11th April | 2021 | Sunday | 6:10:29 PM

प्रधानमन्त्रीको पार्टीको कुरा उठाउने बक्ता माननीय ज्यूको चाहिँ पार्टी कुन होला ? – मन्त्री ज्ञवाली

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २३, २०७७ (९:०९ PM)

 प्रधानमन्त्रीको पार्टीको कुरा उठाउने बक्ता माननीय ज्यूको चाहिँ पार्टी कुन होला ? – मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रतिनिधिसभा पुर्नस्थापना पछि संसद सहज ढंगले अघि नबढ्ने आफुहरुले गरेको आशंकालाई संसदमा देखिएको घटनाले पुष्टि गरेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “प्रतिनिधिसभा पुर्नस्थापनापछि संसद सहज र स्वस्थ्य ढंगले अघि बढ्न सक्दैन भन्ने जे आशंकाहरु थिए झण्डै झण्डै पुष्टि भएको छ । केही विषयमा केही माननीय ज्युहरुले संसदीय अभ्यास विपरित, संविधान विपरित सदनलाई अवरोध गर्ने काम गर्नुभयो । अध्यादेश संसद नभएको बेला हरेक सरकारले जारी गर्छन् । सरकार संयमित नै छ । संसदका गतिविधिहरु प्रक्रिया सम्मत र मर्यादित ढंगले अघि बढ्नुपर्छ । आज जे खालका प्रस्तुतीहरु भए ती शोभनिय थिएनन् । ”

प्रधानमन्त्रीको पार्टीको बारेमा कुरा उठेको विषयमा भने उहाँले बोल्ने व्यक्तिको बारेमा पनि उठ्ने भन्दै त्यस्ता विषय उत्तेजनाको विषय मात्रै भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “त्यसो गर्ने माननीयको खुद् पार्टी कुन रहेछ ? यदि प्रधानमन्त्रीको पार्टीको कुरा उठ्छ भनेदेखि बोल्ने बक्ता माननीय ज्यूको प्रश्न उठ्दैन ? त्यसकारणले यो त आवेग र उत्तेजनाको कुरा मात्रै हो ।

आज सर्वोच्च अदालतले गरेको फैसलाले कतिपयलाई असज लागेको होला । त्यो असहजता व्यक्त गर्ने कुरा भएन । हामीलाई पनि फागुन ११ गते सर्वोच्च अदालतले फैसला गर्दा एउटा सोचमा अगाडि बढीरहेको कोर्शमा असहजता त लागेको थियो होला । तर हामीले त शिरोधार्य गरेर अगाडि बढेका छौ । सरकार त शिरोधार्य गरेर अगाडि बढेको छ । सर्वोच्च अदालतको.फैसलालाई लिएर त्यो आवेग त्यो कुण्ठा यहाँ पोख्नु पर्ने त म कुनै जरुरी देख्दिनँ । जसरी अस्तीको फैसला मान्नु हामी सबैको दायित्व हो त्यसैगरी आजको फैसलालाई पनि मान्नु हामी सबैको दायित्व हो ।”

सर्वोच्चको फैसलाले २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुर्याएको भन्दै उहाँले अब नयाँ ढंगबाट एकीकरण अगाडि बढ्ने स्पष्ट पार्नुभयो । पार्टी एकीकरण पछिको अवस्थाले एकिकरणको तात्कालिन आधार सही नरहेको प्रमाणित गरेको भन्दै उहाँले बैज्ञानिक र वस्तुनिष्ठको आधारमा एकिकरण प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “अब २०७५ साल जेठ ३ गते भन्दा अगाडिको अवस्थामा पुग्यो । यसले दुई पार्टीको बीच एकताका लागि नयाँ आधार पनि खोलिदिएको छ । अब बैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा एकताको प्रक्रियालाई अगाडि बढाउँछौ ।”


Views: 80