कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ : प्रवक्ता शर्मा

डिबी शर्मा   POSTED ON : आश्विन ९, २०७८ (५:३१ AM)

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन तोकिएकै समयमा हुने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गते तोकिएकै मितिमा हुने प्रष्ट्याएको हो । केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

‘केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुन्छ । यसमा कुनै ‘कन्फ्युज’ राख्न आवश्यक छैन,’ बैठकपछि शर्माले भन्नुभयो, ‘महाधिवेशन मंसिरबाट अलि पछाडि जाने हो कि ? कसैले प्रस्ताव पो राख्नुभयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो । त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । जानुपर्ने खण्डमा केन्द्रीय समितिमा विधिवत रूपमा जान्छौं ।’

हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावनाअनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

शनिबारदेखि ६४ जिल्लामा पालिका अधिवेशन 

कांग्रेसको गाउँ/नगर अधिवेशन आज (शनिबार)देखि प्रारम्भ हुँदैछ । यसअघि वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन सुरु हुने निर्वाचन समिति सदस्य कृष्णगोपाल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार सुरु हुने पालिका अधिवेशन एक÷दुई दिनमै सकिनेछ । ‘यसअघि वडा अधिवेशन सकिएका ६४ जिल्लामै शनिबारदेखि पालिका अधिवेशन सुरु हुन्छ,’ उहाँले भन्नुभयो, ‘ती जिल्लामा एक/दुई दिनमै पालिका अधिवेशन सकिन्छ ।’ 

शुक्रबार बसेको पदाधिकारी र पूर्व–पदाधिकारी बैठकले पनि निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आहृवान गरेको छ । क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा भने अहिलेसम्म वडा अधिवेशनसम्म हुन सकेको छैन । 

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

सिन्धुपाल्चोकमा स्थगित

सिन्धुपाल्चोक जिल्लाको गाउँ/नगरपालिका अधिवेशन स्थगन भएको छ । शनिबारका लागि तय भएको पालिका तहको अधिवेशन अनिश्चित समयका लागि स्थगन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति अधिकृत छविरमण निरौलाले विज्ञप्तिमार्फत अधिवेशन स्थगन भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि पालिका अधिवेशन स्थगित भएको हो । जिल्लामा सबै वडा तहको अधिवेशन सम्पन्न भइसकेको छैन ।

गगन थापाको प्रश्न : यस्तै बेहालमा कांग्रेस कति दिन चलाइरहने ?

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वका विषयमा गम्भीर प्रश्न उठाउनुभएको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेको नेतृत्वले महाधिवेशनको मिति सार्ने बहस थालेको भन्दै थापाले प्रश्न गर्नुभएको हो । ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन,’ थापाको प्रश्न छ, ‘कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने ।’

उहाँले नेताहरूले आदेश दिए पुग्ने कार्यकर्ताले आदेश कुरेर बस्नुपर्ने भन्दै यस्तो अवस्था अन्त्यबारे सोच्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । ‘वश नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !’ उहाँको प्रश्न छ, ‘अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको समस्या किन समाधान भएन ? : कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पदाधिकारीहरूले मनपरी निर्णय गरेर पार्टीलाई संकटमा पारेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । फेरि महाधिवेशनको मिति सार्ने प्रयास भइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ । ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नुपर्नाको कारण के हो ?’ उहाँले प्रश्न गर्नुभएको छ, ‘सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ? अर्कोतर्फ केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?’

उहाँले पदाधिकारीहरूले मनपरी निर्णय गरेर कांग्रेसलाई संकटतर्फ धकेलेको पनि आरोप लगाउनुभयो । पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ? कतै पदाधिकारी र पूर्व- पदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन ? उहाँको प्रश्न छ, ‘आशंका पैदा भएको छ । क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको समस्या किन समाधान भएन ? अधिवेशन प्रक्रिया किन सुरु हुन सकेन ?’


Top