11th April | 2021 | Sunday | 5:42:42 PM

संसद् सचिवालयलाई प्रचण्ड–माधव समूहको पत्र– ओलीले गरेको कामलाई मान्यता नदिइयोस्

  POSTED ON : फाल्गुन २१, २०७७ (८:२७ AM)

संसद् सचिवालयलाई प्रचण्ड–माधव समूहको पत्र– ओलीले गरेको कामलाई मान्यता नदिइयोस्

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निष्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उहाँले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ । बिहीबार प्रचण्ड माधव समूहका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद् सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद् सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको उल्लेख गर्नुभएको छ । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रूपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।

उहाँले पार्टीका कुनै सदस्यलाई निष्काशनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्न सक्ने संसदीय दलको विधानसमेत स्मरण गराउनुभएको छ । पार्टी केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको भन्दै प्रचण्डले भन्नुभएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निष्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

उहाँले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरू कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने बताउनुभएको छ । 

पत्र बुझाएपछि पत्रकारसँग कुरा गर्दै नेता गुरुङले संसदीय दलको विषयमा पार्टीले गरेको निर्णय संसद् सचिवालयलाई जानकारी गराइएको बताउनुभयो । 

केपी ओलीलाई पार्टीले संसदीय दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेको भन्दै गुरुङले भन्नुभयो, ‘यो अवस्थामा मल्टी पार्टी डेमोक्रेसीमा पार्टीकै नीतिअनुसार संसदीय दल चल्ने विधि विधान भएकोले त्यहीअनुसार संसदीय दलको बारेमा पार्टीले गरेको निर्णयको सन्दर्भमा संसद्को ध्यानाकर्षण हो’ नेता गुरुङले भन्नुभयो । 

नेकपा प्रचण्ड–नेपाल पक्षले शुक्रबार बिहानका लागि संसदीय दलको बैठक आह्वान गरेको नेतृ पम्फा भुसालले जानकारी दिनुभयो । सिंहदरबारमा बस्ने उक्त बैठकबाट औपचारिक रूपमा केही निर्णय गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

आवश्यक गृहकार्यपछि निर्वाचन आयोग जाने

नेकपा दाहाल–नेपाल समूह आवश्यक गृहकार्यपछि मात्रै निर्वाचन आयोग जाने भएको छ । पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको सम्बन्धमा बिहीबार पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग निर्वाचन कमिटीले छलफल गरेको र शुक्रबार पनि फेरि छलफल गरी निर्वाचन आयोगमा जाने÷नजाने भन्ने सम्बन्धमा निर्णय लिने नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दाहाल–नेपाल पक्षले पार्टीको आधिकारिताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेकोले अब फेरि आयोगमा जाने÷नजाने भन्ने विषयमा शुक्रबार बिहान हुने छलफलले तय गर्नेछ ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्रसमेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने ठहर गरेको थियो । यो समूहले गत माघ २० मा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर, आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।


Views: 41