11th April | 2021 | Sunday | 7:13:10 PM

सर्वोच्चको फैसलाले थप जटिलताहरु निम्त्यायो – गगन थापा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २३, २०७७ (९:०१ PM)

 सर्वोच्चको फैसलाले थप जटिलताहरु निम्त्यायो –  गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको र सोको निरुपण नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “संसद भनेपछि राष्ट्रियसभा पनि हो । उपनिर्वाचन भईसकेको छ । उहाँहरु कुन पार्टीको हो ? कहाँ लगेर फर्काउने ? कुन विन्दुमा लगेर फर्काउने ? सम्मानित सर्वोच्च अदालतले अहिले गरिदिएको निर्णय पछि आउने जटिलताहरु धेरै छन् । यसको गाँठो हामीले पारेको पनि होइन । हामीले फुकाउने पनि होइन । हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ भित्र अब दुईवटा दलको अस्तित्व रह्यो । नेकपा माओवादी केन्द्र र नेकपा एमाले रहेको अवस्था रह्यो । प्रधानमन्त्री कुन धाराको हो र कुन दलको प्रधानमन्त्री हो ? सभामुख कुन दलको हो ?सभामुखको लैंगिक पहिचान पो छ त । तर कुन पार्टीको मान्ने ? सभामुखलाई गाई कि त्रिसुल गर्ने कि ?कता तिर लैजाने ? अदालतले माग्दै नमागेको कुरामा प्रवेश गरेपछि त जटिलताहरु पनि फर्कि फर्कि ढोका ढकढकाउदै फेरी अदालत नै जाने भो । यसले थप जटिलताहरु निम्त्याउने छ नै ।”

उहाँले संबैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा ल्याएमा बैठक चल्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानप्रतिको इमान्दारीता र प्रतिवद्धता नरहेकाले स्वीकार गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । पहिलो दिन नै संसद बैठक अवरुद्ध गर्ने चाहाना नहुदा नहुदै पनि सरकारको सर्वसत्तावादी चिन्तनको प्रतिवाद गर्नुपर्ने भएकाले अवरुद्धको अवस्था बनेको प्रतिक्रिया दिनुभयो । संविधान प्रतिकुल सरकारका कामकारवाहीको प्रतिवाद गर्नु प्रतिपक्षीको दायित्व भएको भन्दै उहाँले संविधानको प्रतिकुल हुने गरी सरकार अगाडि बढ्न नसक्ने टिप्पणी गर्नुभयो ।


Views: 90