13th April | 2021 | Tuesday | 7:39:08 PM

उद्घाटन र शिलान्यासमा प्रधानमन्त्री ओली गृहजिल्लामा दिनभर व्यस्त

सुरेन्द्र भण्डारी   POSTED ON : फाल्गुन १६, २०७७ (८:३८ PM)

उद्घाटन र शिलान्यासमा प्रधानमन्त्री ओली गृहजिल्लामा दिनभर व्यस्त

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा आइतवार दिनभर उद्घाटन र शिलान्यासमा व्यस्त रहनु भयो । आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने विभिन्न विकासका योजनाको उद्घाटन र शिलान्यासमा प्रधानमन्त्री ओली व्यस्त रहनु भएको हो ।

दमकमा निर्मित चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याससंगै विभिन्न विकासे योजनाको शिलन्यासका लागि यति एयरलाइन्सको पहिलो उडानबाट झापा आइपुग्नु भएको प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्ताले भद्रपुर विमानस्थलमा  स्वागत गर्नुभएको थियो । 

नेकपाका अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्र भित्र पर्ने कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको पहिलो कार्यक्रम स्वरुप उद्घाटन गर्नुभयो । त्यसपछि  दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पक्की पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुभयो ।  अर्बौं लगानीमा बन्न लागेको पार्क ओलीको निर्वाचन क्षेत्र हो । 

सो पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न सरकारले स्वीकृति दिएको छ । 

यसका लागि दुवै देशबीच सम्झौता भइसकेको छ । यो पार्क दश वर्षमा निर्माण हुने र ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ ।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ९६३ अर्ब २१ करोड रुपैयाँ० लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाह जमिन एकीकृत गरिसकिएको छ । सन् २०१७ मा चीनबाट आएका टोलीले उक्त जग्गा अवलोकन गरेको थियो। त्यस्तै प्रधानमन्त्री ओलीले कमलगाउँपालिका २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर रहेको छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले  १६ करोड ६२ लाख ६४ हजार ९७५ रुपैयाँमा ठेक्का लिएका थिए । २०७२ साल माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो ।

यो पार्कसंगै प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकै पटक शिलान्यास गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओलीले दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गर्नुभयो ।

ओलीले कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुल, दमक –१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुल,सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुल र दमक– १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने रतुवा खोलामा निर्मित पुलको  उद्घाटन गर्नुभएको थियो ।  पुलको उद्घाटन पछिप्रधानमन्त्री ओलीले कमल– ७ झर्काहा बजारमा आयोजना हुने सभालाई सम्बोधन गर्नुभयो ।

प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार प्रधानमन्त्रीले वैकल्पिक मार्गका रुपमा रहेको मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पुलसँगै पूर्वी खण्डका ३१ पुलको एकैसाथ शिलान्यास गर्नुभयो ।

झापाका विभिन्न खोलामा पुल निर्माण भएपछि पूर्वी पहाडी क्षेत्रको केन्द्र बनाउनका लागि अहिले दमकले विस्तारै विकासमा फड्को मार्ने विश्वास स्थानीयवासीको छ । पछिल्लो समय शहरीकरणका रुपमा विस्तार हँुदै गएको दमकलाई छिमेकी पालिकासँग पहुँच विस्तार गर्न विभिन्न नदी तथा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ ।

दमक नगरपालिकाका इञ्जिनीयर अनन्त सेनेहाङका अनुसार दमकसँग जोडिने नदी तथा खोलामा सङ्घीय सरकारको बजेटबाट चार पुल निर्माण भइसकेका छन् । पूर्व र दक्षिणमा रतुवा, पश्चिम मावामा गरी पक्की पुल निर्माण भइसकेका छन् भने आधा दर्जन अझै राष्ट्रिय योजनाका विभिन्न परियोजना निर्माणका क्रममा छन् । मुख्य गरी केही महीनाअघि मात्र दमक जोडिने चारैतिरका नदीमा पुल निर्माण भएपछि उत्तरी मोरड, दक्षिणी इलाम र दक्षिणी झापाका सर्वसाधारणको केन्द्रका रुपमा सो नगर विकास हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै ती सबै पुल शिलान्यास गर्नुभएको थियो ।

वर्षौंदेखि पुलको अभाव झेल्दै आएका इलाम, चुलाचुलीबासीलाई पक्की पुल निर्माण भएपछि दमकसँगको सम्बन्ध नजीक भएको छ । 

बर्खामा विद्यालय जान र बजार भर्न लागिसमेत रतुवा नदीको बाढीका कारण समस्या झेल्दै आएका बासिन्दालाई पुल निर्माणपछि शिक्षा, स्वास्थ्य र  रोजगारीका लागि दमकसम्म आवतजावतमा सुविधा पुगेको स्थानीय युवासमेत रहनुभएका पुल रेखदेख समितिका उपाध्यक्ष सुवास आङथोपोले बताउनु भयो । उहाँले भन्नुभयो– पुल निर्माण भएपछि चुलाचुलीबासीले धेरै राहत महसुस गरेका छन्, चुलाचुलीले विस्तारै काँचुली फेर्न थालेको छ । 

दुई सय मिटर लामो सो पुल रु १५ करोड ६८ लाख २१ हजार २५० को लागतमा निर्माण भएको हो । यस्तै दमक–राजघाट, दमक–कमल र दमक–गौरादह जोड्ने गरी मावा र रतुवा नदीमा पुल निर्माण गरिएको छ । दमक– १० सेतुमारीदेखि गौरादह– ५ बालुबथान जोडिने ३०० मिटर लामो रतुवा खोलामा रु ३३ करोड ५२ लाखका लागतमा पुल निर्माण भएको हो । पुल निर्माणपछि साविकका महारानीझोडा, कोहबरा र  खजुरगाछीका बासिन्दालाई दमकसम्म आउन सीधा र सहज आवागमनमा सुविधा पुग्ने दमक– १० का वडाध्यक्ष बोधराज न्यौपानेले बताउनु भयो ।

गौरादह, बालुबथानका बासिन्दासमेत रहेका नेकपा क्षेत्र नं ५ का अध्यक्ष मदन अधिकारीले पुल निर्माणपछि बालुबथानबाट दमक र उर्लाबारीसम्म आउनजानका लागि सहज हुने बताउनु भयो । सो  पुलमा  प्रस्तावित चीन नेपालमैत्री औद्योगिक पार्क क्षेत्र निर्माणपछि झनै चहलपहल बढ्ने बताउनु भयो । मुख्य उद्योग गौरादह र कमलमा रहने भएपछि दमकसम्म आउन र सामान ढुवानी गर्न सो पुल निर्माणसँगै यस क्षेत्रका सडक वैकल्पिक रुपमा प्रयोगमा आउने भनाई छ । 

बालुबथानदेखि मोरङको उर्लाबारीको राजघाट जोड्ने गरी ११ मिटर चौडाइ तथा ४०० मिटर लम्बाइको पुल निर्माण पनि सकिएको छ । शर्मा–एपेक्स जेभी काठमाडौँले रु ५० करोड २० लाख दुई हजार २०० को लागतमा पुल निर्माण गरेको हो ।  त्यस्तै दमकलाई मोरङको मधुमल्ला जोड्ने मावामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल निर्माण भएको र त्यसको लागत रु ३० करोड २२ लाख ९१ हजार ७५० रहेको जनाइएको छ ।

मावा खोलामै दमक– १० सेतुमारीदेखि मोरङको उर्लाबारी नगरपालिका– ९ राजघाट नै जोड्ने गरी ७५ दशमलव ४५ मिटरको पुल निर्माण सकिएको छ । जिल्ला समन्वय समिति झापाको लगानीमा निर्मित पुलसँग जोडिने बाटो नभएका कारण प्रयोगविहीन भएको थियो । मावाखोलामै रु चार करोड २१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । 

दमकदेखि  उर्लाबारी नगरपालिकास्थित आमबाडी जोड्ने गरी पनि मावा खोलामा अर्को पुल निर्माण भएको छ । एघार मिटर चौडाइ र २०० मिटर लम्बाइको पुल निर्माणको लागत रु २२ करोड ८७ लाख ५० हजार छ । मावा र रतुवा नदीबीचमा रहेको पुल निर्माण भएपछि दमक मोरडका ग्रामीण बजारको केन्द्रका रुपमा विकास हुने स्थानीयवासी नवराज न्यौपानेले बताउनु भयो । वर्षेनि पुल नहुँदाको सास्ती भोग्दै आएका स्थानीय बासिन्दाले अब राहत महसुस गरेको उहाँको भनाइ छ । 

नेकपा दुई समूहमा विभाजनपछि ओली पहिलो पटक झापामा 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  दुई समूह विभाजित भएपछि प्रधानमन्त्री ओली पहिलो पटक गृह जिल्ला आउनु भएको हो । नेकपा दुई समूहमा विभाजित भएपछि झापा आएका ओलीको सुरक्षाका लागि चन्द्रगढी विमानस्थलमा यस पटक सुरक्षा व्यवस्था कडाइ पारिएको थियो । उहाँको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका थिए । 

प्रधानमन्त्री ओलीद्वारा कमल गाथा विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीले  कमल गाउँपालिको इतिहासलाई  समेटेर तयार पारेको कमल गाथाको विमोचन गर्नुभयो ।

 कमल गाउँपालिकामा रहेका विभिन्न चोक बजारको इतिहाससंग जोडिएर नामाकरण गरिएको सम्बन्धमा  तयार गरिएको कमल गाथाको परिकल्पनाकार नारायण बस्नेत ,रचना विजय कुमार अधिकारी, संगीत  कैलाशथापा मगर, गायक  गौरव दर्पण र टिका प्रसाई, छायाङ्कन निकेश बस्नेत, संगीत अशोक थापाको रहेको छ । कमल गाथा निर्माणमा   विषेश सहयोग  कमल नगर जेसीज वर्ष अध्यक्ष छत्रपति खनाल (गोपाल ) र व्यवसायी भरत प्रधानको रहेको छ ।  

आफूलाई हटाएर देखाउन ओलीको चुनौती 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आइपुग्नु भएका  प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौति दिनुभएको छ ।

आज झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल र प्रचण्डलाई अबिश्वासको प्रस्ताव मार्फत आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौति समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले  नेकपाको संसदीय दलको नेता र अध्यक्ष समेत आफै भएकाले पदबाट हटाउन चुनौति दिनुभयो ।

संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापश्चात आफू प्रधानमन्त्री हुने अवस्था नदेखेपछि प्रचण्ड–माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई गुहारेको ओलीले बताउनु भयो । उहाँले सर्वोच्चमा मुद्दा हार्दैमा केही फरक नपर्ने बताउनु भयो । देशमा विकासको आँधीबेहरी आएको ओलीले दाबी गर्नुभयो । देशमा भएको विकास र समृद्धि देख्न नसकेर केही व्यक्ति अताल्लिएको उहाँको आरोप छ । ओलीले केही दिनमै विप्लव समुह समेत वार्तामा आउने पनि जानकारी दिनुभयो । 


Views: 75