21st June | 2021 | Monday | 11:47:40 AM

जसपा विवादमा पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता

हिमालय टाइम्स   POSTED ON : जेठ २, २०७८ (१:४९ PM)

जसपा विवादमा पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त हुनुभएको जसपाका चारजनाको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेको आधारमा पदमुक्त हुनुभएको कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले सर्वोच्चमा रिट दर्ता गराउनु भएको हो । 

अदालतले बन्दी प्रत्यक्षीकरण बाहेकका रिट लिने भएपछि आइतबार आफूहरुले रिट दर्ता गरेको पदमुक्त सांसद कल्पना पाण्डेले बताउनु भयो । 

विपक्षीको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएर एमालेका शंकर पोखरेलको सरकारमा सहभागी भएपछि जसपाका उपेन्द्र यादव पक्षले चार जनालाई कारबाही गरेको पत्र प्रदेश सभामा दर्ता गरेको थियो । 

पत्र दर्ता भएको खबर पाएलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई उहाँहरूमाथि पार्टीले कारबाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिनु भएको थियो ।

यद्यपि प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यादव पक्षको कारबाहीलाई आधार मानेर वैशाख १६ गते उहाँहरुलाई पदमुक्त गर्नुभएको थियो ।

 पदमुक्त हुनु भएको उहाँहरु चारैजना अहिले प्रदेशको मन्त्री हुनुहुन्छ ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या,मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।


Views: 73