17th April | 2021 | Saturday | 10:47:27 PM

संसद् बैठकको तयारीमा संसद् सचिवालय

  POSTED ON : फाल्गुन १७, २०७७ (१०:१३ AM)

संसद् बैठकको तयारीमा संसद् सचिवालय

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरेपछि संघीय संसद् सचिवालयले आफ्नो तयारी सुरु गरेको हो । संघीय संसद् सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सतर्कतालाई पनि ध्यान दिइएको उहाँको भनाइ छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरूको पनि तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सचिवालयका धेरै कामहरूमध्ये बैठकहरूको व्यवस्थापन पनि एउटा महŒवपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेष गरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिले पनि कोरोना महामारीको अवस्था छँदैछ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापनअन्तर्गत एजेण्डाहरू के के हुनसक्छन् ? विधेयकहरूको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुराहरूलाई प्रशासनिक व्यवस्थाअन्र्तगत हामीले काम गरिरहेका छौँ ।’ स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी, प्राविधिक रूपमा पनि तयारी गरिएको बताउनुभयो । 

समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरूको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताउनुभयो । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनै पनि झन्झट र कठिनाइबिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । 

३२ विधेयक संसदीय प्रक्रियामा 

संसद् सचिवालयले विधेयकहरूको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । नेपालको संविधान २०७२ पछि सम्पन्न २०७४ को आम निर्वाचनपछि हालसम्म विधेयक शाखा (प्रतिनिधिसभा) मा ८७ विधेयक दर्ता भएका छन् । जसमध्ये ५३ वटा प्रमाणीकरण भइसकेका छन् । हाल प्रतिनिधिसभामा प्रक्रियामा ३२ विधेयक रहेका छन् । त्यस्तै, तीन विधेयक सरकारले फिर्ता लिएको थियो । 

संसद् सचिवालयका सूचना अधिकारी धमलाका अनुसार प्रक्रियामा रहेका विधेयकमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेका छन् । 

संघीय संसद्को पहिलो अधिवेशन विसं २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन विसं २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन विसं २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन विसं २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो ।

त्यस्तै, संसद्को पाँचाँै अधिवेशन विसं २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन विसं २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो । संघीय संसद्मा दुवै सभातर्फ दर्ता भएका सन्धि÷सम्झौताको संख्या १४ छ । उक्त ६ सन्धि÷सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धि÷सम्झौता सदस्यलाई वितरण मात्र भएका छन् । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गरिसकेको अवस्था छैन । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । यद्यपि, सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने फैसला गरेको थियो ।


Views: 73