प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भानलाई चिर्ने प्रयास सभामुखबाट भएन : नेम्वाङ

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७८ (४:२४ PM)

प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भानलाई चिर्ने प्रयास सभामुखबाट भएन :  नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको छ । नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उहाँले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताउनुभयो । सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आउ बैठक भनेर औपचारिकता पुरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईहरु पुछ्नुस् ।’

उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । 


Top