व्यवहार र अभिव्यक्तिले पार्टी एकता कमजोर हुँदै गएको नेपाल पक्षको निष्कर्ष

‘सम्मानजनक ढंगले एकता नगरी ओलीसँग मिसिनु राजनीतिक आत्म हत्या हुने’

चिन्तन क्षेत्री   POSTED ON : श्रावण २२, २०७८ (६:०२ AM)

व्यवहार र अभिव्यक्तिले पार्टी एकता कमजोर हुँदै गएको नेपाल पक्षको निष्कर्ष

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने बताउनुभएको छ । आफू निकट केन्द्रीय सदस्यहरूको बैठकमा सम्बोधन गर्नु हुँदै नेता नेपालले यथास्थितिमा ओलीसँग मिलेर जान नसकिने बताउनुभएको हो । 

नेता नेपालले ओलीसँग मिलेर जान सम्मानजनक अवस्था हुनुपर्ने र आफूले गरेका गल्ती स्वीकार गरेर ओलीले आत्मालोचना गर्नुपर्ने बताउनुभयो । बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘हामी एमाले हौं । एमालेमा बस्न कुनै समस्या छैन् । तर, आधार त हुनुप¥यो नी । ओली आफैं गल्ती गर्ने अनि माफी हामीलाई दिन्छौं आउनुहोस् भनेर हुन्छ ? उहाँले आफ्ना गल्ती स्वीकार गरेर आत्मालोचना गर्नु प¥यो अनिसँगै जान सम्भव हुन्छ ।’ 

संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूको योगदान ठूलो रहेकाले यथास्थितिमा सँगै जान नसकिने नेता नेपालले आफूपक्षका केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्नुभयो । बैठकमा सहभागी अर्का सदस्य मेटमणि चौधरीका अनुसार नेता नेपालले अहिले सरकारमा जानै पर्ने बाध्यताभन्दा पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूको योगदान रहेकाले त्यसलाई अनन्तकालसम्म जोगाउनुपर्ने आवश्यता रहेको बताउनुभयो । 

नेपालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘ओलीले आफ्ना कमीकमजोरीहरू स्वीकार गरेर अगाडि बढ्ने प्रस्ताव स्वीकार गर्नुभयो भने सम्भव छ, सँगै जान नभए लोकतन्त्र र संविधानको रक्षाका लागि लड्ने हामी अनि ओलीसँग झुकेर पनि हामीले नै बस्नुपर्ने ? यो हुँदैन । ओलीले आत्मालोचना गरेमात्रै सँगै जान सकिन्छ । हामी धेरै अगाडि बढिसकेका छौं ।’

नेता नेपालले पार्टीमा दोस्रो अध्यक्षको प्रस्वाव पनि ओलीबाटै आएको बताउनुभएको थियो । ओलीले सुरुमा आफैंले प्रस्ताव गरेको र आफैं पछि हटेको उहाँले बताउनुभयो । यस्तै पार्टीमा सम्मानजनक स्थान भएमात्रै एकता सम्भव भएको नेता नेपालले बताउनुभएको छ । ब्रिफिङमा उहाँले सम्मानविनाको एकता राजनीतिक आत्महत्यासरह हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘१० बुँदेको आधारमा एकता हुन सक्दैन् । एकता भनेको सम्मानजनक हुनुपर्छ । सम्मानजनक हैसियत भएन भने एकता हँदैन । सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा केपी ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुनेछ ।’ नेता नेपालले सम्मानविनाको एकताले निम्त्याउने दुष्परिणामको भागिदार आफू बन्नुपर्ने बुझ्न सदस्यहरूलाई आग्रह गर्नुभएको छ । ओलीले पछिल्लो समय दिँदै आउनुभएका अभिव्यक्ति एकता प्रयासमा बल नपुग्ने नेता नेपालले बताउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘दुवै पक्षबाट साथीहरू एकताको प्रयासमा हुनुहुन्छ । निरन्तर वार्ता गरिरहनुभएको छ । तर, ओलीले दिने गरेको अभिव्यक्तिले सम्भवजस्तो देखिन्न ।’ वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशीघ्र खोप दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित जनतालाई गाँस, बाँसको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याएर देषीलाई सजाय र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेमा वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो ।

बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठक शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने गरी सकिएको छ । 

भीम रावलबाट १० बुँदेको ब्रिफिङ

बैठमा नेता भीम रावलले कार्यदलमा भएको १० बुँदे सहमतिको ब्रिफिङ गर्नुभएको छ । कुनै समय अध्यक्ष ओलीको कडा आलोचना गर्ने नेता रावल अहिले शान्त देखिनुभएको छ । नेपाल पक्षबाट कार्यदलको संयोजकसमेत रहनुभएका रावलले विघटित कार्यदलमा भएको १० बुँदे सहमितको सार र व्याख्या केन्द्रीय सदस्यहरूलाई गर्नु भएको नेता रघुजी पन्तले बताउनुभयो ।

रावलले केन्द्रीय सदस्यहरूलाई कार्यदलको सहमतिले पार्टी एकताको आधार बलियो भएको बताउनुभयो । अध्यक्ष ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे सहमति गरिएको उहाँको भनाइ छ । १० बुँदे सहमतिलाई टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने रावले बताउनुभयो । जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायत कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिनुभयो । तर, १० बुँदे सहमतिप्रति नेता नेपालुहित उहाँको पक्षमा रहेका नेताहरू पनि असहमत हुनुहुन्छ । 

रावलको भनाइ उद्धृत गर्दै पन्तले भन्नुभयो, ‘सदस्यता नवीकरण गर्नेलगायत सबै कुरा एकताको प्रक्रिया टुंगिसकेपछि जेठ २ को कमिटीको बैठक बसिसकेपछि गर्ने हो, स्थगित गर्नुहोस् भनेर हाम्रोतर्फका कार्यदल संयोजक भीम रावलले भनेको र त्यस सम्बन्धमा सकारात्मक पाइला चाल्ने जवाफ पाएका छौं ।’ १० बुँदे सहमतिको बारेमा विस्तृतमा जानकारी गराएर रावलले बुँदाबुँदामा व्याख्या गर्नु भएको उहाँले बताउनुभयो । 

उहाँले अगाडि भन्नुभयो, ‘हामी एकतातर्फ अगाडि गइरहेका छौं । एकतातर्फ हाम्रा पाइलाहरू सकारात्मक रूपले अगाडि बढिरहेका छन् । दुवै पक्ष एउटा समझदारीमा आउने हाम्रो विश्वास छ । वार्ता अझै जारी छ । दुवैतर्फको वार्ता टोली संवादमा छन् ।’ उहाँले अहिले सरकारमा जाने सम्भावना नरहेको बताउनुभयो । अहिले आफूहरू एमाले नै भएकाले प्रतिपक्षमै रहने सरकारमा नजाने पन्तको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामी सरकारमा जाने संभावना छैन । हामी एउटै पार्टीमा छौं । एमालेमा छौं । प्रतिपक्षमा छौं ।’


Top