16th May | 2021 | Sunday | 3:06:47 AM

कांग्रेसको नेतृत्वमा नयाँ सरकार : डा. संग्रौला

ध्रुर्वसागर शर्मा   POSTED ON : बैशाख ४, २०७८ (५:२५ PM)

कांग्रेसको नेतृत्वमा नयाँ सरकार  : डा. संग्रौला

म्याग्दी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको बताउनु भएको छ ।

शनिवार नेपाल प्रेस युनियन म्याग्दीले बेनीमा गरेको पत्रकार सम्मेलनमा नेता संग्रौलाले संसद पुर्नस्थापना पछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा बस्ने नैतिकता नरहेको बताउँदै अविश्वासको प्रस्तावबाट ओली सरकार हटाएर नयाँ सरकार बनाउने तीन पाटीविच गृहकार्य भएको दाबी गर्नुभयो ।

सरकारले संघीयता कार्यान्वयन गर्न, शान्ति सुरक्षा सुशासन र नीति अनुसारको बजेट ल्याउन नसकेको आरोप समेत उहाँले लगाउनु भयो । प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले भष्ट्राचार संस्थागत गरेको छ, शिक्षा,स्वास्थ्य, खानेपानी अभावसंगै खाद्यान्नमा मुल्य बृद्धि गर्दै जनतालाई सास्ती दिएको उहाँको भनाइ थियो । बजेट अभावले गौरवका आयोजना अलपत्र भएको अवस्थामा सरकार बालुवाटारमा बसेर रिमोटबाट बजेटविहिन योजनाहरु उद्घाटनमा ब्यस्त बनेको उहाँले आरोप लगाउनु भयो ।

कोरोना भाइरसको महामारीको नियन्त्रण तथा खोप लगाउने कार्यक्रममा सरकार जिम्मेवार नबनेको उहाँले बताउनु भयो । भष्ट्रचारीलाई संरक्षण र नक्कली राष्ट्रबाद देखाउनमा सरकार ब्यस्त भएको बताउँदै नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट सुरु भएको र गण्डकी प्रदेशबाट केन्द्रिय सरकार परिवर्तन हुने ठोकुवा गर्नुभयो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताउनु भयोा । कांग्रेस १४ औं महाधिवेशनको तयारीमा रहेको जानकारी दिदै  लोकतान्त्रिक मूल्यमान्यता र संरक्षणमा प्रतिवद्ध रहेको पार्टी भएकाले नीति र एजेण्डामा केन्द्रित रहेर कांग्रेसको नयाँ नेतृत्व चयन हुने उहाँको भनाइ थियो ।


Views: 94