17th April | 2021 | Saturday | 11:10:23 PM

विकसित घटनाक्रममा अबको राजनीतिक परिदृश्य

चिन्तन क्षेत्री   POSTED ON : फाल्गुन १४, २०७७ (१०:१४ AM)

विकसित घटनाक्रममा अबको राजनीतिक परिदृश्य

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला सुनाएपछिको अवस्था के हुन्छ भन्ने विषयमा अहिले अनेक अड्कलबाजीहरू भइरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपनि कुनै एक पक्षलाई बाहिर राखेर अर्को पक्षले सरकार सञ्चालन गर्न सक्ने अवस्था छैन । आफ्नै पार्टीभित्रबाट काम गर्न नदिइएको भन्दै संसद् भंग गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चको फैसलापछि पनि पदमै रहनुभएको छ । अदालतले ओलीको विपक्षमा फैसला गरेपछि पनि नैतिकता पदमा बस्नुहुँदै भन्ने आवाज उठिरहे पनि ओलीले त्यसलाई लत्याएर अगाडी बढीरहनुभएको छ । ओली समूहको नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’माधवकुमार नेपाल अध्यक्ष रहेको अर्को समूह दुवैले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकार साझेदारीका लागि प्रस्ताव गरिरहेका छन् । यद्यपी ती दुबै दलले नेकपा कानुनी रूपमा अलग नभएसम्म कुनै पनि समूहलाई साथ दिन नसकिने संकेत गरिसकेका छन् । यस्तो अवस्थामा अब देशको राजनीतिक भविष्य के होला भन्ने अन्यौलताको विषय बनिरहेको छ ।

 अब साझा सरकार, कात्तिकमा चुनाव !

संसद् विघटनपछि आगामी वैशाख १७ र २७ का लागि तोकिएको मध्यवधि निर्वाचन सर्वोच्चको फैसलापछि तुहिएको छ । नयाँ जीवन पाएको प्रतिनिधिसभाले आगामी दुई वर्षसम्म सरकार नपाउने भविष्यवााणी विश्लेषकहरू गर्न थालेका छन् । विश्लेषक देवेश झा मिलिजुली सरकारको आयु धेरै नहुने भएकोले अबको बाटो साझा सरकार गठन गरेर आगामी कात्तिक मंसिरमा प्रतिनिधसभा निर्वाचनको सम्भावना रहेको बताउनुहुन्छ ।  देशमा फेरि अन्योलको अवस्था आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘फेरि संसद् भंग भएर चुनाव नै हुन्छ ।  कांग्रेससँग मिलेर सरकार बनाउन नेकपा औपचारिक रूपमा फुट्नुप¥यो । ओलीलाई पार्टीबाट निकाल्न त्यति सजिलो छैन । महाधिवेशनबाट अध्यक्ष भएको मान्छेलाई कसरी निकाल्न सकिन्छ ?’

कांग्रेसलाई साथमा लिएर प्रचण्ड नेपाल पक्षले अल्पमतको सरकार बनाउने कसरत अगाडि बढाए पनि धेरै समय त्यो सरकारले धान्न नसक्ने उहाँले बताउनुभयो । देउवा प्रधानमन्त्री भएपछिको अवस्थामा प्रचण्डले हरेक ठाउँमा दबाब दिने आफूले भनेअनुसारको निर्णय गराउने प्रवृत्तिका कारण साझेदारी लामो समय नटिक्ने उहाँको भनाइ छ । देउवा प्रचण्डको प्रेसरमा रहेर काम गर्नुभन्दा ओलीसँग मिल्ने गरी अगाडि बढ्न खोज्ने र फलस्वरूप देशमा झन् अन्योलता सिर्जना हुने उहाँले बताउनुभयो । 

नेकपा कानुनी रूपमा विभाजन नहुनु र मिलेर जान सक्ने अवस्था पनि नभएका कारण अहिले अन्योलको अवस्था रहेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा पनि ओलीसँग ८० भन्दा बढी र प्रचण्ड नेपालसँग ९० भन्दा बढी सांसदहरू भएको अवस्था थप जटिल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘औपचारिक रूपमा पार्टी फुटेको छैन । मिलेर अगाडि बढ्न सक्ने अवस्था छैन । आयोगबाट एउटाले आधिकारिकता लिएर अर्कोले छुट्टै बनाएर गयो भने यही राम्रो हुन्छ । त्यो भएन भने अरू केही पनि सम्भव छैन । किनकि ओलीसँग ८० प्लस र प्रचण्डसँग ९० प्लस छ ।  अर्को विकल्प भनेको विगतमा जे भयो भयो अब मिलेर जाऊँ भन्यो भने दुवै पक्षले भन्नुप¥यो त्यो सम्भावना कति होला ? उतिबेला नै एमाले र माओवादीको एकता नै बेमेलको थियो ।’

ओलीको सनक देउवालाई अवसर

प्रतिनिधसभा निर्वाचनमा नराम्ररी पराजय व्यहोरेको नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले केही हदसम्म अवसर मिलेको छ । तर, पाँच वर्ष प्रतिपक्षमा बस्न जनमत पाएको पार्टीले सरकारमा जान हतारो गर्न गर्नुले नैतिक आधार गुम्ने डर पनि उत्तिकै छ । परिस्थिति जे बने पनि नेपाली कांग्रेसबिना अब सरकार सञ्चालनको विकल्प नहुने अर्का विश्लेषक डा. राजेन्द्र चापागाई बताउनुहुन्छ ।

देश एकपटक फेरि २०७६ अगाडि र ०४६ पछिको अवस्थामा फर्किएको उल्लेख गर्दै उहाँले अब सांसद किनबेचको क्रम सुरु हुने उहाँले बताउनुभयो । ‘फेरि पनि त्यही सांसद किनबेच र ९, १० महिने सरकार बन्ने क्रममा फर्किएका छौँ । सामन्त गोयल आएपछि नै यस्तो अवस्था आएको हो । ओलीले यसअघि बनाएको राष्ट्रवादको छवि पनि धुमिल भयो । ओलीले काँचो खेल खेल्नु भयो’, उहाँले भन्नुभयो । 

कांग्रेसलाई नसोधी सरकार बन्ने अवस्था छैन

नेकपाभित्रको अन्तरद्वन्द्वले नेपाली कांग्रेसले सरकार सञ्चालनको अवसर पाएको हो । अहिले प्रचण्ड नेपाल र ओली दुवै समूहले सत्ता साझेदारीका लागि प्रस्ताव गरिरहेका छन् । डा. चापागाईं ओलीका कारणले कांग्रेसले अब पहिलो पंक्तिमा आएको बताउनुभयो । कांग्रेसलाई नसोधेसम्म सरकार बनाउने अवस्था नरहेको उल्लेख गर्दै उहाँले जुनसुकै अवस्थामा पनि देउवाबिना सरकार बन्ने अवस्था नरहेको बताउनुभयो । 

विश्लेषक झा पनि देउवालाई प्रधानमन्त्री बनाएर सर्पपक्षीय सरकार बनाएर अगाडि बढ्न सक्ने अवस्था सिर्जना भएको बताउनुहुन्छ । ‘अबको बाटो भनेको देउवालाई प्रधानमन्त्री बनाएर अगाडि बढ्ने हो । र अर्को निर्वाचनका लागि तयारी गर्ने अवस्था हो । हुन्छ पनि त्यही सबै दल सरकारमा गएर कात्तिकसम्म निर्वाचन हुन्छ ।’


Views: 67