16th May | 2021 | Sunday | 3:20:15 AM

ओलीको नैतिकता : भैंसीको अगाडी बिन बजाए जस्तो – प्रचण्ड

हिमालय टाइम्स   POSTED ON : बैशाख ४, २०७८ (६:०९ PM)

ओलीको नैतिकता : भैंसीको अगाडी बिन बजाए जस्तो – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र संवैधानिक संस्कार नदेखाएको बताउनुभएको छ । 

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

पार्टी एकतालाई बलियो बनाएर समाजवाद निर्माणको दिशामा अगाडी बढीरहेको अवस्थामा षडयन्त्र भएको उल्लेख गर्दै दाहालले ओली पार्टी विभाजनतर्फ सुरुबाट नै लागेको बताउनुभयो । ‘केपीले पार्टी विभाजन गर्नतिर पहिल्यैदेखि लागेका थिए । हामीले नचाहँदा नचाहँदै अहिलेको अवस्थामा आयो’, उहाँले भन्नुभयो, ‘मेरो अध्यक्षतामा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि त्यो प्रभावकारी भयो । ९५ प्रतिशतले त्यसको नेता भेटियो भनेका थिए । ओली गुटको बाहेकले त्यसलाई स्वीकार गरेनन् र त्यहीबाट गुटबन्दीमा लागिरहे ।’ 

अदालतले राजनीतिक निर्णय गरेर पार्टी अलग गरेपनि आफुहरु पराजित नभएको दावी प्रचण्डको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई आफुहरुले प्रतिगमन नै भनेर परास्त गरेको उहाँले बताउनुभयो । 

उहाँले ओलीले राजनीतिक नैतिकता र परम्पारको समेत सम्मान नगरेको पनि बताउनुभयो । संसद पुनःस्थापनापछि ओलीले राजीनामा दिनुपर्ने भएपनि त्यसो नभएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘

थोरैपनि राजनीतिक नैतिकता परम्परा वा मूल्यमान्यता र त्यसमा मिश्रीत प्रवाधानलाई सम्मान गर्ने भएको भए एकछिन पनि प्रधानमन्त्री ओली प्रधानमन्त्रीका रुपमा रहनुपर्ने अवस्था हुँदैन थियो । मैले चितवनबाट त्यही दिन ओलीले राजीनामा दिनुपर्छ भनेको थिए । फेरी पनि बसिराख्ने नैतिक र संवैधानिक धरातल छैन भनेर भनेको थिए ।’

ओली लोकतन्त्र मिच्ने र सेटिङमा चल्ने भएकाले त्यस्तो नभएको उल्लेख गर्दै उहाँले अगाडी भन्नुभयो, ‘संविधान मिच्ने, कानून मिच्ने, लोकतन्त्र माथि हमला गर्ने र सेटिङमा चल्ने प्रवृतिमा गएको हुनाले नैतिकताको कुरा भैंसीको अगाडी बिन बजाउने भन्या जस्तो मुरली बजाए जस्तो ! केही अर्थ भएन् । तै पनि त्यो प्रवृतिमाथित हामी राजनीतिक र संवैधानिक दृष्टीले विजयी भएकै हो ।’ 


Views: 86