11th April | 2021 | Sunday | 6:15:30 PM

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट दाहाल र राकेश सम्मानित

  POSTED ON : फाल्गुन १५, २०७७ (१०:२६ AM)

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट दाहाल र राकेश सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शान्ति, अहिंसा, लोकतन्त्र र मानव अधिकारका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित सम्मान समारोहमा उहाँले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेकाले समाजवादको दिशामा उन्मुख हुनुपर्ने धारणा राख्नुभयो । सादा जीवन उच्च विचारका धनी महेन्द्रनाराण निधिले अँगाल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।

निधि प्रतिष्ठाको योगदानको स्मरण गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘निधिको निष्ठापूर्ण जीवन आदर्शको अनुशरण गर्ने भावना हामी सबैमा रहोस् ।’ जनताको हक अधिकार स्थापना गर्न सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्नुभएका निधिले प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको लागि आफूलाई जीवनभर समर्पित गर्नुभएको धारणा राख्नुभयो । ‘विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनुभएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व. निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुभएको भूमिका सधैँ उल्लेखनीय रहिरहने छ । उहाँ राष्ट्रिय दृष्टिकोण बोक्नुभएका आम नेपालीको नेता हुनुहुन्थ्योे ।’  

प्राकृतिक स्रोत र सम्पदाले सम्पन्न हँदाहुँदै पनि आर्थिक विकासका दृष्टिले मुलुक अगाडि बढ्न नसकिरहेको परिवेशमा स्व. निधिका आर्थिक चिन्तन तथा विचारहरूलाई पनि आत्मसात गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले अहिंसासम्बन्धी विभिन्न सृजनात्मक क्रियाकलापहरू सञ्चालन गरी विद्यार्थीहरूमा दिगो शान्तिप्रति चेतना जगाउने कामलाई समेत निरन्तरता दिएकाले त्यसबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउ पुग्ने पनि उहाँले उल्लेख गर्नुभयो । 

 दाहाल र राकेश सम्मानित

सोही कार्यक्रममा वरिष्ठ पत्रकार होमनाथ दाहाललाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट गरिएको छ । राष्ट्रपति भण्डारीले वरिष्ठ पत्रकार दाहाललाई शीतलनिवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्मान गर्नुभएको हो । यस्तै डा. रामदयाल राकेश पनि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७७ बाट सम्मानित हुनुभएको छ । सम्मानित हुनुहुने परिष्ठ पत्रकार दाहालले २०२१ सालबाट पत्रकारिता शुरु गर्नुभएको थियो । दाहालले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतासहित लोकतन्त्र बहालीका आन्दोलनमा पटकपटक जेल यातनासमेत भोग्नुभएको थियो । सम्मानित दाहाल नेपाल पत्रकार महासंघको सभापति, गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धकसमेत भइसक्नुभएको छ । उहाँ २०५६ मा ओखलढुंगाबाट प्रतिनिधिसभाको सांसदमा समेत विजयी हुनुभएको थियो ।

यस्तै, सम्मानित अर्का व्यक्ति डा. रामदयाल राकेश नेपालको लोकसंस्कृतिको विषयमा पोष्ट डक्टरल रिसर्च उपाधि पाउने पहिलो व्यक्ति हुनुहुन्छ । नेपाली लोक संस्कृति, मिथिला संस्कृति, र हिन्दी साहित्यमा डा. राकेशका दर्जनौं कृति प्रकाशित भएका छन् ।

प्रतिष्ठानले प्रेम सागरी देवी निधि पुरस्कार २०७६ बाट काशीदेवी झा र गिरिराजकुमारी (ज्ञानु) प्रसाईंलाई सम्मान गरेको छ । सम्मानित हुने काशीदेवी झा शहीद दुर्गानन्द झाकी धर्मपत्नी हुनुहुन्छ । स्वर्गीय दुर्गानन्द झाले २०१८ साल माघ ९ गते जनकपुर भ्रमणमा गएका राजा महेन्द्रमाथि बम प्रहार गर्नुभएको थियो । त्यस्तै, सम्मानित हुनुहुने गिरिराजकुमारी (ज्ञानु) प्रसाईं समाजवादी नेता चिन्तक सिके प्रसाईंकी धर्मपत्नी हुनुहुन्छ । नेपालमा लोकतान्त्रिक समाजवादका भाष्यकार विश्वेश्वर प्रसाद कोइरालाको अर्को रूपका रूपमा सिके प्रसाईँलाई लिने गरिन्छ । सिके प्रसाईंको बौद्धिक सहयोगिको रूपमा सम्मानित हुनुहुने ज्ञानु प्रसाईंलाई लिने गरिन्छ । सम्मानित ज्ञानु प्रसाईंले सिके प्रसाईं चिन्तन प्रतिष्ठान स्थापना गरी नेपालमा लोकतान्त्रिक समाजवादको विचार आन्दोलनमा क्रियाशील रहँदै आउनुभएको छ । 

शान्ति, अहिंसा, समुदायका बीचमा सद्भावना, लोकतन्त्र र सामाजिक न्यायका लागि अथक अभियन्ता निधिको स्मृतिमा २०५८ सालमा स्थापित महेन्द्रनारायण निधि प्रतिष्ठानले २०७० सालदेखि ती दुई पुरस्कार प्रदान गर्दै आएको छ ।  

सो अवसरमा नेपाली कांग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति र अहिंसाभित्र लोकतन्त्र र मानव अधिकारलगायतका विषय समेटिने भएकाले जनताका बीचमा गएर स्व. निधिले विभेदविरुद्ध गर्नुभएको योगदान अनुकरणीय रहेको उल्लेख गर्नुभयो । समारोहमा पूर्वमुख्य सचिव एवं पुरस्कार छनोट समितिका संयोजक डा. विमल कोइरालाले लोकतन्त्र, सामाजिक न्याय र समुदायबीचमा सद्भाव बढाउनका लागि निधिले अविचलित अभियन्ताका रूपमा योगदान पु¥याएको योगदानको स्मरण गर्नुभयो । संस्थाका अध्यक्ष पुरुषोत्तम दाहालले सिद्धान्त र विचारमा अडिग रहने अहिंसावादी निधि नेपाली राजनीतिज्ञका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो । 

स्व. निधिका पुत्र प्राध्यापक नवेन्द्र निधि, पुरस्कृत व्यक्तित्व दाहाल र राकेशले गान्धीवादी स्व. निधि शान्ति र अहिंसाका पूजारी मात्र नभई शालीन व्यक्तित्वका रूपमा समेत स्मरण गर्नुभयो । 


Views: 54