एमालेसँगको प्रतिस्पर्धाको लागि काँग्रेस सक्षम हुनुपर्छ : नेता पौडेल

बाबुराम श्रेष्ठ   POSTED ON : कार्तिक ५, २०७८ (३:४९ PM)

एमालेसँगको प्रतिस्पर्धाको लागि काँग्रेस सक्षम हुनुपर्छ : नेता पौडेल

धादिङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले पार्टी नफुटेकोले एमालेसँगको प्रतिस्पर्धाको लागि काँग्रेस सक्षम हुनुपर्ने बताउनु भएको छ । मंगलबार काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीको आमाको निधन पश्चात अधिकारीलाई समावेदना प्रकट गर्न धादिङ आईपुग्नु भएको बेला पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले एमाले पार्टी नफुटेकोले एमालेसँगको प्रतिस्पर्धाको लागि काँगे्रस तयार हुनुपर्ने बताउनु भयो ।

लोकतान्त्रिक प्रक्रियाको अवलम्बन काँग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने भन्दै नेता पौडेलले लोकतन्त्रमाथि कसैले आघात पु¥याउन खोजे त्यसको प्रतिकार गर्ने बताउनुभयो । पार्टीको अधिवेशन जसरी पनि मंसिरमा गर्ने भन्दै नेता पौडेलले क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताउनुभयो ।

काँग्रेसको पहिलो काम नै महाधिबेशन सम्पन्न गर्नु हो– महामन्त्री कोइराला 

यस्तै पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेका महामन्त्री सशांक कोइरालाले काँग्रेसको पहिलो काम नै महाधिबेशन सम्पन्न गर्नु रहेको बताउनु भएको छ । उहाँले महाधिवेशनको समयावधि थपे पार्टी कमजोर हुने भन्दै निर्धारित समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।  

महाधिवेशन गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ : नेता  सिंह

पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताउनु भएको छ । विधिसम्मत र संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको उहाँको भनाई छ ।

आमाको किरियापुत्री बसेका नेपाली काँग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई भेट्न बिहीबार धादिङ आउनुभएको समयमा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले  सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर भएर देशमा कम्युनिष्टहरु बढेको बताउनु भएको छ । पार्टीको नियम र विधान अनुसार चल्न नसकेको कारण र समयको माग बमोजिम पार्टीको नेतृत्व गर्नेहरुले पार्टीलाई परिचालन गर्न नसकेको कारणले अहिले कांग्रेस कमजोर अवस्थामा रहेको सिंहले बताउनुभयो । नेता सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने र क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्ने र पार्टीको अधिवेशन अगाडि बढाउन नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो ।

पार्टीलाई ठिक ठाउँमा ल्याउन सबैले विधि र पद्धतिको सही ढङ्गले पालना गर्नुपर्ने उहाँको भनाई थियो। अब जनताले चाहेको आर्थिक सम्पन्नताको अभियानमा पनि कांग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठिक नेताको आवश्यक रहेको सिंहले बताउनुभयो। राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आशा गरेर यस क्षेत्रमा लाग्न नहुने भन्दै नेता सिंहले अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगेपछि काम गर्न नसक्ने परिपाटीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो। सिंहले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आसन्न पार्टी महाधिवेशनमा आफू सभापतिमा प्रतिस्पर्धा गर्ने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो,‘महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके,’अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइदैन । ’प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लाका सभापतिहरुको समेत सहभागिता रहेको थियो ।


Top