17th April | 2021 | Saturday | 11:37:19 PM

सत्ताको घोडा चढेका ओलीलाई नहटाइ सरकारको निर्णय लिइन्न : धनराज गुरुङ

ध्रुर्बसागर शर्मा   POSTED ON : फाल्गुन २४, २०७७ (९:०० PM)

सत्ताको घोडा चढेका ओलीलाई नहटाइ सरकारको निर्णय लिइन्न : धनराज गुरुङ

म्याग्दी ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सत्ताको घोडा चढेर मैमत्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाएर मात्रै  कांग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको २३ आंै जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजिनामानै नदिएको अवस्थामा सरकारमा जाने नजाने भनेर निर्णय गर्नु हतार हुने बताएका हुन् ।

‘सत्ताको घोडामा चढेका ओलीलाई पहिले पदबाट हटाउनुपर्छ,’ उनले भने ‘संबिधानको घाटी निमोठेर जनमतको अपमान गरेको ओली सरकारलाई सत्तामा बसिरहने नैतिकता छैन् । काँग्रेसले सरकारमा जाने भन्दा पनि ओलीलाई पदबाट हटाउने बिषयमा सोच्नुपर्छ ।’

नेपालमा कम्युनिष्ट पार्टी सरकार सञ्चालन गर्न असफल भइसकेको बताउदै नेता गुरुङले काँग्रेसमा पनि नेतृत्वको अघि पछि गरेर चाकडीले सिमा नाध्न थालेका भन्दै असन्तुष्टि जनाए । प्रचण्ड र ओलीको बिवाद टुङ्गो नलागेसम्म कांग्रेसले निर्णय लिन हतार नगर्ने बताए ।

नाताबाद र चाकडीबादले काँग्रेसका असली नेता कार्यकर्ता अवसरबाट बञ्चित भएको भन्दै आगामी महाधिवेशनमा आफू पदाधीकारीमा उम्मेदवार बन्ने घोषणा पनि गरे । सरकारका कमजोरी र गलत क्रियाकलापलाई लिएर जनता माझ जान कार्यकर्तालाई निर्देशन दिदै नेता गुरुङले नेतृत्वको प्रवृत्ति र कार्यशैली परिवर्तन हुनुपर्ने उनको भनाइ थियो । 

अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्ने हिसाबले शिक्षामा आमुल परिवर्तन गर्नुपर्ने गुरुङको भनाई थियो । नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले समाज रुपान्तरणको अभियानमा शिक्षकहरुले अगुवाइ गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुबेदी, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष किशोरमणी लामिछानेले पठन क्रियाकलापलाई प्रबिधिमैत्री बनाउन शिक्षकको क्षमता बिकासमा जोड दिएका थिए ।

यसैगरी नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवत्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी बिक, महिला संघका सभापति बिमला गौचन, जिल्ला सदस्य केबी भण्डारी, सहसचिव भरतबहादुर रकाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।



Views: 61