कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

हिमालय टाइम्स   POSTED ON : श्रावण २२, २०७८ (५:५७ AM)

कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशन सार्ने चालबाजी मान्य नहुने निष्कर्ष निकालेको छ । पार्टीको वैधानिकता संकटमा पर्ने स्थिति रहेकाले महाधिवेशन समयमै गराउन सभापति शेरबहादुर देउवालाई पौडेल समूहले ध्यानाकर्षण गराउने भएको छ । बिहीबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले २३ भदौभित्र महाधिवेशन नगराए पार्टीमा अरू विकल्पको खोजी हुने निष्कर्ष निकालेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

महाधिवेशन सुनिश्चित गर्न दुई दिनभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने पौडेलले बताउनुभयो । क्रियाशील सदस्यताको विवाद टुंग्याउने जिम्मा तीन शीर्ष नेतालाई दिइएको छ । पार्टी संवैधानिक संकटमा फसेकाले महाधिवेशनको विकल्प नभएको पौडेल समूहको निष्कर्ष छ ।

‘सभापतिले पार्टीको वैधानिकता जोगाउँदै सरकारलाई प्रभावकारी बनाउनुपर्छ । पार्टीको वैधानिकतामा प्रश्न उठ्न लागेका बेला महाधिवेशन सार्ने पक्षमा उहाँ लाग्नु हुँदैन,’ उहाँले भन्नुभयो । महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिका निर्वाचन समितिलाई क्रियाशील सदस्यताको विवरण दिइनुपर्ने पौडेल समूहको निर्णय छ । ‘निर्देशिका र क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिले प्राप्त गरेमा प्रदेश समितिका लागि निर्वाचन हुनसक्छ । त्यसैले दुई दिनभित्र यो विषय टुंगो लगाउनुपर्छ भन्ने हाम्रो माग छ,’ पौडेलले भन्नुभयो ।

भदौमा महाधिवेशन नगराए पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन हुनुपर्ने पौडेल समूहको निर्णय छ । ‘भदौ २३ भित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुन्छ । यो केन्द्रीय समितिले काम गर्न सक्दैन । यस्तो अवस्थामा विशेष महाधिवेशनबाट पार्टी बचाउने विकल्पमा हामीले कुरा उठाइरहेका छौं,’ पौडेलले भन्नुभयोे । पौडेलले समयमा महाधिवेशन नगराए भदौबाट देउवा सभापति नहुने चेतावनी पनि दिइसक्नुभएको छ ।

महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरूले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ । तर, क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहका अधिवेशन हुन सकेको छैन । युवा नेताहरूले त्यसै कारण चौधौं महाधिवेशन अनिश्चित बनेको भन्दै यसले पार्टीको गरिमामा ठूलो क्षति पुगेको बताएका छन् । 

महाधिवेशन समयसीमाको अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानविन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिबद्धता र नियतमाथि समेत प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् ।

नेताहरूले विभिन्न राजनीतिक दलबाट नेपाली कांग्रेसमा समाहित हुने नेताहरूले पहिल्यैदेखि कांग्रेसकै समर्थक, सदस्य र शुभचिन्तक रहेका व्यक्तिलाई नै कागजी रूपमा नवप्रवेशी बनाई हजारौं क्रियाशील सदस्यता वितरण गरेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले वडा तहबाटै सिफारिशको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् । महाधिवेशनको सुनिश्चितताका लागि दबाब दिन भन्दै गठन गरिएको ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’मा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवास पोखरेल, डिल्ली सुवेदी, मिथिलेस मिश्र, नारायण भट्टराई, मञ्जित ताम्राकार, रीता खनाल, विजुला बर्मा, प्रतिमा गौतमलगायत हुनुहुन्छ ।


Top