नेकपा (माओवादी केन्द्र)को पार्टी विधान परिमार्जनसहित पारित

चिन्तन क्षेत्री   POSTED ON : भदौ ३०, २०७८ (५:३९ AM)

नेकपा (माओवादी केन्द्र)को पार्टी विधान परिमार्जनसहित पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट परिमार्जन गरी अनुमोदन गर्नेगरी परिमार्जनसहित पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले विधानलाई अन्तिम रूप दिनका लागि भाषा सम्पादनको काम बाँकी रहेकोमा आवश्यकताअनुसार थपघट गर्न सक्ने गरी पारित गरिएको बताउनृुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीको विधानलाई अन्तिम रूप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरूलाई जिम्मेवारी दिइएको थियो । आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यकता रहेकाले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो ।’

यस्तै, माओवादी केन्द्रले आफ्नो पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको पार्टीको निर्वाचन आयोग गठन गरिएको उहाँले बताउनुभयो । आयोगले स्थानीय तहदेखि केन्द्रसम्म माओवादीको निर्वाचनका सन्दर्भमा सम्पूर्ण जिम्मेवारी पाएको हो । प्रवक्ता महराका अनुसार आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

उहाँले भन्नुभयो, ‘पार्टीको निर्वाचन आयोग बनायौँ । २२ जनाको पार्टीको निर्वाचन आयोग बनायौँ । विष्णुप्रकाश श्रेष्ठको संयोजकत्वमा त्यसलाई के म्यान्डेट दिइयो भने आफ्नो नियमावली राजनीतिक निर्देशिका बनाउन पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली बनाउन । निर्देशिका बनाउन जिम्मा पनि उहाँलाई त्यो आयोगले दिइयो ।’

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरूलाई कसरी समायोजन गर्ने र यससम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रूप दिन आग्रह गरिएको बताउनुभयो । ‘अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका कतिपय पार्टी नै एकतामा आउने गरेका विभिन्न कुराको एकता प्रक्रिया र समायोजन कसरी गर्ने कुन तहमा समायोजन गर्ने भन्ने विषयमा एउटा कार्यदल गठित भएको थियो, त्यो कार्यदलले प्रतिवेदन अहिलेसम्मको बुझाइयो, केही बाँकी छ, त्यसैले त्यो पूरा गरेर उहाँहरूलाई प्रतिवेदनको एउटा रूप दिन फेरि जिम्मा दिइयो’, उहाँले भन्नुभयो । 

यसैगरी, माओवादी केन्द्रले प्रदेश समितिका पदाधिकारीका थपघट सम्बन्धमा पनि छलफल भएको बताउनुभयो । बैठकमा सो विषयमा छलफल भए पनि निर्णय भने भएको छैन । बैठकले मन्त्रिपरिषद् विस्तार छिटोभन्दा छिटो गर्ने भन्ने पार्टीको धारणा रहेको उल्लेख गर्नुहुँदै महराले मंगलबार भने मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नभएको बताउनुभयो । गठबन्धन सरकार बनेको ६० दिन बित्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सरकारलाई पूर्णता दिने विषयमा सहयोग गर्न दलहरूलाई आग्रह गर्दै आउनुभएको छ । तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत दलहरूले मन्त्री बन्ने नेताहरूको नाम नदिँदा समस्या उत्पन्न भइरहेको गठबन्धनका नेताहरूको भनाइ छ । 

यसैगरी, माओवादी केन्द्रले सर्वदलीय संयन्त्रबाट नै संसद्को गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल गरेको छ । प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्टाछुट्टै बैठक बसेर भए पनि संसद् राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिग रहेको बताउनुभयो । अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । लगातार संसद् अवरुद्ध हुँदा नियमित कामकारबाहीमा पनि समस्या देखिँदै आएको छ । विशेषगरी बजेटका सन्दर्भमा सरकारलाई समस्या पर्ने देखिन्छ ।


Top