बिपीको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (६:१३ AM)

बिपीको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी)को ३९ औं स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाइएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल रूपमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बिपी कोइराला ‘बहुमुखी नेता’ भएको भन्दै उहाँबाट धेरै पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले बीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै बिपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने बताउनुभयो । 

कार्यक्रममा सहभागी अन्य नेताहरूले बिपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको धारणा राख्नुभएको थियो । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानित नेता हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उहाँ २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित बिपी संग्रहालयमा विशेष कार्यक्रम गरी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरूले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो । 

त्यसैगरी, सुशील कोइराला मेमोरियल फाउण्डेसनले बिपी स्मृति दिवसकै अवसरमा वेभिनारमा प्राध्यापक डाक्टर जयराज आचार्यले कोइरालाको व्यक्तित्वको चर्चा गर्दै तत्कालिन समयमा अलइण्डिया रेडियोले उहाँको निधनबारे प्रशारण गरेको समाचार जस्ताको त्यस्तै वाचन गरेर सुनाउनुभएको थियो । आचार्य तात्कालीन समयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो । यस्तै, उहाँको स्मृतिमा देशैभर नेपाली कांग्रेस र भ्रातृसंगठनले विविध कार्यक्रम गरी उहाँको योगदानको स्मरण गरेका छन् । 

३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सूत्रपात गर्नुभएका बिपी २००७ सालको क्रान्तिका शीर्ष नेता हुनुहुन्थ्यो । जुन क्रान्तिको बेलामा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । जननिर्वाचित सरकारले १८ महिना काम गर्न पाउँदा नपाउँदै २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् भंग गरेपछि बिपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताउनुप¥यो ।

रिहा भएपछि मुलुकभित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उहाँ भारत प्रवास जानुभयो र त्यहीँबाट पञ्चायतविरुद्ध, सशस्त्र शान्ति चलाउनुभयो । आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत ठानेर वीपी २०३३ साल पुष १६ गते राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किनुभएको थियो । उहाँको निधन भएको चार दशक पुग्नै लाग्दा उहाँले प्रतिपादन गरेको मेलमिलापको नीति अहिले पनि त्यतिकै सान्दर्भिक छ । 


Views: 75

Top