आज पुष्पलालको ४३ औं स्मृति दिवस मनाइँदै

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (५:५९ AM)

आज पुष्पलालको ४३ औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई आज उहाँको ४३औं स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गरी सम्झना गरिँदै छ । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गर्नुभएको थियो । पुष्पलालले नेकपाको स्थापना कोलकाताको श्यामबजारमा नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा गर्नुभएको थियो । उहाँले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेर पञ्चायती निरंकुशताविरुद्ध लड्नुपर्ने पुष्पलालकै विचारबाट नेपालको राजनीतिक परिवर्तन अघि बढेको राजनीतिक विज्ञहरू बताउछन् ।

पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र प्रचारमा ल्याउनुभयो । यो नै नेपाली भाषाको पहिलो कम्युनिष्ट लेख बन्यो । पुष्पलाल श्रेष्ठले र नेतृ साहना प्रधानसँग विवाह गर्नुभयो । विसं २०१५ सालमा भएको आम निर्वाचनका क्रममा पुष्पलाल श्रेष्ठ देशका विभिन्न भागमा पुग्नुभएको थियो । कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुष्पलाल २०१६ सालमा तत्कालीन सोभियत संघसमेत जानु भयएको थियो भने त्यसैक्रममा उहाँले चीनको समेत भ्रमण गर्नुभएको थियो । पुष्पलाल राणाविरोधी आन्दोलनका अगुवा शहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ ।


Views: 69

Top