कांग्रेसको पालिका अधिवेशन आजदेखि

  POSTED ON : आश्विन ९, २०७८ (९:४८ AM)

कांग्रेसको पालिका अधिवेशन आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ । 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको छ । सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ । काठमाडौैँको वडा अधिवेशन असोज ५ गते सुरु भएको थियो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा आज पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले राससलाई जानकारी दिनुभयो ।  

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले  निर्णय गरेको छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो । यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।

यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरुमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीसहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ । 

भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । 

आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिनुभयो । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार मतदानका लागि कांगे्रसले तालिका तयार गरेको छ । भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका अधिवेशनस्थलमा बिहानैदेखि कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ । 

चारै नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी दिने चर्चा अधिवेशन स्थलमा चलेको छ । अन्तिममा केन्द्रीय तहमा जस्तो नेताहरुको समूहको रुपमा नभई स्थानीय परिस्थिति अनुसार नै प्यानल बनाएर उम्मेदवारी दर्ता हुने अधिवेशनस्थलमा उपस्थित जिल्लास्तरीय एक नेताले बताउनुभयो ।  कांग्रेस भक्तपुरले यसअघि जिल्लाका ३८ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ । 

नगर अधिवेशनमा नेतृत्व लिन नेताहरुको दौडधुप चलेको छ । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । जिल्लाका शीर्ष कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । मुख्य गरी सभापति दुर्लभ थापा र १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी अष्टकुमार कवेँको समूहबीच चारवटै नगरपालिकामा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।  

जिल्ला सभापति थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागत नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन् । भक्तपुर नगरमा वर्तमान् सभापति रामप्रसाद कासुला र राजेन्द्र तमखु, मध्यपुरथिमिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति, सूर्यविनायक नगरमा जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान उपसभापति रवि राणा तथा चाँगुनारायण नगरको सभापतिमा वर्तमान सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरि केसी, गोपाल पौडेल, राजु पुरीले उम्मेदवारी दिने तयारी गरेका बताइएको छ । रासस

Top