एमालेका १० टोलीले दिए ७० वर्षे उमेरहद कायम राख्नेदेखि पदाधिकारी बढाउनुपर्ने सुझाव

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:३५ PM)

एमालेका १० टोलीले दिए ७० वर्षे उमेरहद कायम राख्नेदेखि पदाधिकारी बढाउनुपर्ने सुझाव

काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा एक व्यक्ति दुई पटकभन्दा बढी रहन नपाइने र ७० बर्षको उमेरहद कार्यान्यवनलाई लागू गर्नुपर्ने सुझाव आएको छ । साथै उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिनु भएको हो ।

छलफलमा सहभागी नेताहरुले एक व्यक्ति दुईपटक पार्टीको कार्यकारी पदमा रहनसक्ने र ७० वर्षको उमेरहद कार्यान्वयनलाई पनि लागू गर्नुपर्ने आवाज उठेको छ । 

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल रहने र ७० वर्षको उमेरदह कायम राख्नुपर्ने सुझाव आएको बताउनुभयो । पार्टीको विधानमा यो व्यवस्था भएपनि आगामी महाधिवेशमा समेत सोही व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने सुझाव सदस्यहरुले दिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘ एउटा व्यक्ति २ कार्यकाल भन्दा बढी कार्यकारी नहरने अहिलेको विभानमा छ । ७० वर्षको विधानपनि कायम छ । त्यसलाई कायमै राख्नुपर्छ भन्ने अधिकांश नेताहरुको सुझाव रहेको छ ।’

यसैगरी एमालेमा पदाधिकारी थप गर्ने विषयमा पनि नेताहरुले सुझाव दिएका छन् । शुक्रबार १० समूहमा विभाजन गरी छलफल चलाइएकोमा शनिबार समूह नेताहरुले छलफलका निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । जसअनुसार केन्द्रमा ७ उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव नेताहरुले दिनुभएको छ । समूह नेताहरुले उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्ने सुझाव दिनुभएको हो । नेताहरुको व्यवस्थापन र संघीय संरचना अनुसार पार्टीलाई अगाडी बढाउन भएपनि लागि ७ उपाध्यक्ष राखेर प्रदेश ईन्चार्जको भूमिका दिनुपर्ने सुझाव बैठकमा पेश भएका छन् । अहिले प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ । नेता भट्टराईले उपाध्यक्षहरु प्रादेशिक ढंगले सहज हुने गरि ७ जना राख्नुपर्ने लगायतका सुझाव आएको बताउनुभयो । अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूको व्यवस्थापनको सवालमा एमालेलाई सकस रहेको छ । विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो । यो बनाउँदा बनाउँदा अध्यक्षको तजबिज चल्ने र स्थायी कमिटी अर्थहीन हुने चिन्ता कतिपयको थियो । सोही अनुसार सचिवालयलाई बनाउन नहुने सुझाव पनि नेताहरुको रहेको छ । 

यसैगरी बैठकमा जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र त्यसलाई संस्थागत गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई अगाडि बढाउनुपर्ने सुझाव पनि बैठकमा आएको छ । एमाले आफैमा दुई पटक विभाजनको सिकार भएपनि कम्युनिष्ट एकताको कार्यभार पुरा गर्न एमालेले नै संवादको थालनी गर्नुपर्ने सुझाव आएको उहाmँले बताउनुभयो । 

यसैगरी हरेक तहमा युवा र समावेशी सहभागीताको ग्यारेण्टी गर्नुपर्ने सुझावहरु पनि बैठमा आएका छन् । उहाँले भन्नुभयो, ‘प्रत्येक तहमा युवाहरुको उल्लेख्य सहभागिता हुनुपर्छ भन्ने सुझाव पनि छ । नीति निर्माणदेखि जनप्रतिनिधिसम्म त्यस्तो सहभागिताको माग गरिएको छ । यस्तै, महिला, जनजाती, अल्पसंख्याक, दलित समुदाय, अपांगता भएका समुदायको सहभागिगता बनाउने समावेशी चरित्रको पार्टी निर्माण गर्नुपर्ने सुझाव आएको छ ।’

यसैगरी आगामी फागुनमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने विषयमा सुझाव नेताहरुले दिएको पनि उहाँले बताउनुभएको छ । स्थानीय तहमा विगतमा भन्दा राम्रो परिणाम ल्याउन गरी काम गर्नुपर्ने नेताहरुले बताएका छन् । सघीय निर्वाचनमा पनि बहुमत ल्याउने गरी सम्पूर्ण नेता कार्यकर्ताहरुको ध्यान केन्द्रीत गर्नुपर्ने विषयमा समूह नेताहरुले सुझाव दिएका छन् । बैठकमा टोली नेतासँगै अन्य नेताहरुले पनि आफ्ना सुझाव राख्नुभएको थियो । 

शुक्रबारको बैठकले पेश भएको प्रतिवेदनहरुमाथि छलफलका लागि भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरूबाट प्रतिनिधित्व गराउँदै केन्द्रीय सदस्यहरुको समूह बनाएको थियो । 

ती समूहले विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रस्तावमाथि छलफल गरेका थिए । दुई दिनसम्म चलेको छलफलपछि निष्कर्ष सुनाउन टोली नेता छनोट गरिएको थियो । 

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर रानालाई टोली नेता बनाइएको थियो । 

त्यस्तै कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेष कमिटीबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले समूहको निष्कर्ष सुनाउन नेता बनाइएको थियो । 

एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुने भएको छ । 

शनिबार समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले आइतबार जवाफ दिने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गर्नुभएको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो ।


Top