16th May | 2021 | Sunday | 1:14:07 AM

‘अर्ली इलेक्सन’ को बाटोमा प्रधानमन्त्री ओली, रणनीति बनाउँदै विपक्षी दल

चिन्तन क्षेत्री   POSTED ON : बैशाख २१, २०७८ (९:५८ AM)

‘अर्ली इलेक्सन’ को बाटोमा प्रधानमन्त्री ओली, रणनीति बनाउँदै विपक्षी दल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने कदम फेल भएपछि अर्को चाल चाल्नुभएको छ । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक करार गरी पुनर्जीवन दिए पनि नैतिकताका आधारमा राजीनामा नदिनुभएका प्रधानमन्त्री ओली फेरि सोही बाटोमा अगाडि बढ्नुभएको हो । माओवादी केन्द्रसँग सम्बन्ध विच्छेद भएपछि विश्वासको मत लिनुपर्ने आवाज उठे पनि टसको मस नहुनुभएका प्रधानमन्त्री ओली आफैंले विश्वासको मत लिन संसदको विशेष अधिवेशन आहृवान गर्नुलाई ओलीले ‘अर्ली इलेक्सन’ मा जान चाल चालेको विश्लेषण गर्न थालिएको छ ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन निरन्तर छलफलमा रहेका विपक्षी दलहरू अब कस्तो रणनीतिका साथ अगाडि बढ्छन् त्यो चासोको विषय बनेको छ । प्रधानमन्त्रीलाई पार्टीको समर्थन नरहेको बताउने माआवादी केन्द्र कांग्रेस र जनता समावादी पार्टीसँग निरन्तर छलफलमा छ । तर माओवादीको कदमलाई सिंगो कांग्रेस र जसपाले साथ नदिँदा ओलीको विकल्प खोज्ने कदम सफल हुन सकेन् ।
 
अब माओवादीको रणनीति के ?
सर्वोच्च अदालतले एकता भंग गरेपनि पुरानै अवस्थामा फर्किएको माओवादीले सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताए पनि कानुनी रूपमा समर्थन कायमै छ । प्रधानमन्त्री ओली आफै विश्वासको मत लिन अग्रसर भए पनि माओवादीको रणनीति त्यसलाई ‘फेल गराउने’ रहेको छ । माओवादी केन्द्र नेता गणेश साह जुनसुकै अवस्थामा पनि प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुने वातावरण बन्न नदिनेतर्फ सबै दल एकजुट हुनुपर्ने बताउनुहुन्छ । ओलीले देशमा एकतन्त्रीय शासन चलाउन खोजेको उल्लेख गर्दै उहाँले देशमा लकडाउन जारी रहेका बेला संसद अधिवेशन आहृवान हुनु आफैंमा लज्जास्पद भएको बताउनुभयो । विश्वासको मत फेल गर्ने र ओलीको गैरसंवैधानिक कदम र परिपाटीलाई अन्त्य गर्न अग्रसर हुनु नै आफ्नो रणनीति हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गैरसंवैधानिक परिपाटीलाई अन्त्य गर्न विश्वासको मत फेल गर्नेतर्फ सबै दलहरु जुट्नुपर्छ । हिजो विश्वासको मत लिनु पर्दैन भनेर संसद अन्त्य गर्ने अहिले फेरि विशेष अधिवेशन बोलाएर मत ल्याउछु भन्ने ओलीको यो कदम एकतन्त्रीय शासन सञ्चालन गर्नेतर्फ उन्मुख भइरहेका छ । यो कदम सबै मिलेर फेल गराउनुपर्छ ।’
विश्वासको मत ओलीले प्राप्त नगरे पनि पुनः ठूलो दलको नेताको हैसियतले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्ने भएकाले राजनीतिक दलहरूको बीचमा सहमति गराएर अविश्वासको प्रस्ताव संसदमा लैजानुपर्ने उहाँले बताउनुभयो ।
अविश्वासको प्रस्ताव ल्याउने मौका हिजो पनि थियो नि ? भन्ने प्रश्नमा उहाँले नेपाली कांग्रेसको नेतृत्वले अनिच्छा देखाउँदा सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस अगाडि नबढी हुँदैन । हिजो कांग्रेसले साथ दिएन । कांग्रेसले धेरै सुनिश्चितता खोज्यो । त्यसभित्र ओली र देउवाबीच साँठागाँठ छ । त्यसैले सम्भव नभएको हो ।’
ओली र देउवाको चाहना नै ‘अर्ली इलेक्सन’ भएकाले उहाँहरूबीच कुराकानी मिल्ने गरेको र त्यसकै परिणाममा राजनीतिक भागवण्डामा नियुक्तिहरू हुनेगरेको उहाँले बताउनुभयो ।

कांग्रेस के चाहन्छ ?
नेपाली कांग्रेसका कारण ओलीको विकल्प खोज्न प्रयास सफल नभएको माओवादीले बताउने गरेपनि कांग्रेसले भने यसको दोष माओवादी र जसपालाई लगाउँदै आएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता नलिले जसपाले पनि निर्णय नगर्दा प्रस्ताव अगाडि बढाउन नसकिएको कांग्रेसका एक नेता बताउँछन् ।
कांग्रेसभित्रै ‘अर्ली इलेक्सन’ र ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला नेता भीमसेनदास प्रधान भने अहिले सरकार ढाल्ने र बनाउने खेलमा भन्दा सबै दलहरू कोभिडविरुद्धको लडाईमा एक हुनुपर्ने बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न अग्रसरता देखाउनुपर्नेमा त्यसो हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले महामारीको बीचमा चाहिनेभन्दा बढी राजनीतिक गर्न खोज्नुभएको छ । आइतबार देशवासीका नाममा सम्बोधन गर्नुभन्दा पहिले सबै दलका नेताहरूलाई बोलाउनुपर्ने थियो । त्यो हुन सकेन । देश अहिले संकटमा हामी कसरी अगाडि बढौं भन्नुपर्ने थियो त्यो हुन सकेन ।’
प्रधानमन्त्री स्वयं सत्ताका खेलमा लागेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्रीले चाहना राखेमा कोरोना संकट समाधानका लागि सबै दल एकठाउँमा उभिएर अगाडि बढ्ने बाटो खुल्ने बाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले सबै दलका नेताहरूलाई बोलाएर हामीले के गर्ने यी सबै सरकार गिराउने र बचाउने कुरा थाँती राखौं भनेर आहृवान गर्नुपर्ने थियो । तर उहाँ आफ्नो रफ्तारमा हिँड्नुभएको छ ।’
नेता प्रधानले ओलीलाई देश र जनताको चिन्ताभन्दा आफ्ना विरोधीलाई कसरी तह लगाउने भन्ने चिन्ता बढी रहेको बताउनुभयो । ‘आफ्ना विरोधीलाई तह लगाएर सत्तामा कसरी टिकिरहने भन्ने उहाँको रणनीति हो ।’, उहाँले भन्नुभयो, ‘हिजो अविश्वासको प्रस्ताव आउने संकेत पाएपछि हतारमा संसद अन्त्य गर्नुभयो । फेरि अहिले अर्को संकट निम्त्याउन विश्वासको मत लिनेतर्फ लाग्दैहुनुहुन्छ । उहाँको भित्रि आशय भनेको ५ वर्ष आफंै सरकारमा बस्नुपर्छ भन्ने नै हो ।’ नेता प्रधानले प्रधानमन्त्री ओलीले आफ्नै रवैया सच्याएर देशको अभिभाकत्व ग्रहण गर्न सुझा दिनुभयो ।

देश फेरि अर्ली इलेक्सनको बाटोमा !
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताए पनि मत प्राप्त नहुँदा अर्को कुनै दलबाट सरकार बन्न सक्ने अवस्था तत्काल छैन । ओलीले विश्वासको मत नपाए पनि विपक्षी दलहरूसँग नयाँ सरकार बनाउन बहुमत नहुने अवस्थामा ओली नै प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।
संविधानविद् डा.दिनेश त्रिपाठी संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दल एमाले भएकाले दलको नेता नै प्रधानमन्त्री नियुक्त हुने बताउनुहुन्छ । पुनः प्रधानमन्त्री नियुक्त भए पनि ३० दिनभित्र विश्वासका मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सो समयमा पनि मत लिन नसकेको अवस्थामा नयाँ सरकार बन्न सक्ने अवस्थाको अन्त्य हुनेछ । संसदको खेल अन्तिममा गएर संविधानको धारा १७६(७) मा पुगेपछि ओलीले संसदल विघटना गराएर चुनावको घोषणा गर्ने बाटो खुला हुनेछ । उहाँले धारा ७६ (७) को वैधानिक प्रावधान टेकेर ओलीले प्रतिनिधिसधा विघटन गरी नयाँ चुनावको घोषणा गर्नुहुनेछ ।
संविधानविद् त्रिपाठी यसलाई ओलीको जानीबुझी चालिएको चालको संज्ञा दिनुहुन्छ । नीति तथा कार्यक्रम र बजेट फेल हुनसक्ने अवस्थामा सरकारलाई ठूलो नैतिक संकट पर्ने भएकाले ओलीले यो कदम चालेको उहाँले बताउनुभयो ।

संसदको गणित र नेता नेपालको संकट

अहिले संसदमा रहेको सबैभन्दा ठूलो दल एमाले विभाजनको दिशातर्फ उन्मुख भएको छ । एमालेमा माधवकुमार नेपाल पक्ष ओलीसँग मिलेर अगाडि बढ्न सक्ने अवस्थामा छैन । यद्यपि यसको छिनोफानो २७ गते हुनेछ । नेपाल समूहले विश्वासको मत नदिए पार्टी औपचारिक रूपमा विभाजन हुनेछ । मत दिएमा एमालेमा एकताको सन्देश जानेछ । तर नेपाल आफू हारेर ओलीलाई विश्वासको मत दिँदै प्रधानमन्त्रीमा टिकाइरहन भने चाहन्न । यद्यपि नेपाल पक्षमा रहेका केही सांसदहरू भने मत नदिएर पार्टीलाई विभाजनको औपचारिकता दिन नहुने पक्षमा छन् ।
अहिले संसदमा मौजुदा संख्या २ सय ६६ छ । २७५ सदस्यीय प्रतिनिधिसभा सदस्य भए पनि सभामुख र निलम्बित सांसदले मत दिन नपाउने व्यवस्था छ । कांग्रेसका विजय गच्छदार र अफताब आलम, जसपाका रेशम चौधरी र पप्पु रौनियार निलम्बनमा हुनुहुन्छ । माओवादी केन्द्रका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएपछिको अंक गणितमा एमाले एक्लै १२१ सिट छ । कांग्रेस ६१, माओवादी केन्द्र ४९, जसपा ३२ र साना दलको तीन सिट छ । एमालेले एकजुट भएर मत दिए जसपाको ठाकुर पक्षमात्र होइन राप्रपा र नेपाल मजदुर किसान पार्टीका एक÷एक मत पनि ओलीले पाउनसक्ने सम्भावना रहेको छ ।


Views: 71