11th April | 2021 | Sunday | 6:02:32 PM

मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, उनीहरू बिकाउ माल सावित भए : प्रचण्ड

हिमालय टाइम्स   POSTED ON : चैत्र २४, २०७७ (६:३० PM)

मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, उनीहरू बिकाउ माल सावित भए : प्रचण्ड

रुकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले रुकुमेली जनतासँग आत्मलोचना गर्न आएको बताउनु भएको छ । 

मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रमको सम्बोधनमा प्रचण्डले आफूलाई दुःखमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचना भएको बताउँदै भन्नुभयो, ‘म आत्मआलोचना गर्न आएको हुँ। मलाई दुःखमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्।  जाली, फटाहले भाउ पाएजस्तो भयो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी छाडेर गएका र पुनः फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको बताउँदै भन्नुभयो ‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ । मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्नेहरूलाई गृहमन्त्री बनाएँ । मैले गल्ती गरें । उनीहरू बिकाउ माल सावित भए,’ उहाँले भन्नुभयो ।

आफुले हिजो गल्ती गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब त्यस्तो गल्ती नगर्ने बताउँदै भन्नुभयो, ‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ। सहिद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे। अब म त्यस्तो गर्दिनँ। हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु,’ उहाँले भन्नुभयो ।

सिंहदरबारमा बस्ने प्रतिक्रान्तिहरूलाई खबरदार भन्न रूकुम पश्चिम आएको बताउँदै प्रचण्डले आफूलाई जनताको साथ रहेको भनाइ राख्नुभएको थियो ।


Views: 108