एकताका लागि प्रयास जारी रहन्छ : नेपाल पक्ष

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (५:४७ AM)

एकताका लागि प्रयास जारी रहन्छ : नेपाल पक्ष

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताका लागि अझै प्रयास जारी राख्ने बताएको छ । आइतबार र सोमबार गरी दुई दिन बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले पार्टी एकताका लागि अझै प्रयास जारी राख्ने निष्कर्ष निकालेको हो । 

अहिले पार्टी एकताका लागि भइरहेका प्रयासहरूले सकारात्मक परिणाम ल्याउन सक्ने विश्वाससहित नेपाल समूह यस्तो निष्कर्षमा पुगेको हो । पार्टी विवाद समाधानका लागि भइरहेका सकारात्मक प्रयासहरूलाई टुंगोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिइएको नेता रघुजी पन्तले बताउनुभयो । 

बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ । उहाँले भन्नुभयो, ‘सबैै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन् । तर, दुवै पक्षका शीर्ष नेताहरूले पार्टीको एकताका लागि भएका प्रयासहरूलाई बिथोलिने गरी अभिव्यक्ति दिनुभएन ।’

एमालेका कार्यकर्ताहरूको चाहना पार्टी एक हुनुपर्छ भन्ने नै रहेको उल्लेख गर्नुहुँदै उहाँले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको बताउनुभयो । बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरूलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिनुभयो । पार्टीलाई एकताबद्ध बनाउँदैै देशव्यापी रूपमा सशक्त ढंगले अघि बढ्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो । बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनःस्थापनासँगै यसको प्रभावकारी काम कारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरूले छलफल गरेका थिए ।

नेकपा एमाले विभाजन हुँदैन : रघुवीर महासेठ

यता, नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताउनुभएको छ । राजधानीमा आयोजित साक्षत्कारमा बोल्नुहुँदै उहाँले अहिलेको अवस्थामा एमालेको विभाजन रोक्नु नै मुख्य कुरा भएको बताउनुभयो । 

नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरूले नेताहरूलाई चौतर्फी पार्टी जोगाउन दबाब दिइरहेको बताउँदै नेता महासेठले यसलाई आत्मसाथ गरेर शीर्ष नेताहरू छलफलमा जुटिरहेको बताउनुभयो । उहाँले अहिलेको सरकार फरक-फरक विचारधारा बोकेर आएको गठबन्धन भएकाले लामो समयसम्म टिकिरहन नसक्ने बताउनुभयो ।

नेता महासेठले सर्वोच्च अदालतको फैसलामा नेकपा एमाले र आफ्नो व्यक्तिगत कुनै टिप्पणी नरहेको बताउनुभयो । आफूले सर्वोच्चको निर्णयलाई आत्मसाथ गरेको तर नेपाली जनताले हरेक शब्द–शब्दमा न्यायाधीशहरूले प्रयोग गर्नुभएको भाषा र निर्णय आफैँले लेख्नुभएको हो वा अरू ठाउँबाट लेखेर ल्याइएको हो भन्ने प्रश्न उठाइरहेको समेत बताउनुभएको छ । नेता महासेठले प्रमुख प्रतिपक्षमा रहँदा सरकारले गल्ती गरे पहिला सम्झाउने र नमाने सदनदेखि जनताको बीचसम्म पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले र व्यक्तिगत रूपमा मेरो पनि, सर्वोच्च अदालतको निर्णयप्रति कुनै कमेन्ट छैन, हामीले आत्मसाथ गरिसकेका छौँ, तर नेपाली जनताले सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूले प्रत्येक वाक्वाक्मा बोलेको राजनीतिक भाषा र निर्णय उहाँहरूकै हो कि, अरू ठाउँबाट लेखेर ल्याइयो ? यो प्रश्न नेपाली जनताको बीचमा छ, त्यसैले सरकारलाई हामी पहिला सम्झाउँछाँै, नमाने हामी सदनदेखि जनताको बीचसम्म पुग्छाँै ।’ पार्टी एकताको लागि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा रहेको नेता महासेठको भनाइ छ । 


Top