गृहजिल्ला पुगेर विपक्षी नेताहरूमाथि ओलीको कटाक्ष

‘आगामी चुनावमा नेपालले वडा सदस्यको सिट पनि जित्दैनन्, प्रचण्ड सबै किसिमले राम्रो तर बेइमान नेता’

पार्थ मण्डल   POSTED ON : भदौ ३०, २०७८ (५:४२ AM)

गृहजिल्ला पुगेर विपक्षी नेताहरूमाथि ओलीको कटाक्ष

झापा । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाउनुभएको छ । उहाँले पार्टी विभाजन गरेकै कारण नेपालले आउँदो निर्वाचनमा वडा सदस्यको चुनाव पनि जित्न नसक्ने दाबी गर्नुभयो । 

नेकपा एमाले जिल्ला कमिटी झापाले मंगलबार बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई सरकारबाट कसैले हटाउन सक्ने थिएन, एमालेमा अनुशासनहीन कालो टीका लगाउने काम माधव नेपालले गरे । एमाले सरकार हटाउने मुख्य व्यक्ति माधव नेपाल नै हुन् ।’ ओलीले नेपालको नेकपा एकीकृत समाजवादी नक्कली पार्टी भएको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपालले वडा अध्यक्षको कुरा छाडौं, वडा सदस्यको चुनाव पनि जित्न सक्दैनन् । माधव नेपाललाई जनताले किन भोट हाल्ने ? केका लागि हाल्ने, एमाले फुटाएकाले ? एमाले चोइट्याएकाले ? के कारण जनताले नेपालाई भोट दिने ?’ ‘उहाँले पार्टी बनाउन खोज्नुभएको होइन, पार्टी फुटाउन खोज्नुभयो, अध्यक्ष ओलीले भन्नुभयो, ‘उहाँसँग जादु, टुना, मन्त्र केही छैन, उहाँ जनविरोधी हो, कमरेड होइन ।’

अधिकांश समय माधवकुमार नेपालमाथि धावा बोल्नुभएका ओलीले भन्नुभयो, ‘नेपालले नेपाली राजनीति ध्वस्त र परास्त पार्न एमाले फुटाएर तमासा देखाउनुभयो ।’ ‘महाभारतमा भनिएको छ, ‘जस्तोसुकै पानीमुनि गए पनि कहाँ बाच्ला र दुर्योधन ?’ माधवकुमार नेपालको हालत पनि त्यस्तै हुनेछ ।’ ‘उहाँले पार्टी फुटाउन खोज्नुभयो, तर चोइटाएर मात्र जानुभयो, मौरीका पछि लाग्नुहोस् साथीहरू झिँगाको पछि होइन,’ उहाँले भन्नुभयो, ‘अलमलिएका साथीहरूलाई भन्न चाहन्छु, झिँगाको पछि लागेर किन जिन्दगी बर्बाद गर्नुहुन्छ ?, एमाले गुरु पार्टी हो आउनुहोस् मिलेर अघि बढऔं ।’ एमाले दुनियाँका प्रतिक्रियावादीको मुटु हल्लाइदिएको पार्टी भएको बताउँदै उहाँले भन्नुभयो, ‘केही झुण्ड लिएर माधवकुमार नेपाल हिँँडे पनि एमालेलाई केही फरक पर्दैन, जनताबाट निर्वाचित पार्टी भएकाले हामी विचलित छैनौं, आउने निर्वाचनबाट फेरि बहुमतको पार्टी बन्नेछौं ।’ पिलो निचोरेर वजन घट्दैन, एमालेको वजन घट्नुभन्दा झन् बढेर गएको उहाँको भनाइ छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इंगित गर्दै उहाँले भन्नुभयो, ‘उहाँ घरपरिवारका सदस्यका लागि राम्रो व्यक्ति हुनुहुन्छ होला तर उहाँ बेइमान र धोकेबाज नेता हुनुहुन्छ ।’ उहाँसँग तन्त्रमन्त्र र मायाबी जादु भएकाले सबै उहाँको पछि लागेको व्यंग्य गर्दै उहाँले भन्नुभयो, ‘निर्दोष कार्यकर्ता मारेर त्यसमाथि राजनीति गर्ने मान्छे हुन् ।’ 

ओलीले भन्नुभयो, ‘प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरूलाई आग्रह गर्छु,’ ‘प्रचण्ड अरू सबै हिसाबले राम्रा होलान् तर धोकेबाज नेता हुन् ।’ ओलीले प्रचण्ड राम्रो सम्धी, राम्रो ससुरा, राम्रो ज्वाइँ, राम्रो बाबु, राम्रो काका भए पनि बेइमान नेता भएको आरोप लगाउनुभयो । ‘उहाँ सबै हिसाबले राम्रो हुनुहुन्छ, ‘तर, उहाँको एउटा खराबी छ– उहाँ छट्टु, धोकेबाज र बेइमान नेता हो ।’ ओलीले अब प्रचण्डले पनि वडामा जित्न समस्या हुने आरोप लगाउनुभयो । सर्वोच्च अदालतले नेकपा पार्टीको दर्ता खारेज गर्न फैसला सुनाएको थियो, नेकपा पार्टी विभाजन गर्न होइन, उहाँले भन्नुभयो– ‘पार्टी फुटेको होइन भन्दै प्रचण्डजीलाई चारपटक फोन गरेर सम्झाउन खोजँे, तर उहाँले त्यसलाई मजाक बनाउनुभयो र गुटका साथीलाई लिएर गएर पुनः माओवादी केन्द्र बनाउनुभयो ।’ आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको पनि ओलीको आरोप थियो ।

सभामुखको प्रसंगमा बोल्दै उहाँले भन्नुभयो, ‘सभामुख निष्पक्ष नभई पार्टीको कार्यकर्ता भएका कारणले एमालेले संसद् अवरोध गरेको हो । एमालेले सभामुख मान्ने स्थितमा छैन, त्यस्तै एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले जनताले पराजय गरेको नेपाली कांग्रेस सत्ता पक्ष अनि जनताले मत दिएर विजय गराउने एमाले प्रतिपक्ष भन्नु कुरा हास्यास्पद छ ।’ ‘पार्टी फुटाउने अध्यादेश ल्याएर संविधानमाथि प्रहार गरेको सत्ताधारी गठबन्धनलाई मेरो आग्रह छ,’ उहाँले भन्नुभयो, ‘संविधानमाथि आगो लगाउने काम नगरियोस्, जनताबाट आएको संविधान जोगाउन एमाले जस्तो सुकै कठोर कदम चाल्न पनि पछि हट्दैन । 

प्रधानमन्त्री शेरबहादुर देउवा सरकार परमादेशबाट आएकाले जनताप्रति काम गर्न नसक्ने अध्यक्ष ओलीको दाबी छ । ‘यिनीहरू चुनावदेखि थरथर हुन्छ । जनताबाट एमाले बाहेकको कुनै सरकार आउन सक्दैन । के भनेर यिनीहरूलाई जनताले भोट हाल्ने ?’ ओलीले सोध्नुभयो । आफूले दुवै छिमेकी मुलुकसँग बराबरीको हैसियतमा सम्बन्ध स्थापित गरेको भए पनि देउवा सरकारले बिथोल्न खोजेको आरोप उहाँको छ । पार्टी परित्याग गरी एकीकृत समाजवादीमा लाग्ने कार्यकर्ताहरूलाई पुनः एमाले आउन उहाँले आग्रहसमेत गर्नुभयो ।  


Top