१० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली अनिच्छुक देखिएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिने रावलको घोषणा

स्थायी कमिटी बैठकमा पाँच पृष्ठ लामो लिखित फरक मत प्रस्तुत

हिमालय टाइम्स   POSTED ON : कार्तिक ६, २०७८ (५:३१ AM)

१० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली अनिच्छुक देखिएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिने रावलको घोषणा

काठमाडौं । नेकपा एमालेमा १० बुँदे विवाद चर्किने संकेत देखिएको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी कमिटी बैठकले गरेका केही निर्णयप्रति फरक मत राख्नुभएको छ ।  उहाँले पार्टीको अन्तरपार्टी निर्देशन-१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राख्नुभएको हो । रावलले बैठकमा पाँच पृष्ठ लामो लिखित फरक मत राख्नुभएको छ । उहाँले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणासमेत गर्नुभएको छ ।  ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अन्तरपार्टी निर्देशन (अपानि-१२) जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उहाँले बैठकपछि भन्नुभयो, ‘त्यो कार्यान्वयन गर्दा कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो’ रावलले भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने गरी प्रस्तुत भएपछि स्थायी कमिटी बैठकमा कार्यदल संयोजकबाट राजीनामा दिएको हुँ । औपचारिक रूपमा भोलि अध्यक्षसँग राजीनामा पत्र बुझाउनेछु ।’

रावलले पेश गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि समर्थन जनाउनुभएको छ । यसैगरी, प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयमा आफ्नो विमति रहेको उहाँले बताउनुभयो । यसअघि पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी विवादमा समेत रावल असन्तुष्ट हुनुहुन्थ्यो ।

महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता, बादल संयोजक, सह-संयोजकमा सुरेन्द्र पाण्डे


नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । स्थायी कमिटीको शुक्रबार बसेको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक÷एकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो । समितिमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ र छविलाल विश्वकर्मालाई पनि थपिएको छ । समितिको सदस्यमा काशीनाथ अधिकारी, भानुभक्त ढकाल यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहनुभएको छ । एक सदस्य पछि थपिने ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, एमालेले १०औँ महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भएको छ । दुई दिन चलेर शुक्रबार सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।  महाधिवेशन प्रतिनिधिका मापदण्डबारे कात्तिक ११ गते बस्ने स्थायी कमिटी र १२ गते बस्ने केन्द्रीय कमिटीले निर्णय गर्ने भएको छ । एमालेले दुई नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  

एमाले नेता भीम रावलले भने सो निर्णयको विरोध गर्नुभएको छ । उहाँले प्रभु साहलाई खुसी पार्न पार्टीको अपानी–१२ विपरीत निर्णय भएको भन्दै बैठकपछि सार्वजनिक रूपमै असन्तुष्टि जनाउनुभएको थियो । 

बैठकले विरामी भई अस्पताल भर्ना हुनुभएका पार्टीका सचिव योगेश भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र हालै दिवंगत हुुनु भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको एमालेले जनाएको छ ।


Top