चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (५:२४ AM)

चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज रामबहादुर थापा ‘बादल’ले आफू चितवनमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्न तयार बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले यस्तो कुरा बताउनुभएको हो । ‘चितवनमा प्रचण्डविरुद्ध बादल चुनाव लड्न तयार छ’, उहाँले भन्नुभयो, ‘प्रचण्ड समाजवाद र राष्ट्रियताविरोधी हुन् । उनीसँग चुनाव लड्न मलाई कुनै समस्या छैन ।’

पूर्व–गृहमन्त्रीसमेत रहनुभएका बादलले एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने बताउनुभयो । बादल पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रचण्डको साथ छाडेर ओलीसँग आउनुभएको थियो । तर, फागुन २३ को सर्वोच्चको फैसलापछि पनि उहाँसहितका नेताहरू औपचारिक रूपमा माओवादी छाडेर एमालेमै समाहित हुनुभएको थियो । थापाले प्रचण्ड अझै एक्लिँदै जाने पनि दाबी गर्नुभएको छ । 

‘राष्ट्रियता, समाजवाद, र समृद्धिको नाराबाट मैले आफूलाई विचलित गराएको छैन । बरु प्रचण्डले त्यसलाई छाडे’, उहाँले भन्नुभयोे- ‘प्रचण्ड दक्षिणपन्थी भासतिर लागे । पार्टीको लाइनबाट उनी दायाँबायाँ भइसकेका छन् ।’ बादलले नेपालका ठूला लगानीमा आम्दानीको स्रोत खुलाउनु नपर्ने नीति ल्याएको गठबन्धन सरकारले कालोधनलाई वैधानिकता दिन खोजेको आरोप पनि लगाउनुभएको छ । बादलले अहिलेको गठबन्धन सरकारले एमसिसीविरुद्ध नबोल्न भन्दै जारी गरेको उर्दीको पनि तीव्र विरोध गर्नुभयो । 

Top