बागमती प्रदेशसभा बैठक ३ बजे बस्ने, एमाले पनि सहभागी हुने

  POSTED ON : कार्तिक ४, २०७८ (१:३४ PM)

बागमती प्रदेशसभा बैठक ३ बजे बस्ने, एमाले पनि सहभागी हुने

मकवानपुर । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको स्रोत बताउँछ । स्रोतका अनुसार एमालेले सरकारको आयु केही दिन लम्ब्याउन खोजिरहेका कारण आज बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु गर्ने तर मतदानका लागि भने केही दिनपछि अर्को बैठक राख्ने तयारी भइरहेको छ ।

Top