर्दा कैयन् पटक जेलनेलका यातनापूर्ण कालकोठरीहरू भोग्नुभएका निधिले शासकसामु कहिल्यै घुँडा टेक्नुभएन । प्रजातन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा उहाँले आफूलाई जीवनभर उभ्याउनुभयो । २०४६ सालको जनआन्दोलनको सफलतापछि निधि कांग्रेसका महामन्त्री र जलस्रोतमन्त्रीसमेत बन्नुभएको थियो । अहिलेको राजनीतिमा परिवारवाद हाबी रहेका बेला निधिले अपनाएको सिद्धान्त अहिले पनि अनुकरणीय रहेको उहाँलाई नजिकबाट चिन्नेहरूले बताउँछन् ।


Views: 59