आज कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने तयारी

नारायण भण्डारी   POSTED ON : श्रावण १२, २०७८ (५:५३ AM)

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ । आज बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाउनुभएको हो । नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले मंगलबार बिहान नौ बजे पदाधिकारी बैठकको सूचना आएको जानकारी दिनुभयो । ‘बिहान ९ बजेका लागि पदाधिकारी बैठकको सूचना आएको छ,’ अधिकारीले भन्नुभयोे, ‘त्यहीँ क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने कार्यक्रम पनि छ ।’

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले शनिबार बसेको पदाधिकारी बैठकमा नै मंगलबारका लागि छानबिन प्रतिवेदन बुझाउने समय माग्नुभएको थियो । सदस्यता विवादबारे आजकै पदाधिकारी बैठकबाट निर्णय लिने तयारी देउवाको छ । स्रोतका अनुसार बैठकबाट अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने तयारी छ । महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन र क्रियाशील सदस्यता फाइनलबारे बैठकमा छलफल गरी निर्णय लिने तयारी छ । 

स्रोतका अनुसार साउन २२ गतेदेखि कार्यतालिका सुरु हुने गरी निर्णय गरिनेछ । वडा तहको अधिवेशन सुरु भएको ३५ दिनमा केन्द्रीय महाधिवेशन गनुपर्नेमा त्यसलाई बढाएर ५६ दिन पु¥याउने विषयमा पनि छलफल भएको बताइएको छ । जसका कारण कांग्रेस महाधिवेशन फेरि अनिश्चित बनेको हो । शनिबारको पदाधिकारी बैठकले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित गरेको थियो ।

कांग्रेस महाधिवेशनका लागि लामो समयदेखि पार्टी क्रियाशील सदस्यताका विषयमा विवाद देखा परेपछि केन्द्रीय महाधिवेशनमा समेत ढिलाइ भएको छ । क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले पटक–पटक तोकिएकै समयमा जसरी पनि महाधिवेशन हुनैपर्ने र हुने ठोकुवा गर्दै आउनुभएको छ । तर, समय घर्किसकेपछि काम थाल्ने कांग्रेसको प्रवृत्तिले यो पटक पनि समयमा महाधिवेशन हुनेमा आशंका देखिन थालेको छ । २०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवाको कार्यकाल २०७६ फागुन २४ गते नै सकिएको थियो । कांग्रेसको विधानको धारा ४३ अनुसार २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेकोमा यो अवधिमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन । पुस ११, २०७६ मा पार्टीको विधानको असाधारण परिस्थितिको धारा ४३ प्रयोग गरी वर्ष दिन म्याद थपिएको थियो । त्यसपछि पनि म्याद सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो । ६ महिनाको म्याद पनि भदौमा सकिँदैछ । भदौ १६ मा कांग्रेसले महाधिवेशन गर्न नसके पार्टीको संवैधानिक अस्तित्व समाप्त हुने संविधानविद्हरूले बताउँदै आएका छन् । 


Top