17th April | 2021 | Saturday | 10:33:24 PM

आधिकारिक पार्टी र सूर्य चिन्ह पनि आफूहरुकै हुने प्रचण्डको दाबी

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १७, २०७७ (६:०३ PM)

आधिकारिक पार्टी र सूर्य चिन्ह पनि आफूहरुकै हुने प्रचण्डको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुनै आधिकारिक पार्टी र सूर्य चिन्ह पनि आफुहरुकै हुने दाबी गर्नुभएको छ ।

नेपाल कर्मचारी राष्ट्रिय महासंघको साधारणसभामा बोल्दै सोमबार प्रचण्डले केही दिन भित्रै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी ओलीमा सम्पूर्ण रुपमा पतन नहुञ्जेल बेइमानी र प्रतिक्रियावादी पात्र देखिएको समेत बताउनु भयो । सर्वोच्चको फैसलापछि ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताउनु भयो ।

सर्वोच्च अदालतले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा आफैंले जितेजस्तो दम्भ देखाइरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो सर्वोच्चमा सेटिङ छ भनेर भ्रम छरेको आरोप लगाउँदै प्रचण्डले अब निर्वाचन आयोगवाला सेटिङ पनि भत्किने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ,’ प्रचण्डले भन्नुभयो, ‘हेर्नुहोला मैले त्यत्तिकै भनेको होइन । मैले बुझेर भन्दै छु । केही समयभित्रै निर्वाचन आयोगले यो उहाँहरूको आधिकारिक पार्टी होइन, आधिकारिक पार्टी बुहमतवाला पार्टी नै हो । सूर्य चिन्ह र नाम हाम्रै हो भन्ने फैसला हुन्छ । एक इन्च पनि शंका गर्नु पर्दैन । म यो कुरा विश्वासका साथ भन्न सक्छु ।’

ओलीको सेटिङको भ्रममा परेका कार्यकर्ता पनि विस्तारै फर्किन लागेको प्रचण्डले दाबी गर्नुभयो ।


Views: 87