सरकार गठनका सय दिन : जनचाहनाअनुरूप काम गर्न नसक्दा अलोकप्रियताको दर बढ्दो

सय दिन उपलब्धिमूलक भएको सरकारको दाबी

नारायण भण्डारी   POSTED ON : कार्तिक ४, २०७८ (५:०९ AM)

सरकार गठनका सय दिन : जनचाहनाअनुरूप काम गर्न नसक्दा अलोकप्रियताको दर बढ्दो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको सय दिन पुगेको छ । देउवा पाँचौँपटक प्रधानमन्त्री बनेको बुधबार सय दिन पुगेको हो । सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेशअनुसार उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौँ दिन देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिनुभएको थियो । 

यस अवधिमा कतिपय अलोकप्रिय कामहरू भएको भन्दै प्रधानमन्त्री देउवा सरकारको आलोचना भइरहेको छ । देउवाले सरकार गठन भएलगत्तै पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएको भए पनि त्यसको ८८ दिनपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो । हालसम्म पनि उद्योग मन्त्रालय मन्त्रीविहीन रहेको छ । मन्त्री नियुक्तिको विषयमा कांग्रेसलगायत दलहरूमा विवाद भयो । त्यसैगरी, प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भयो ।

विराध र आलोचना बढ्दै गएपछि हमालले तीन दिनमै पदबाट राजीनामा दिनुभयो । सरकारले साउन ३२ गते मध्यरातिदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गरिदियो । त्यसको एउटै उद्देश्य थियो– एमाले र जसपाको विभाजन । भोलिपल्टै अर्थात् भदौ १ मा दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गरियो । भदौ २ मा जारी भएको सो अध्यादेशकै कारण ती दुवै पार्टी विभाजन भए । आफ्नो दल विभाजन गर्न अध्यादेश ल्याइएको भन्दै एमालेले अझै पनि विरोध गरिरहेकै छ । दल विभाजन गर्ने उद्देश्य पूरा भएपछि अध्यादेश फिर्ता गरिएको छ । 

साउन १५ गते नेपाली युवा जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल, एसएसबीले तुइन काटिदिएपछि नदीमा बेपत्ता भएपछि सरकारले पीडितलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न प्रभावकारी कूटनीतिक कौशल देखाउन सकेको छैन । सरकारले छानबिन समिति बनाए पनि त्यसको व्यावहारिक निकास केही छैन । जनदबाब बढ्दै गएपछि सरकारले भारतलाई कूटनीतिक नोट पनि पठायो । तर, त्यसपछि केही भएन ।

यसरी एक नेपाली युवालाई अमानवीय ढंगले महाकालीमा बेपत्ता बनाउने घटनाप्रति सरकारको संवेदनशीलता देखिएन । घटना पुरानो हुने र आमचर्चाभन्दा बाहिर धकेलिने दिनको प्रतीक्षामै समय बिताए जस्तो देखिएको छ ।

त्यसैगरी, हुम्लामा सीमा समस्या अध्ययन गर्न समिति गठन गरेर चीनलाई चिढ्याएको भन्दै देउवा सरकारको आलोचना भएको छ । सीमा विवादका सन्दर्भमा कुनै नयाँ घटना सार्वजनिक नभएको पृष्ठभूमिमा भदौ १६ गते एकाएक कार्यदल गठन गरिएपछि अनाहकमा चीनलाई चिढ्याएको भन्दै आलोचना भयो । यसैगरी, नियुक्त भएको सय दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै सचिवालयसमेत गठन गर्न सक्नुभएको छैन । 

सय दिन उपलब्धिमूलक भएको सरकारको दाबी

यता प्रधानमन्त्री र मन्त्रीहरूले भने सय दिन उपलब्धिमूलक भएको दाबी गरेका छन् । देउवाको सचिवालयले सरकार गठनको सय दिन पुगेको अवसरमा २४ उपलब्धि सार्वजनिक गरेको छ । अवधिमा सरकारले गरेका मुख्य कामहरूलाई प्रधानमन्त्री देउवाको सचिवालयले बुँदागत रूपमा सार्वजनिक गरेको छ ।

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड-१९ को रोकथाम तथा नियन्त्रणलाई सफलताका रूपमा पेश गरेको छ । प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गर्नुभएको थियो । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।

देउवा सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको उहाँको सचिवालयले दाबी गरेको छ । यसैगरी सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रूपमा कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको उल्लेख गरिएको छ ।  

यसैगरी, चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व संकलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार लगायतका कार्यमा पनि सन्तोषजनक काम भएको भन्दै यसलाई सय दिने सफलताको सूचीमा राखिएको छ । 

यो सरकार आलोचना गर्न पनि लायक छैन : ओली



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गर्नुभएको छ । सकारको सय दिन पूरा भइरहँदा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाउनुभएको हो । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबीसमेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्वारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक होइन । मैले भनेँ अघि नै यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचरा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ । साँच्ची यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन् कि ? पर्दा पछाडिकाले चलाएका छन् कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताउनुभयो । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले कांग्रेस आगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि ऊसँग जनतामा जाने कुनै एजेण्डा नरहेको बताउनुभयो । 

ओलीले आफूहरूले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सक्ने बताउनुभयो । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका ओलीले आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने भने नरहेको स्पष्ट पार्नुभयो । ‘अहिले पनि यो सरकार ढाल्दिने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिने हो भने । यस्तैयस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौँ । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र,’ उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउनुभयो । उहाँले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरूले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताउनुभयो । 

Top