उपेन्द्र समूहले पायो जसपाको आधिकारिकता

५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ पक्षमा १६ जना मात्र

चिन्तन क्षेत्री   POSTED ON : श्रावण १२, २०७८ (५:३८ AM)

उपेन्द्र समूहले पायो जसपाको आधिकारिकता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य यादवको पक्षमा भएकाले आधिकारिकता दिइएको आयोगले जनाएको छ । 

पार्टी एकताको एक वर्ष नबित्दै आन्तरिक विवादमा फसेको जसपाका दुवै पक्षलाई आयोगले सोमबार सनाखतका लागि बोलाएको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि रातारात पार्टी एकीकरण भए पनि एकता लामो समय टिक्न सकेन । सोमबार यादव पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्यहरूले सनाखत गरेका थिए । कुल ५१ जना सदस्य कार्यकारिणी रहेको पार्टीमा महन्थ ठाकुरको पक्षमा १६ जनाले मात्रै सनाखत गरे । रेशम चौधरी भने तटस्थ बस्नुभएको थियो । टीकापुर घटनामा दोषी ठहर भए पनि अहिले डिल्लीबजार कारागारमा रहनुभएका चौधरीलाई हेड काउण्टमा सहभागी गराउन निर्वाचन आयोग पु¥याइएको थियो । कडा सुरक्षाबीच निर्वाचन आयोग पुग्नुभएका चौधरीले दुवै पक्षका नेताहरूसँग छलफल गरे पनि कुनै पक्षमा पनि समर्थन जनाउनुभएन । लामो समय ठाकुर पक्षमा रहेका केही नेताहरूले पनि यादवलाई साथ दिनुभएको छ । 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइ गरेको थियो । आधिकारिकता पाएसँगै अब जसपाको चुनाव चिन्ह, नाम, झण्डा यादव पक्षले पाउने निश्चित भएको छ । 

पछिल्लो समय ओलीले संसद् विघटन गरेपछि दुवै पक्षबीच विवाद बढ्दै गएको थियो । ओलीले पहिलो पटक संसद् विघटन गर्दा जसपाका दुवै पक्ष आन्दोलनमा होमिएका थिए । तर, ओलीले संसद्मा विश्वासको मत लिने समयमा भने दुवै पक्षले छुट्टाछुट्टै मतदान गरेका थिए । यादव पक्षले ओलीको विपक्षमा मतदान गरेको थियो । ठाकुर पक्ष भने तटस्थ बसेको थियो । यद्यपि, पछि ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भयो । ओलीले विश्वासको मत नपाएपछि दोस्रो पटक संसद् विघटन गरेपछि ठाकुर पक्ष ओली र यादव पक्ष विपक्षी गठबन्धनमा सहभागी भएको थियो । 

सर्वोच्च अदालतले दोस्रो पटक भएको संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवाले प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिने समयमा भने दुवै पक्ष एक ठाउँमा उभिएका थिए । ओलीले दोस्रो पटक संसद् विघटन गर्दा ओलीसँगै रहेका ठाकुर पक्षका सांसदहरूले देउवालाई विश्वासको मत दिएका थिए । दुवै पक्षले विश्वासको मत दिएकाले पार्टीको विवाद समाधान हुने अनुमान गरिए पनि आयोगले विवाद समाधानका लागि कानुनी प्रक्रिया अगाडि बढाएका कारण नेताहरूबीच कुनै संवाद हुन सकेन । आफ्नो पक्षमा बहुमत पुग्न नसक्ने पक्का भएपछि ठाकुर सर्वोच्च अदालत पुग्नुभएको थियो । आयोग निर्णय रोक्न माग गर्दै अदालत पुगे पनि अदालतले ‘रेड सिग्नल’ दिएको थियो । 

निर्वाचन आयोगले पार्टी फुटाउँदैमा फुट्दैन : महतो

जनता सामाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाइदिएको आरोप लगाउनुभएको छ । आधिकारिकता विवादमा सनाखतका लागि सोमबार निर्वाचन आयोग पुग्नुभएका उहाँले अब जनताको मतबाट पार्टी बनाउने बताउनुभयो ।

‘निर्वाचन आयोगले पार्टी फुटाउँदैमा फुट्दैन । यो ५१ जनाको मात्रै पार्टी होइन । अब हामी जनताको माझमा जान्छौं । जनता हाम्रो साथमा छन्,’ नेता महतोले भन्नुभयो । उहाँले पार्टी विभाजनले कुनै असर नपार्ने बताउनुभएको छ । प्राविधिक कारणले आफूहरू अल्पमतमा परे पनि केही समयपछि बहुमत पुग्ने दाबी उहाँको छ । 

नेता महतोले आफूहरूका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा दुवै समान भएको बताउनुभयो । ‘हाम्रा लागि उनीहरू दुवै प्रतिगमनकारी नै हुन् । केपी ओलीलाई पनि मद्धत गरेका थियौं, देउवालाई पनि,’ उहाँले भन्नुभयो, ‘तत्कालीन समाजवादी पार्टी फुट्ने बेलामा हामीले पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्धत गरेका थियौं ।’

निर्णय कानुनबमोजिम भएन : कर्ण

आयोगले यादवको पक्षमा फैसला सुनाएपछि ठाकुर पक्षले भने निर्णय कानुनसम्मत नभएको बताएको छ । पार्टीको विवाद समाधानका लागि आयोगले अपनाएको प्रक्रिया नै गलत भएकोले फेरि कानुनी लडाइँ लड्ने नेता लक्ष्मणलाल कर्णले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आयोगले आधिकारिकताका लागि गरेको प्रक्रियाबाट नै हाम्रो असन्तुष्टि छ । त्यो कारणले हामी सवोच्चमा पनि गएका थियौँ । १५ गते दुवै पक्षलाई बोलाएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को (१) ४३ को (ग) सम्पूर्ण प्रक्रिया कानुनबमोजिम नअपनाएको भएकाले हाम्रो असन्तुष्टि हो ।’

मंगलबारबाट आगामी रणनीतिका विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो । आयोगको फैसलाविरुद्ध कानुनअनुसार अगाडि बढ्ने तर न्याय नभएको खण्डमा अर्को पार्टी दर्ताको प्रक्रिया अगाडि बढाउने पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अझ हुन सक्छ भने हामीहरू निरन्तर छलफलमा रहेका छौँ । फैसलाविरुद्ध हामी कानुनअनुसार अगाडि जान्छौँ । न्याय पाइएन भने अर्को पार्टी खोल्ने कुरा त छँदैछ । हामी मंगलबारबाट निरन्तर छलफलमा रहेका छौँ ।’

पार्टीको निर्णय माने सांसदहरूलाई कारबाही हुँदैन : यादव पक्ष

यादव पक्षले आधिकारिकता पाएपछि अहिले ठाकुर पक्षमा रहेका सांसदहरूलाई समस्या देखिएको छ । पार्टीको आधिकारिकता पाएपछि आफ्नो पक्षमा नरहने सांसदहरूलाई कारबाही गरिए उनीहरूको पद जानेछ । तर, यादव पक्षले भने पार्टीको निर्णयअनुसार अगाडि बढ्ने प्रतिबद्धताअनुसार आएमा कसैलाई पनि कारबाही नहुने बताएको छ । 

यादव पक्षका नेता महेन्द्र राय यादवले आफूहरूले दिएको निवेदनअनुसार आयोगले कानुन र विधिसम्मत फैसला दिएको उल्लेख गर्नुहुँदै पार्टीमा रहने सांसदहरूलाई कारबाही नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले आधिकारिकताका लागि निवेदन दिएका थियौँ । आयोगले कानुन र विधिसम्मत फैसला गरेको छ । हामीले आधिकारिकता पायौँ । हाम्रो पार्टी जसपा अब ३४ जनाको कार्यकारिणी सदस्य रहने भनेर फैसला आएको छ ।’

फैसलामा चित्त नबुझे अदालत जाने सुविधा भएकाले ठाकुर पक्षको अभिव्यक्तिप्रति कुनै टिप्पणी नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फैसलामा चित्त बुझेन हामी उहाँहरू आफ्नो जानसक्नु हुन्छ । उहाँहरूको अधिकारको कुरा हो त्यसमा हामीले केही भन्न मिल्दैन ।’

अहिले पार्टीमा ३२ जना सांसदहरू रहेको उल्लेख गर्नुहुँदै उहाँले पार्टीको विधि, नियम मान्नुभएको अवस्थामा पार्टीमा सबैलाई स्वागत हुने तर पार्टीमा नै नरहनेहरूलाई कारबाही गरिने उहाँले बताउनुभयो । 

मंगलबार कार्यकारिणी समिति र संसदीय दलको बैठक

आधिकारिकता पाएसँगै अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक बोलाउनुभएको छ । कार्यकारिणी समितिको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । 

कार्यकारिणी समितिको बैठकमा संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको छ । सँगै अब पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । 

नेता यादवका अनुसार विधान पारित भएपछि संसदीय दलको बैठक पनि बोलाइएको छ । बैठकले संसदीय दलको नेता चुन्न सक्ने उहाँले बताउनुभयो । दल एक भए पनि अहिलेसम्म जसपाले दलको नेता चुन्न सकेको थिएन । विवाद सिर्जना भएपछि ठाकुर पक्षले राजेन्द्र महतोलाई दलको नेता बनाएको थियो । मंगलबार दलको नेता चुनिएसँगै जसपाले सरकारमा सहभागी हुने विषयमा निर्णयसमेत गर्न सक्ने बताइएको छ । 


Top