ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

हिमालय टाइम्स   POSTED ON : श्रावण २२, २०७८ (५:५५ AM)

ठाकुर पक्षलाई पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालत पुग्नुभएका महन्थ ठाकुरलगायतका नेताहरूलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले यादव पक्षलाई बहुमतका आधारमा आधिकारिकता दिएपछि अहिले ठाकुर पक्ष अदालत पुगेको छ । 

अदालतले १५ दिने कारण देखाउ आदेश जारी गरिसकेको छ । गठबन्धन सरकारमा जाने तयारी गर्नुभएका यादवले ठाकुरसमेत उहाँको पक्षमा रहनुभएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको हो । यादवले निर्वाचन आयोगले आधिकारिता दिनुअघि विभिन्न कारणले बाहिर रहेका सबैलाई पार्टीमा आउन आग्रह गर्नुभएको छ । 

यादवले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नुपूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नुभएका वा अन्यत्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’

अहिले पनि मधेसी, आदिवासी, जनजाति, दलित, महिला, थारू, मुस्लिम, अल्पसंख्यक समुदायका माग पूरा गर्न र वर्गीय, जातीय र लैंगिक विभेद तथा असमानताको अन्त्य गरी संघीयता, सुशासन समृद्धि सामाजिक न्याय र सामाजवादीको लक्ष्य प्राप्तिका लागि क्रियाशील रहनु जरुरी रहेकाले सबै एक ठाउँमा आउन जरुरी रहेको उहाँले बताउनुभएको छ । 

देशमा अग्रगमन नचाहने, प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्ने, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरूले षड्यन्त्रमूलक ढंगबाट पार्टीलाई फुटाउने नीतिअनुसार सक्रिय रहेकाले उहाँले कार्यकर्तालाई सचेत पनि गराउनुभएको छ । ‘पार्टी फुटाउ र राज गर’ भन्ने शक्तिहरूको प्रतिकार गर्दै प्रतिगमन र यसका मतियार एवं षड्यन्त्रकारी प्रवृतिप्रति सचेत रहनु अहिलेको अवश्यकता रहेको उहाँले बताउनुभयो । 

यता, ठाकुर पक्ष भने आधिकारिकता गुमेपछि आक्रोशित बन्नुभएको छ । उहाँ जनता समाजवादी पार्टी (जसपा) कै हैसियतमा मधेस पस्ने तयारीमा हुनुहुन्छ । स्रोतका अनुसार अर्का अध्यक्ष उपेन्द्र यादवका कमजोरी जनतामाथ राख्न भन्दै ठाकुर मधेस पस्ने तयारीमा लाग्नुभएको हो । 

ठाकुरले अध्यक्षकै हैसियतामा तराईका विभिन्न जिल्लामा आयोजना भएको कार्यकर्ताहरूमा अपिल जारी गर्नुभएको छ । ठाकुरले आफूहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्न ओली सरकार तयार भएको र माग सम्बोधनका क्रम पनि अघि बढेकाले ओलीसँग नजिक भएको बताउनुभएको छ । आफूहरूले सबैसँग वार्ता र संवाद गर्ने पार्टीगत निर्णयका आधारमा एमाले, कांग्रेस तथा माओवादी केन्द्रसँग छुट्टाछुट्टै संवाद गरेको ठाकुरको अपिलमा उल्लेख छ । ओलीले आफूहरूको माग पूरा गर्ने प्रतिबद्धतामात्र नभएर १३९ जनाको मुद्दा फिर्ता, नागरिकतासम्बन्धी अध्यादेश, संविधान संशोधनका लागि कार्यदल गठनसमेत गरेको भन्दै उहाँले ओलीसँगकोे निकटताको बचाउ गर्नु भएको छ । 

उपेन्द्र यादवले प्रतिशोधात्मक भावना लिई एकतर्फी रूपमा आफूलगायत पार्टीका केही शीर्ष नेतालाई पार्टीबाट निकाल्नेसम्मको अराजक क्रियाकलाप गरेको आरोप लगाउँदै ठाकुरले पार्टीमा विवाद बढ्नुमा यादवलाई नै जिम्मेवार ठान्नुभएको छ । प्रदेश–२ मा जसपा नेपालको स्पष्ट बहुमत हुँदाहुँदै बदनियतपूर्ण तरिकाले उपेन्द्र यादव पक्षले मधेसी भावनाविपरीत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएको उहाँको आरोप छ । 


Top