राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक बिहीन भयो : अध्यक्ष थापा

हिमालय टाइम्स   POSTED ON : आश्विन २५, २०७८ (५:०८ PM)

राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक बिहीन भयो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकबिहीन भएको बताउनुभएको छ । 

सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताउनुभयो । अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको बताउनुभयो । उहाँले नेपालमा हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्ति हाबी भइरहेको बताउनुभयो । उहाँले अहिलेको प्रजातन्त्रमा केही सिमित दलका सिमित नेताहरुको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाई हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रुपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतहरुको रणनैतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सिमित दलका सिमित नेताहरुको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको छ ।’

कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा तर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गर्नुभयो । उहाँले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरुले छलफल गर्नुपर्ने बताउनुभययो ।

नेता नेम्वाङले भन्नुभयो, ‘होइन अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ,  त्यो छैटौँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो,  भनेपछि त्यो कुरा त साँच्चै रहेछ, यस्ता यस्ता इस्यूजहरु उठेको सन्दर्भमा राजनीतिक दलहरुले र नागरिक समाजहरुले व्यापक छलफल गर्नुपर्छ, सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो, समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको बताउनुभयो । उहाँले स्व. गुरुङले जीवित रहँदा व्यक्तिगत स्वार्थका लागि भन्दा देश जनताका लागि काम गरेको बताउनुभयो ।

अध्यक्ष लोहनीले भन्नुभयो, ‘स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पार्टीमा रहँदा आफ्नो स्वार्थपूर्तिका लागि नभइ देश र जनताका लागि काम गर्नुभयो, उहाँको निधनले देश र पार्टीलाई नै अपूरणीय क्षति भएको छ ।’

अध्यक्ष लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरुले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाउनुभयो । 


Top