एमालेमा फेरि बल्झियो विवाद : १० बुँदे कार्यान्वयनमा ओली इमानदार नभएको आरोप

जेठ २ को अवस्थामा नफर्किए विकल्प सोच्ने नेताहरूको चेतावनी

चिन्तन क्षेत्री   POSTED ON : आश्विन ९, २०७८ (५:३७ AM)

एमालेमा फेरि बल्झियो विवाद : १० बुँदे कार्यान्वयनमा ओली इमानदार नभएको आरोप

काठमाडौं । नेकपा एमालेमा आन्तरिक विवाद फेरि सुरु भएको छ । एमाले विभाजन गरी माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरे पनि एमालेभित्रको विवाद भने कायमै देखिएको हो । 

नेपालले पार्टी विभाजन गर्दा एमालेमा नै रहेका तेस्रो धारका नेताहरूले आफूहरूसँग भएको १० बुँदे सहमति अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेको भन्दै आक्रोशित बनेका हुन् । तत्कालीन समयमा प्रतिनिधिसभा विघटन र त्यसपछिका घटनाक्रमपछि टाढा हुनुभएका अध्यक्ष अ‍ोली र तेस्रो धारका नेताहरू पार्टी विभाजनपछि एकठाउँमा उभिएका थिए । तर, आफूसँग भएको १० बुँदे सहमतिप्रति अध्यक्ष ओली सकारात्मक नभएको भन्दै उनीहरू फेरि भड्किएका छन् । 

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा पनि तेस्रो धारका नेताहरूले सहमति कार्यान्वयनका सवालमा ओलीसँग जवाफ माग गरेका थिए । तर, ओलीले भने नेताहरूका प्रश्नलाई लिएर खासै वास्ता नगरेको बैठकमा सहभागी एक नेताले हिमालय टाइम्सलाई बताउनुभयो । 

एमाले उपाध्यक्ष भीम रावल तथा केन्द्रीय सदस्यहरू झपट रावल र भानुभक्त जोशीले १० बुँदे सहमतिअनुसार अगाडि बढ्न ओलीलाई आग्रह गर्नुभएको थियो । अहिले माथिल्लो तहमा सुदूरपश्चिम र बागमती प्रदेशमा समस्या देखिएको छ । यसअघि, यी दुवै प्रदेशमा इञ्चार्ज रहनुभएका क्रमशः रावल र अष्टलक्षमी शाक्यले पूर्ववत जिम्मेवारी पाउनुभएको छैन । रावल लगायतका नेताहरूले सुदूरपश्चिम प्रदेशमा पार्टीलाई ०७५ जेठ २ को अवस्थामा नलगिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

बैठकमा १० बुँदेबारे प्रश्न उठाएका नेता जोशीले भदौ १३ गते जारी गरिएको अन्तरपार्टी निर्देशनअनुसार पार्टी मूलतः २०७५ जेठ २ मा फर्किएर सक्रिय हुनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सहमतिअनुसार पार्टी संरचना मूलतः २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील हुनेछन् भनिएको थियो । तर, हाम्रो प्रदेशमा त्यस्तो हुन सकेको छैन ।’

अन्तरपार्टी निर्देशनमा पनि सोहीअनुसार अगाडि बढ्न निर्देशन दिइएको स्मरण गराउँँदै उहाँले १० बुँदे सहमतिका लागि ओली इमानदार हुनुपर्ने बताउनुभयो । नेता झपट रावलले एकतापछि बसेको भदौ १० गतेको पहिलो बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ढोका खोले पनि सोअनुसार नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘भदौ १० को एकतापछिको पहिलो बैठक १० बुँदे सहमति कार्यान्वयनको बैठक पनि थियो । त्यसपछि १३ गते अन्तरपार्टी निर्देशनसमेत जारी गरेको थियो । यसलाई व्यवहारमा नउतारिएको हुनाले यसको बारेमा के हो ? नेतृत्व तहका बीचमा यसबारेमा एकरूपता नभएको हुनाले यसबारे प्रष्ट पारियोस्, त्यसपछि अन्य विषयमा छलफल गरौं भनेर मैले पार्टी अध्यक्षसँग माग गरेँ ।’

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकपछि लगत्तै स्थायी कमिटी बैठक बस्ने र थप छलफल गर्ने आश्वासन दिनुभएको उहाँले जानकारी गराउनुभयो । बैठकमा सहभागी एक अर्का नेताका अनुसार ओलीले छलफल गरौँला भन्दै तीनजना नेताको आग्रह टारेको र नियमित एजेण्डामा अगाडि बढ्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष कमरेडले हाम्रा कुरालाई खासै महŒवका साथ चासो दिनुभएन । ठीकै छ पछि हेरौँला भन्नुभयो ।’

पार्टी १० बुँदेअनुसार सुदूरपश्चिममा पार्टी जेठ २ को अवस्थामा नफर्किएमा विकल्प सोच्ने पनि नेताहरूले चेतावनी दिएका छन् । अन्तरपार्टी निर्देशनअनुसार काम कारबाही अगाडि नबढेमा विकल्प खोजिने नेता जोशीले बताउनुभयो । जोशीले ओलीले आफूहरूलाई अलमल्याउने नीति लिएको गुनासो पनि गर्नुभएको छ । 

प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन

नेकपा एमालेले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न केन्द्रीय कमिटीबाट १० समूह निर्माण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो । 

स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन (राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी) अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको थियो । स्थायी कमिटीबाट सुझावसहित आएको प्रतिवेदनहरूमाथि छलफलका लागि १० वटा समूह बनाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराउनुभयो

उहाँले भन्नुभयो, ‘ नवौँ महाधिवेशनबाट नै विधान र पार्टीको महाधिवेशन अलग-अलग गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको थियो । सोहीअनुसार बैठकमा मूलतः तीनवटा प्रतिवेदनहरू प्र्रस्तुत भएका छन् । यी प्रतिवेदनहरू स्थायी कमिटीको बैठकमा छलफल भएका थिए । त्यहाँ सुझावहरू आएका थिए । राजनीतिक, संगठनात्मक, विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ । तीनवटा दस्ताबेज आज प्रस्तुत भएका छन्, शुक्रबारको बैठकले यो प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूह बनाएको छ ।’

भट्टराईका अनुसार सातवटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इञ्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू, लगायतका समूहहरूलाई हेर्न अर्को समूह बनाइएको हो । 

उहाँले भन्नुभयो, ‘सातवटा भौगोलिक समूहहरू, सातवटा प्रदेशका, जनसंगठनलाई हेर्ने, पार्टीका इञ्चार्जहरूको जो केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँहरूको एउटा अलग्गै समूह छ । त्यसपछि विभागीय प्रमुखहरूको अलग्गै समूह छ । अन्तिम १०औँ नम्बरमा विशेष प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू, लगायतका विशेष जुन संरचनाहरू पार्टीका छन्, ती विशेष संरचनाहरूलाई नेतृत्व गर्नेहरूको एउटा समूह छ, यी १० वटा समूहमा प्रतिवेदन अध्ययन हुन्छ । छलफल हुन्छ ।’

शनिबार एक बजेसम्म हरेक समूहमा छलफल गरी समूह नेताबाट सुझावहरू बैठकमा पेश हुने उहाँले बताउनुभयो । समूहबाट आएका सुझावहरूका आधारमा आवश्यकताअनुसार परिमार्जन गरी असोजको १५ गतेदेखि आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने उहाँले जानकारी गराउनुभयो ।

Top