17th April | 2021 | Saturday | 11:49:39 PM

‘ओखलढुंगाले तत्काल मित्रसेन जन्माउने सम्भावना छैन’

रामहरि खतिवडा   POSTED ON : फाल्गुन १८, २०७७ (९:३६ AM)

‘ओखलढुंगाले तत्काल मित्रसेन जन्माउने सम्भावना छैन’

मित्रसेन दाहाल ओखलढुंगा जिल्लाको तत्कालीन वरुणेश्वर गाविस ढुस्केमा जन्मिनुभएको एउटा राज नेता हुनुहुन्थ्यो । मैले उहाँलाई २०३६ सालमा चिनेको हुँ । २०३६ सालमा प्राप्चाबाट रामपुर आउँदा फणिन्द्र दाहाल, मित्रसेन दाहालहरूले मलाई राजनीतिक रूपमा नेविसंघको सदस्यता प्रदान गर्नुभएको थियो । त्यस बेलादेखि नै उहाँ नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो । राजनीतिक रूपमा मभन्दा अगाडि काम गर्नुभएका मित्रसेन दाहाल २०४२ सालको सत्याग्रहमा जेल पनि पर्नुभयो । आरआर क्याम्पसमा नेविसंघबाट स्ववियु सभापतिको उम्मेद्वार पनि हुनुभयो । 

नेविसंघको राजनीतिमा ओखलढुंगामा त्यत्तिकै सक्रिय रहनुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सचिव भएर काम गर्नुभयो । ओखलढुंगाको अहिले नेपाली कांग्रेसको नयाँ भवन बनिरहेको छ । उहाँलाई महेश कोर्मोचा पार्टी सभापति हुँदा हामीले एउटा जग्गा दिएका थियौं । त्यसमा महेश कोर्मोचा, मित्रसेन दाहाल, मेरो, डिल्ली खनाललगायत साथीहरूको अहम् भूमिकाले पार्टी कार्यालयको भवन निर्माण गर्न सफल भएका छौं । लालसुन्दरजीसँग त्यो जग्गा लिएका हौं । पछि त्यो जग्गा आर्मीले लियो र हामीलाई राम्रै मुआब्जा दियो ।

पछि प्रजातान्त्रिक कांग्रेसको सभापति हुँदा गोमा केसीले पनि स्थानीय विकास मन्त्रालयबाट बीपी भवन बनाउन १५ लाख रुपैयाँ निकास गराउनुभयो । उहाँ पनि यसको धन्यावादको पात्र हुनुहुन्छ । राजनीति गरेर कमाइ खाने भाँडो बनाएर हिँडेका मान्छेहरूका अगाडि उहाँ यस्तो पुरुष हुनुहुन्थ्यो काम गरेर कर तिरेर, पैसा राज्यलाई दिएर राजनीतिमा लाग्नुभयो ।

ओखलढुंगाबाट आउने विद्यार्थीहरूलाई सहयोग गर्नुभयो । पढ्न नसक्ने र ओखलढुंगामा प्रथम हुने सयौं विद्यार्थीलाई छात्रवृत्ति दिनुभयो । उहाँको एउटा संस्था पनि थियो । हामी घट्टेकुलामा बस्थ्यौं । उहाँकोमा हामी जान्थ्यौं । धेरै मान्छे त्यहाँ आउनुहुन्थ्यो । कांग्रेस नेता प्रदीप गिरीसहितका नेताहरूसँग असाध्यै राम्रो सम्बन्ध थियो । बूढानीलकण्ठमा विवाह गर्नुभयो । विवाहमा कृष्णप्रसाद भट्टराईदेखि सारा नेताहरूलाई बोलाउनुभयो । मलाई अहिले पनि याद आउँछ । किसुनजी त्यसबेला पार्टीको कार्यबाहक सभापति हुनुहुन्थ्यो । उहाँले संयोगले खतिवडाकी छोरी विवाह गर्नुभयो । म दिदीभिनाजु पनि भन्थेँ । हाम्रो त्यो सम्बन्ध थिएन । राजनीतिक सम्बन्ध थियो । 

ओखलढुंगामा उहाँले कहिल्यै पनि पार्टीलाई कमजोर बनाउने रणनीतिमा जानुभएन । महाधिवेशनमा उहाँ जहिले पनि राम्रो भोट पाएर निर्वाचित हुनुभयो । महाधिवेशन र महासमिति बैठकहरूमा कांग्रेसको प्रतिनिधि भएर आउनुभयो । काठमाडौंमा आउने ओखलढुंगाका जनतालाई कहिल्यै रित्तो हात फर्काउनु हुन्नथ्यो । यस्तो व्यक्तित्व ओखलढुंगा जिल्लाले पाउन धेरै मुस्किल छ । 

मैले २०७० सालमा टिकट पाउँदा उहाँले मलाई धेरै सहयोग गर्नुभयो । टिकट रामहरिले नै पाउनुपर्छ भनेर धेरै ठाउँमा लाग्नुभयो । २०७४ सालको चुनावमा पनि केही हाम्रा साथीहरूले केन्द्रमा दाबी गरे जस्तो गरे तापनि उहाँले रामहरिको विकल्प छैन भन्नुभएको थियो । 

ओखलढुंगाको संगठनको रूपरेखा र कसलाई टिकट दिँदा जितिन्छ भन्ने उहाँले बुझ्नु भएको थियो । २०७४ सालमा कांग्रेसमा संघको टिकट रामहरि खतिवडाले नै पाओस् भन्ने चाहना उहाँलाई थियो । मेरो लागि मित्रसेनजी निरन्तर लाग्नुभयो । टिकटका विषयमा भएका प्रत्येक बैठकका रिपोर्टिङ मलाई गर्नुहुन्थ्यो । उहाँलाई कांग्रेसको चिन्ता थियो । रामहरिले टिकट पाएन भने मैले पनि प्रदेश सभामा जित्दिन भन्ने उहाँलाई लागेको थियो । उहाँले टिकट पनि पाउनुभयो । टिकट पनि दिलाइयो । कुनै दिन उहाँलाई निरास पाइएन । 

उहाँ उठ्नु भएको क्षेत्रमा २०४८ सालमा कांग्रेसले १९ हजार र कम्युनिष्टले ७ हजार भोट पाएका थिए । बीचमा त्यो क्षेत्र कांग्रेस कमजोर बन्दैगयो । हामीले साथीहरूको व्यवस्थापन मिलाउन नसकेकै कारण कमजोर भएका थियौं । अहिले कांग्रेस बलियो भएको छ । मित्रसेनजीले उच्च मनोबलसहित चुनावमा प्रतिस्पर्धा गर्नुभयो । चुनावको प्रचारप्रसारका खाना खाने राम्रो व्यवस्था मिल्दैनथ्यो । हामी जस्तो पनि खाना खाने । चुनावको प्रचारप्रसारका बेला आफूलाई सिंगल भोट माग्नु भएन । उहाँले कांग्रेसलाई मात्रै भोट माग्नुभयो । कसै कसैले चुनावमा मलाई एउटा भोट देऊ अरूलाई जे गर्छौ गर भन्ने चलन थियो । तर, उहाँले त्यसो गर्नु भएन । 

पार्टीका लागि आउने सहयोगका विषयमा उहाँ अत्यन्तै सजग हुनुहुन्थ्यो । सधैं पारदर्शी हुनुपर्छ भनेर कुरा राख्नुहुन्थ्यो । चुनावका बेला म झण्डै एक महिना उहाँ सँगसँगै बसेँ । उहाँकी छोरी पनि प्रतिभाशाली छिन् । चुनावका सबैजसो कुराहरू मसँग शेयर गर्थिन् । चुनावमा माम्खा पुगेका बेला उहाँकी श्रीमती लडेर हातमा चोट लाग्यो । पत्नीलाई उपचार गर्न पठाएर आफू निरन्तर चुनावी प्रचारमा लाग्नुभयो । मलाई उहाँले सधैं ठूलो प्रेरणा दिनुहुन्थ्यो । अन्तर्घातका कुरा आउँदा वाच गर्नुपर्छ अरू के गर्ने गर्नुपर्छ भन्नुहुन्थ्यो । चुनावमा असहयोग गर्ने साथीहरूका बारेमा उहाँले मलाई भन्नुभएको थियो ।

मित्रसेन दाहालजी इमानदार राजनीतिज्ञ, नेता र कार्यकर्ता दुवै बुझेको, पार्टी बुझेको, पार्टीलाई अगाडि लैजान निर्देशन दिन सक्ने हुनुहुन्थ्यो । जो हामीबीच रहनुभएन । आज हामीलाई दुःख लागेको छ । २०७७ साल फागुन ७ गते बिहान मलाई कृष्ण खनाल भाइले मित्रसेन दाइको अवस्था अलिक सिरियस छ भनेर फोन गर्नुभयो । केही समयपछि सभापति शेरबहादुर देउवा र भानु देउवाले उहाँको अवस्थाको बारेमा फोन गर्नुभयो । 

त्यस दिन पार्टीको कार्यक्रममा सभापति देउवा नुवाकोट जाने कार्यक्रम थियो । सभापति देउवाले सकभर म आउँछु भन्नुभयो । नुवाकोटबाट हेलिकप्टरमा आउन धेरै कोसिस गर्नुभयो । अलिक ढिला हुने भएपछि सभापतिले नेता गोपालमान श्रेष्ठ पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जलिका लागि पठाउँछु भन्नुभयो । गोपालमान दाइ आएर श्रद्धाञ्जलि दिनुभयो ।

हाम्रा लागि यो अपूरणीय र अतुलीय क्षति हो । यस्ता व्यक्तित्वहरू जन्माउन धेरै समय लाग्नेछ । सामाजिक क्षेत्रमा उहाँको योगदान त्यत्तिकै छ । सबैलाई मिलाएर लैजानसक्ने क्षमता उहाँसँग थियो । लप्सेफेदीमा उहाँले गरेको कामको राष्ट्रपतिसमेतले प्रशंसा गर्नु भएको छ । राष्ट्रपति, प्रधानसेनापतिसहित हामी त्यहाँ पुगेका थियौँ । उहाँले आफू नरहे पनि आफ्नो नाम र काम रहने कार्य ओखलढुंगामात्र होइन देशकै केन्द्रमा गरेर जानुभएको छ । कहिले विज्ञापनको क्षेत्रमा, कहिले प्रिन्टिङ प्रेसको क्षेत्रमा, कहिले सहकारी अभियानको रूपमा, कहिले सामाजिक अभियान्ताका रूपमा, कहिले राजनीतिको रूपमा यसरी बहुआयामिक व्यक्ति नेपालमा कमै छन् । यस्तो व्यक्ति ओखलढुंगाले तत्काल जन्माउने सम्भावना छैन ।

उहाँले छोटो समयमा राजनीतिक रूपमा ओखलढुंगालाई गुन लगाएको कसैले भुल्नसक्ने अवस्था छैन । उहाँको निधन हुनुभन्दा अघिल्लो दिन राति ९ बजेर २६ मिनटमा फोन गर्नुभयो । झण्डै १७ मिनेट कुरा गर्नुभयो । ‘रामहरि पार्टी अफिस त तयार भयो । अब यसलाई राम्रोसँग लैजानुपर्छ । तिमी हामी मिलेर अधिवेशन तयारी गर्नुपर्छ, चुनाव भयो भने कसरी जाने ? सरसल्लाह गरौं । पार्टीलाई पहिलो बनाउने काममा लाग्नुपर्छ । केही मानिसहरू जातिका कुरा गर्छन् । केही मान्छेहरू गुटका कुरा गर्छन् । हामीले जाति र गुटका कुरा होइन पार्टी र देशको कुरा गर्नुपर्छ’ भनेर मसँग उहाँले धेरै कुरा गर्नुभयो ।

उहाँले हरहिसाब पनि पारदर्शी रूपमा राख्नुहुन्थ्यो । आर्थिक रूपमा अत्यन्तै इमानदार हुनुहुन्थ्योे । कसैको दुईपैसा खाएर यो काम गरौं भन्ने उहाँको इच्छा थिएन । सहयोगी भावना थियो । त्यस्तो मान्छे हामीले गुमाएका छौं । उहाँका राजकुमार, डिल्ली र यदु तीनजना दाइहरू र लीला र हरि दुईजना भाइहरू हुनुहुन्छ । उहाँको परिवारका सबैजना राजनीतिक रूपमा परिपक्व व्यक्तिहरू हुनुहुन्छ । म सबैलाई हार्दिक सम्मान गर्न चाहन्छु । मित्रसेनजीले लिएका बाटोका लागि सबैले एकताबद्ध भएर स्मरण गर्नुपर्छ । उहाँले धेरै ठूलो कामको सुरुवात गर्नुभएको छ । त्यसलाई गन्तव्यमा पु¥याउनुपर्छ । मित्रसेन दाहालको सपना पूरा गर्न सबै दाजुभाइहरू मिलेर अगाडि जानुहोस् । उहाँका श्रीमती (मेरी दिदी), छोरा–छोरीहरू सबैप्रति हार्दिक समवेदना छ ।

मुलुक निर्माणका लागि ओखलढुंगा र हामीले चम्किलो तारा गुमायौं । त्यो तारा पाउँन हामीलाई धेरै समय कुर्नुपर्छ । राजनीतिमा इगो नलिने, छिटै कन्भिन्स हुने, अरूलाई पनि छिटै कन्भिन्स गर्ने क्षमता सबैमा पाइँदैन । त्यो क्षमता मित्रसेन दाहालसँग थियो । भगवान पनि निष्ठुरी हुँदोरहेछ । राम्रा मान्छेलाई काम गर्न दिए हुनेथियो । ईश्वरले पनि सबैभन्दा पहिला राम्रा मान्छेलाई नै टिपेर लैजाँदो रहेछ । यस्तो दुःख देख्दा मलाई दुःख लागेको छ । साँच्चै भगवान थिए भने मित्रसेनजीलाई यति चाडै लैजाने थिएनन् । तथापि बाँच्नेले यो काम गर्नुपर्छ । 

ओखलढुंगामा कांग्रेसलाई पहिलो स्थानमा पु¥याउने दायित्व साथीहरूमा छ । उहाँका परिवारहरूसँग मिलेर राजनीतिलाई मित्रसेनले लिएको बाटो अगाडि बढाउने काममा हामी सबै लागौं । मेरो उहाँप्रति हार्दिक श्रद्धाञ्जलि । उहाँजस्तो व्यक्तिका लागि राष्ट्रियस्तरमा चिनाउन सबैले पहल गर्नुपर्छ । यस्ता व्यक्तित्व ओखलढुंगामा थिएभन्दा गर्व गर्न लायक छौं । कवि सिद्धिचरण श्रेष्ठ, ज्ञान दिलदास, बलबहादुर राई, व्याकुल माइला, मित्रसेन दाहाल जन्माउने ओखलढुंगाले यस्ता धेरै सपूतहरू जन्माओस् र ओखलढुंगाको शिर उच्च राख्न सधैं अगाडि बढोस् । मित्रसेन दाहालप्रति यही छ मेरो हार्दिक श्रद्धासुमन । 

मित्रसेनको नाम मात्र मित्र होइन, उहाँ अधिकांश सचेत नेपालीका सच्चा मित्र हुनुहुन्थ्यो । समाजसेवा, साहित्य, लेखन, व्यवसाय, राजनीतिक, आध्यात्मिक सबै क्षेत्रमा निरन्तर र अब्बल हुनुहुन्थ्यो । उहाँको जतिको जनसम्पर्क रहेको अर्को व्यक्ति हाम्रो समाजमा बिरलै भेटिन्छन् । आफ्ना स्पष्ट विचारलाई लेखनीका माध्यमबाट निर्धक्कसाथ राख्न सक्ने साहसी व्यक्तित्व अनुकरणीय र अनुशरणीय छ । कतिपय व्यक्ति उहाँको नूतन सोच, योजना बनाउँछन् तर धेरैजसोको कार्यान्वयन पक्ष फितलो हुन्छ । मित्रसेनजीको सोच, योजना सफल गराइछाड्ने दृढता हामीले सिक्न सके कस्तो हुन्थ्यो होला भन्ने लाग्छ । 

वास्तवमा उहाँलाई असाध्य रोगले सताइरहेको भए पनि उहाँ कहिल्यै निराश हुनुभएन । सधैं एउटा स्वस्थ, निरोगी व्यक्तिभन्दा पनि धेरै मिहिनेत, लगनसाथ आफ्ना समाजसेवाका कार्यक्रमहरूमा क्रियाशील भइरहनुहुन्थ्यो । समय र वचनमा उहाँजस्तो पक्का मानिस मैले देखेको छैन, भेटेको छैन । यदि उहाँको जस्तो सोच र त्यसका लागि उहाँले गरेको जस्तो मिहिनेत थोरै मानिसहरूले मात्र पनि गर्न सके हाम्रो समाज, परिवेश र देशले नयाँ काँचुली फेर्न सक्ने थियो भनी ठोकुवा गर्न सकिन्छ । 

सबै साथीभाइ, बन्धुबान्धव, इष्टमित्रलाई परिवारसरहकै मान्यता दिने र त्यसैअनुसार दिल खोलेर उदारतापूर्वक सहयोग गर्ने मित्रलाई भौतिक रूपमा सधैंका लागि गुमाउन पर्दा मन भारी भएको छ । उहाँसँगसँगै काम गर्दाका रोचक संस्मरणहरू उद्धरण गरौं भने एउटा शोधपत्र पनि सानो हुन जान्छ । ठूलो शोधपत्रका लागि तयार हुने रोचक संस्मरण छ उहाँसँग मेरो । 

निरंकुश पञ्चायती कालरात्रिका समयमा उहाँले गर्नुभएको संघर्ष दुःख र भोग्नु भएको पीडा सम्झदा आँङ जिरिंग हुन्छ । कति दुःख र कष्ट थियो एउटा व्यक्तित्व निर्माणका लागि । मानिसहरू उसले प्राप्त गरेको सफलता, प्रसिद्धि वा नाउँलाई मात्र देख्छन् । त्यसलाई प्राप्त गर्नका लागि भोगेको कठिनाइ र योगदान सम्झदैनन् । मैले मित्रसेनले गर्नुभएको दुःख, संघर्ष, कष्ट आपैmंले देखेको छु । कैयौं सन्दर्भहरूमा सँगै थियौं । आज मेरो दिल छिया छिया भएको छ । एक्लै आँसु बन्छन् ती अतित सम्झदा जुन मित्रसेनजी र मैले सँगैसँगै बिताएका थियौं । 

थोरै खुशीहरू साटासाट पनि हामीबीच नभएका भने होइनन् तर उहाँ समाजहितलाई केन्द्रबिन्दुमा राखेर हिँड्न रुचाउने व्यक्ति भएका कारण व्यक्तिगत तबरमा आराम र आनन्द उहाँका प्राथमिकतामा परेनन् । कहिल्यै नहार्ने उहाँको बानीले मृत्युमा पनि मलाई जित्नु भयो, धेरै साथीहरूलाई जित्नु भयो । खै, उहाँ भाग्यमानी हो कि होइन म भन्न सक्दिन तर उहाँ वीर भने हो । उहाँ अमर हो, अमर हुनुभयो, अमर रहनुहुन्छ । उहाँका परिकल्पनाका योजनाहरू जे.पी. प्रतिष्ठान, जेष्ठनागरिक सेवा मैत्रीआश्रमलगायतले उहाँलाई चिरकालसम्म जीवन्त राखिरहनेछन् । 

कुनै समय थियो एउटै बिछ्यौनामा सुत्थ्यौं, आधा आधा खान्थ्यौं, कहिले भोकभोकै हाँस्थ्यौं, मिहिनेत गथ्र्यौं, संघर्ष गथ्र्यांै, अध्ययन गथ्र्यौं, सत्सङ गथ्र्यौं । हल्का तर स्वस्थ मनोरञ्जन पनि कहिलेकहीँ हुनेगथ्र्यो हामीबीच । उहाँको व्यवस्थापकीय पक्षको म कायल थिएँ । अहिले पछिल्लो समयमा त चौतर्फी रूपमा देखिएको विकृतिलाई कसरी न्यून गर्ने भन्ने विषय नै कुराकानीको केन्द्रमा हुन्थ्यो । 

अब त्यस्तो घनिष्ट, अन्तरंग, अभिन्न, सहृदयी, सहयोगी, छलफल गर्ने एउटा मनको मित्र मित्रसेन म कहिल्यै पाउन सक्दिन । मेरो दुर्भाग्य । 

देहत्यागपछि खै कुन्नि के हुन्छ मित्र 

कामना गर्छु खुशी भएरै बस मित्र

नमरेसम्म तिम्रो याद आउँछ मित्र

मित्रसेन तिमी मेरो मनभित्रको मित्र

भावपूर्ण श्रद्धाञ्जलि, सतत् नमन प्रिय मित्र ।

परिवारमा गहिरो सम्वेदना । 

(खतिवडा ओखलढुंगाबाट संविधानसभा सदस्य तथा नेपाली कांग्रेसको नेता हुनुहन्छ ।)


Views: 119