16th May | 2021 | Sunday | 2:18:09 AM

९९ प्रतिशत सरकार ढल्ने सम्भावना छैन – उर्जामन्त्री रायमाझी

श्याम घिमिरे   POSTED ON : चैत्र ३१, २०७७ (५:५३ PM)

९९ प्रतिशत सरकार ढल्ने सम्भावना छैन – उर्जामन्त्री रायमाझी

अर्घाखाँची । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले ओलीलाई हटाएर अर्को सरकार बनाउने कोशिस भईरहेपनि सरकार ढल्ने सम्भावना नरहेको बताउनु भएको छ । रायमाझीले ९९ प्रतिशत सरकार नढल्नेमा आफुहरु बिस्वस्त रहेको दाबि समेत गर्नुभयो । मंगलबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले सरकार ढाल्न नसक्ने भएपछि  माओवादी केन्द्रले समेत समर्थन फिर्ता नलिएको बताउनु भयो । रायमाझीले अब देश निर्वाचन तिर जाने सम्भावना रहेको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताउनु भयो  ।

 नेकपा एमालेका नेता समेत रहनुभएको मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नु ठिक भएको भन्दै ताजा जनादेशमा जाने कुरा कसरी अलोकतान्त्रीक  र निरंकुश भएको भन्दै प्रश्न समेत गर्नुभयो । रायमाझीले आफ्नो संसद पद खोस्नेहरुले जनताको जनादेशको अपमान गरेको बताउँदै देशलाई हरेक कुरामा निकास दिने पार्टी नेकपा एमाले र प्रधानमन्त्री केपी ओली मात्रै भएको दाबि पनि गर्नुभयो ।

यस्तै मन्त्री रायमाझीले पछिल्लो दशक अर्घाखाँचीमा बिकास निर्माणले फड्को मारेको भन्दै शिक्षा,स्वास्थ्य ,यातायात ,जलविद्युत ,खानेपानी र सिंचाइको क्षेत्रमा उल्लेख्यनिय सुधार भएको दाबी गर्नुभयो । रायमाझीले घरघरमा पिउने पानीको धारा पुर्याउने काम भैरहेको ,जिल्ला अस्पताललाई सुबिधा सम्पन्न अस्पताल बनाउन बजेट निकासा भएको  ,सालझण्डी ढोरपाटन ,तम्घास सन्धिखर्क,सन्धिखर्क प्युठान ,पाल्पा तानसेन,रिडी बल्कोट,गच्छेभालुवाङ  लगायतका मुख्य  सडकहरु पिच हुने  तयारीमा रहेको र राष्ट्रिय गौरबको आयोजना नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय स्थापना भई काम अगाडी बढ्न लागेकोले बिकास निर्माणले जिल्लामा फड्को मारी सकेको बताउनु भयो ।

रायमाझीले टोलटोलमा मोटर बाटो पुर्याएको, सयांै पुल निर्माण हुनलागेको ,अधिकाम्स सरकारी बिद्यालयमा नयाँ भवन बनाएको ,पाणिनि बहुमुखि क्याम्पसलाई सुबिधा सम्पन्न क्याम्पस बनाउने काम भईरहेको ,पर्यटन प्रबर्द्धनको निम्ति उल्लेखनिय बजेट छुट्याएको,युवा स्वरोजगार मार्फत युवाहरुलाई रोजगारी दिने तयारी गरेको ,व्यवसायीक पशुपालन र आधुनिक खेतीमा कृषकलाई आकर्षित गर्न प्रयाप्त अनुदानको व्यवस्था गरेको बताउदै आफुहरु समृद्ध जिल्ला निर्माणमा लागी परीरहेको बताउनु भयो ।  रायमाझीले बिकासको नमुना हेर्न अर्घाखाँची आउन आग्रह समेत गर्नुभयो ।

प्रेस चौतारी अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता,बसन्त श्रेष्ठको स्वागत मनतब्य र नबिन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का,एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्य, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


Views: 107