मन्त्री हमालको नियुक्तिबारे अनावश्यक चर्चाको तुक छैन : दाहाल

  POSTED ON : आश्विन २३, २०७८ (१२:२७ PM)

मन्त्री हमालको नियुक्तिबारे अनावश्यक चर्चाको तुक छैन : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गैरसांसद् गजेन्द्र हमाललाई मन्त्री बनाएको बारेमा भएको चर्चाको तुक नभएको बताउनु भएको छ ।
दाहालले भन्नुभयो, ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक छैन ।’ आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताउनुभएको हो ।
गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालको भनाइ छ । हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिनु भएको छ ।
हमालको नियुक्तिमा प्रधानन्यायधीशसँग कुनै सम्बन्ध नरहेको बताउँदै प्रचण्डले यसमा अन्य केही सेटिङ र अन्य विषय नलुकेको दाबी गर्नु भयो ।
Top