15th June | 2021 | Tuesday | 9:10:26 AM

एमाले ओली र नेपाल पक्षीय नेताहरुबीच सिंहदरबारमा छलफल

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७८ (७:०५ PM)

एमाले ओली र नेपाल पक्षीय नेताहरुबीच सिंहदरबारमा छलफल

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुको छलफल सिंहदरवारमा शुरु भएको छ ।

 पार्टीको आन्तरिक विवादका विषयमा छलफल गरी समाधानको प्रयास स्वरुप बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विहीबार बुढानिलकण्ठमा भएको एक्ला एक्लै बार्तामा भएका छलफलको विषय र समाधान गर्नुपर्ने विवादका विषयमा छलफल हुने नेता नेम्वाङले जानकारी दिनुभयो । 

वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त र अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल पनि छलफलमा सहभागी हुनुभएको छ । 

वरिष्ठ नेता नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय खारेज हुनुपर्ने माग राख्दै आउनुभएको छ । अध्यक्ष र नेता नेपालबीच पनि सोही विषयमा केन्द्रित भएर विहिबार छलफल भएको थियो ।

सामुहिकरुपमा राजिनामा दिने तयारी गर्नुभएका नेपाल पक्षका नेताहरुले अध्यक्ष ओलीले माग सम्बोधन गर्ने बताउनुभएपछि सामुहिक राजीनामा रोकिएको नेता नेपालले प्रतिक्रिया दिनुभएको थियो ।


Views: 59