18th April | 2021 | Sunday | 12:17:41 AM

कांग्रेस संसदीय दलको निष्कर्ष : ओली समूहसँग मिल्न नहुने अधिकांश सांसदहरूको धारणा

  POSTED ON : फाल्गुन २२, २०७७ (१०:२६ AM)

कांग्रेस संसदीय दलको निष्कर्ष : ओली समूहसँग मिल्न नहुने अधिकांश सांसदहरूको धारणा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका सम्बन्धमा उपयुक्त समयमा निर्णय लिने निष्कर्ष निकालेको छ । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद्मा नेकपाका सांसद्हरूको भूमिकापछि मात्र निर्णय लिने निष्कर्ष निकालेको हो । 

बैठकमा २९ जना सांसदहरूले धारणा राखेका थिए । सभापति शेरबहादुर देउवाले २३ गतेबाट सुरु हुने संसद् बैठकमा पार्टीको भूमिकाका बारेमा सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभएको थियो । 

‘आजको बैठकमा २९ जना सांसदले बोल्नुभयो । उहाँहरूको सुझावलाई संसदीय दलले गम्भीरतापूर्वक लिएको छ । उहाँहरूको सुझाव सल्लाहअनुसार नै पार्टीले उचित समयमा उचित निर्णय लिनेछ,’ बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो, ‘अबको परिस्थिति संसद् सुरु भएपछि राजीतिक दलका साथीहरूले खासगरी सत्ता पक्षका नेकपाका साथीहरू कसरी अघि बढ्नुहन्छ । त्यसमा निर्भर हुन्छ । हामी त्यसलाई गम्भीरतापूर्वक लिएर, उचित समय लिएर निर्णय लिन्छौं ।’ 

नेता खाँणले अहिले नै कांग्रेसले अविश्वासको प्रस्तावका बारेमा कुनै निर्णय नलिने बताउनुभयो । ‘यस विषयमा अहिले नै केही भएको छैन । हामी  संसद्लाई नियमित रूपमा सञ्चालन गर्न,  राजनीतिक निकास दिन, संसदीय अभ्यासलाई सुदृढ गर्न उचित निर्णय लिनेछौं,’ उहाँले भन्नुभयो । 

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले नेकपाको ओली समूहसँग मिल्न नहुने धारणा राखेका थिए । प्रधामन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेकाले त्यही पक्षसँग कांग्रेस मिल्न नहुनेमा उनीहरूको जोड थियो । 

यस्तै कांग्रेसले सर्वोच्च अदालतको फैसलाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई थप मजबुत बनाएको निष्कर्ष निकालेको छ । नेता खाँणले सर्वोच्चको फैसलालाई स्वागतयोग्य भएको निर्णय गरिएको बताउनुभयो । ‘सर्वोच्च अदालतको फैसलाले कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई थप मजबुत बनाएको र यो फैसला स्वागतयोग्य भएको निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो । 

प्रमुख सचेतक खाँणले फागुन २३ गते सुरु हुने पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकलाई नियमित सञ्चालन गराउन पहल गर्ने निर्णय पनि गरिएको जानकारी दिनुभयो । 

बैठकले कोरोना महामारीको अवस्था सहज भइसकेका कारण खुला हुन बाँकी रहेका सीमा नाकाहरू खुला गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । नाकाहरू बन्द रहँदा व्यापारीहरूले ठूलो नोक्सान व्यहोर्नु परेको र मुलुकको अर्थतन्त्रमा समस्या उत्पन्न भएका कारण नाका खुलाउन सरकारसँग माग गर्ने निर्णय गरिएको खाँणले बताउनुभयो ।


Views: 86