एमालेमा केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएर काम गर्नुपर्ने

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७८ (४:५८ AM)

एमालेमा केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएर काम गर्नुपर्ने

काठमाडौं । नेकपा (एमाले)ले महाधिवेशन तथा अधिवेशनको प्रतिनिधि हुन वा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्य पदको उम्मेदवार हुन आवश्यक न्यूनतम योग्यता कायम गरेको छ । असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशन, २०७८ को संशोधनसहित सार्वजनिक गरिएको विधान २०४९ मा यस्तो व्यवस्था कायम गरेको हो ।

विधान महाधिवेशनमा सहभागीहरूले सुझाएका विषयसहित नेकपा एमालेले विधान प्रकाशन गरेको छ । विधानको धारा ६३ मा उल्लेख गरिएको उम्मेदवार हुन आवश्यक योग्यतासम्बन्धी व्यवस्थामा विभिन्न योग्यता निर्धारण गरिएको छ । राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ । तर, महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपांगता भएका व्यक्तिले भने सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्ने विधानमा व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ । केन्द्रीय कमिटीको सदस्यको उम्मेदवार हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा प्रदेश कमिटीको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ ।

महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी-जनजाति र अपांगता भएका व्यक्तिको हकमा भने एक कार्यकाल जिल्ला कमिटी वा सोभन्दा माथिल्लो कमिटीको सदस्य भई काम गरेको र सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय सल्लाहकार परिषद्को सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको वा पार्टी सदस्य भई कम्तीमा ३० वर्ष काम गरेको वा दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, परराष्ट्र मामिला, कानुन र विज्ञान प्रविधि जस्ता विषयको विज्ञ र १० वर्ष पार्टी सदस्य भई काम गरेको हुनुपर्नेछ । अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ ।

यस्तै, विधानको धारा ६४ मा उम्मेदवार हुन नपाउने विभिन्न प्रावधान पनि राखिएको छ । पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन पाउनेछैन ।

त्यस्तै, सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने उल्लेख छ । तर, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन र अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको नमानिने भनिएको छ ।

केन्द्रीय कमिटी तथा मातहतका कमिटीले आफ्नो तहको महाधिवेशन वा अधिवेशनबाट निर्वाचित कुल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुने गरी सदस्य मनोनीत गर्न सक्ने भनिएको छ ।


Top